Logo

मध्यरातमा नेपाली बन्धक बनाउने भारतीय प्रहरीका डिएसपीसहित ७ पक्राउ



काठमाडौं १९ जेठ ।
बुधबार मध्यरातमा एक नेपालीलाई बन्धक बनाई लैजाँदै गरेको अवस्थामा भारतीय प्रहरीलाई पक्राउ गरिएको छ । दिपायल–सिलगढी नगरपालिका–८ लडागडाका लालबहादुर आउजीलाई घरबाटै बन्धक बनाएर लैजाने क्रममा भारतीय प्रहरीका डिएसपी नागराजको नेतृत्वमा आएको सातजनाको टोली पक्राउ परेको हो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय डोटीमा राखिएको छ । बन्धक बनाइएका आउजीलाई पनि प्रहरी कार्यालयमा छुट्टै हिरासतमा राखिएको छ । प्रहरीले घटनाबारे पत्रकारलाई कुनै सूचना दिएको छैन । जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक डिल्लीराज बिष्टले घटनाबारे जानकारी दिन नमिल्ने बताएका छन् ।

प्रहरीले घटनामा संलग्न गाडी त्रिपालले छोपेर राखेका छन् । पत्रकारहरुलाई फोटो खिच्न पनि दिइएको छैन ।

डोटीमै घर भएका दुई नेपालीहरुको सहयोगमा उनीहरु धनगढीस्थित पीएस टुर्स एण्ड ट्राभल्सबाट गाडी रिजर्भ गरी डोटी आएका थिए । पिएस टुर्स एण्ड ट्राभल्सका संचालक पदम सिंहले भने, ‘दुईजना नेपाली थिए, बाँकी ५ भारतीय थिए । उनीहरुले डोटीको शैलेश्वरी जाने भनेपछि गाडी मिलाइदिएको हुँ ।’

पक्राउ गरिएका आउजीका छिमेकीका अनुसार राति करिव २ बजे भारतमा मजदूरी गर्दै आएका लडागडाकै प्रसाद कार्कीलाई उतैबाट समातेर लालबहादुर आउजीको घर देखाउन लगाएका थिए । भारतीय प्रहरीले लालबहादुरलाई घरमा सुतीरहेको अवस्थामा पक्राउ गरेका हुन् । प्रसादले मध्यरातमा ढोका खोल्न भनेपछि लालबहादुरकी श्रीमतिले ढोका खोलेकी थिइन् । एक्कासी भारतीय प्रहरी घरभित्र पसेर कुटपीट गर्नुका साथ जबरजस्ती गाडीमा बन्धक बनाएर ल्याएका थिए ।’

घटना लगत्तै स्थानीयले लडागडा प्रहरी कार्यालयलाई जानकारी गराएका थिए । लडागडा प्रहरी कार्यालयले गाडी समात्न नसकेपछि जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिएका थिए । प्रहरी कार्यालयले कार्यालय बन्धक बनाइएका आउजीसहितलाई पक्राउ गरेको थियो ।

लालबहादुर आउजी चार महिना अघि भारतबाट चोरी गरेर नेपाल आएको स्रोतले बताएको छ । लालबहादुरका आफन्तका अनुसार उनलाई हिरासतमा राखिएको छ र कसैलाई भेट्न दिइएको छैन । लालबहादुरका आफन्तले अवैध रुपमा आएका भारतीय प्रहरीलाई नेपाल प्रहरीले प्रहरी प्रमुखको कक्षमा राखेको छ भने लालबहादुरलाई थुनामा राखेको आरोप लगाएका छन् ।

घटना बारे जिल्ला प्रशासन कार्यालय डोटी पनि बेखबर छ । जिल्ला सुरक्षा समितिका प्रमुख समेत रहेका प्रमुख जिल्ला अधिकारी एक कार्यक्रमका लागि कार्यालय बाहिर छन् । कार्यालयका प्रशासकीय अधिकृत केशव लामिछानेले आफूलाई यस बारेमा कुनै जानकारी नभएको बताए ।

नेपालको सीमाभित्र भारतीय आएर राति दुई बजे अपहरण गर्ने हिम्मत गर्नु सामान्य कुरा नभएको स्थानीय कानून व्यवसायीको बुझाइ छ । उनी भन्छन्, ‘यस घटनाले नेपालको सुरक्षा अवस्था प्रष्ट देखियो, नेपाल प्रहरीको सक्षमतामाथि पनि प्रश्न उठेको छ ।’

यसअघि २०७३ साल बैशाख १२ गते डोटी र अछामको सिमानामा पर्ने चौखुट्टे क्षेत्रबाट पाँच भारतीय नागरिकहरु अवैध हतियारसहित पक्राउ परेका थिए । समातिएकाहरुलाई नेपाल प्रहरीका उच्च पदस्थ कर्मचारीहरुले भारतसमक्ष बुझाएका थिए ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot