Logo

मेलम्ची आयोजना समयमै सक्न आग्रह



काठमाडौँ, २३ जेठ । खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले मेलम्ची आयोजनालाई समयमा सक्नका लागि कुनै पनि पक्षलाई ढिलासुस्ती नगर्न आग्रह गर्नुभएको छ ।

मन्त्रालयले आज मन्त्री तथा राज्यमन्त्रीको बिदाइका लागि आयोजना गरेको कार्यक्रममा काठमाडौँ उपत्यकामा छिटो खानेपानी ल्याउन तोकिएकै समयमा मेलम्ची आयोजना सक्न सम्बन्धित कर्मचारीलाई आग्रह गर्नुभयो ।

मन्त्री शाहीले खानेपानीका लागि सरकारले अहिले रु २२ अर्ब छुट्याएको जानकारी दिँदै सबै नेपालीलाई तत्काल खानेपानी पु¥याउने हो भने रु एक खर्ब लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले जनताको आधारभूत आवश्यकता पूरा गर्ने खानेपानी मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयसँग गाभे राम्रो हुने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा राज्यमन्त्री दीपक खड्काले प्रशासनिक क्षमता, कार्यदक्षता र बजेटको उचित बाँडफाँटका कारण मुलुकको खानेपानी क्षेत्रले फड्को मारेकाले यसलाई निरन्तरता दिन कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो कार्यकालको प्रमुख उपलब्धि भनेको नै मेलम्ची आयोजनालाई अगाडि बढाउनु हो ।”

उहाँले आफू नियुक्त भएपछि विकास निर्माणका कामलाई उच्च प्राथमिकता, अन्तरमन्त्रालयसँग छलफल, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा देखिएका समस्या समाधान, एक घर एक धारा कार्यक्रम, सुख्खायाममा खानेपानी आपूर्ति व्यवस्था गर्नेलगायत कामलाई अगाडि बढाएको बताउनुभयो ।

मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले अहिले अगाडि बढाएको कामलाई मन्त्रालयले निरन्तरता दिने बताउनुभयो । खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले सन् २०१७ भित्र नेपाललाई खुला दिसामुक्त क्षेत्र बनाउने उद्देश्य राखिएकामा हालसम्म ९१ प्रतिशत जनताका घरमा शौचालय पुगेको र तोकिएकै समयमा सबै जनताका घरमा शौचालय पु¥याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको स्पष्ट पार्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्