Logo

शिक्षासेवी पौडेलको निधन, कालीगण्डकीमा अन्त्येष्टी



बागलुङ, २५ जेठ । बागलुङका शिक्षासेवी एवम् कर्मठ समाजसेवी हेमराज शर्मा पौडेलको निधन भएको छ । ८६ वर्षीय पौडेलको उपचारका क्रममा काठमाडौँस्थित शिक्षण अस्पतालमा मंगलबार साँझ निधन भएको हो ।

पौडेलको पार्थिव शरीरलाई बागलुङ ल्याई बुधबार कालीगण्डकी तटमा अन्येष्टि गरिएको छ । स्व पौडेललाई व्यवस्थापिका–संसद्का सदस्य प्रकाश शर्मा पौडेल, बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेललगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति र सयौँ सर्वसाधारणले अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।

विसं १९८९ मा हालको बागलुङ नगरपालिका–१२ पैंयुपाटामा जन्मनुभएका पौडेल समाज सुधारकको रुपमा परिचित हुनुहुन्थ्यो । बागलुङको शैक्षिक, सामाजिक विकासमा अमूल्य योगदान पु¥याउनुभएका पौडेलको निधनले सबैलाई स्तब्ध तुल्याएको छ ।

पौडेलले विसं २००७ देखिनै बलेवालगायत बागलुङका विभिन्न क्षेत्रमा विद्यालय स्थापनाको अभियान चलाउनुभएको थियो । उहाँले स्थापना गरेका विद्यालय अहिले क्याम्पसमा स्तरोन्नति भएका छन् ।

शिक्षाको जागरण फैलाउन पौडेलको अतुलनीय योगदान रहेको पैंयुपाटामै जन्मनुभएका सांसद प्रकाश शर्मा पौडेलले बताउनुभयो । “बागलुङको शैक्षिक, सामाजिक क्षेत्रको उहाँ अगुवा हुनुहुन्थ्यो” पौडेलले भन्नुभयो “उहाँको निधनले अपुरणीय क्षति पुगेको छ ।” पैंयुपाटाको त्रिभुवन मावि र बलेवा पैंयुपाटा बहुमुखी क्याम्पस पौडेलकै प्रयासमा स्थापना भएको उहाँको भनाइ छ ।

तत्कालीन समयमा स्वास्थ्यचौकी, मठ, मन्दिर, पाटी, बाटोघाटो निर्माणमा पनि पौडेलको ठूलो योगदान रहेको उहाँका समकक्षीहरु बताउँछन् ।

धार्मिक प्रवृत्तिका पौडेलले आफ्नो जीवनकालमा दर्जनौँ सामाजिक, शैक्षिक, धार्मिक सङ्घसंस्थामा बसेर नेतृत्व प्रदान गर्नुभएको थियो । २००७ सालको परिवर्तनपछि पौडेलले गाउँमा ‘हलो क्रान्ति’ चलाउनुभएको थियो । ब्राह्मण परिवारका पौडेलले हलो जोत्दा तत्कालीन समयका मुखिया, ठालुले उहाँलाई सामाजिक बहिष्कारसमेत गरेका थिए ।

जहिलेपनि परिवर्तनका पक्षमा उभिनुहुने पौडेलले राजनीतिमा पनि सक्रिय रहनुभएको थियो । २०३० सालमा धौलागिरि अञ्चल पञ्चायतका सभापति बन्नुभएका पौडेल २०३६ सालमा नेपाली काँग्रेसमा आबद्ध भई राजनीतिमा सक्रिय हुनुभएको थियो ।

पौडेलले तत्कालीन सरकारबाट गोरखा दक्षिण बाहुलगायतका पदक तथा सम्मान प्राप्त गर्नुभएको थियो । स्व पौडेललाई २०७० सालमा सुगङ्गा स्मृति कोषबाट सुगङ्गा सम्मान समेत प्रदान गरिएको थियो । उहाँको व्यक्तित्वलाई अमर राख्न बागलुङमा हेमराज शर्मा प्रतिष्ठान पनि स्थापना गरिएको छ । शर्माका धर्मपत्नी र दुई छोरा हुनुहुन्छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot