Logo

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने, नेपालका प्रधानमन्त्री देउवा भारत जाने



भ्रमणको तयारी अन्तिम चरणमा पुगेको दुवै तर्फको दाबी
काठमाडौं, २९ जेष्ठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणको लागि आउने र नेपालका नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा पनि भारत जाने पक्कापक्की भएको छ ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा भारतीय तथा नेपाली सरकारी अधिकारीहरुले दुवै प्रधानमन्त्रीको भ्रमण छिट्टै गर्नेगरि तयारी थालिएको जनाएका छन् । भारतीय प्रधानमन्त्री मोदी छिट्टै नेपाल आउनेबारे भारतीय सरकारी अधिकारीहरुले यकिन गरिसकेका छन् । मोदीको भ्रमणको लागि नेपाल र भारत दुवैतर्फबाट आन्तरिक गृहकार्य समेत भैरहेको भारतीय उच्च अधिकारीहरुले दाबी गरेका छन् ।

दुवै पक्षको सहमतिमा मोदीको नेपाल भ्रमणको मिति तय हुने पनि स्रोतले जनाएको छ । भारतीय प्रधानमन्त्री मोदी भारतीय लगानीमा निर्माण हुने अरुण तेस्रो जलविद्युत परियोजनाको उद्धघाट्नको लागि नेपाल आउन लागेका हुन् । उक्त समयमा मोदीले जनकपुर, लुम्बिनी र मुक्तिनाथको समेत भ्रमण गर्ने भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले जनाएका थिए ।
राजदुत उपाध्यायको उक्त भनाईलाई नेपाल–भारत मामिलाका जानकार एवम् प्रवुद्ध समूहका भारततर्फका संयोजक भगतसिंह कोशियारीले समेत पुष्टि गरिसकेका छन् । धमलासँगको कुराकानीमा उनले भनेका छन्,‘हो, हाम्रो प्रधानमन्त्री मोदीजी छिट्टै नेपाल भ्रमणमा जाँदैहुनुहुन्छ।’

यता राजदुत उपाध्यायका अनुसार मोदीको नेपाल भ्रमणको तयारी लागि दुवै पक्षबाट अहिले व्यापक गृहकार्य भैरहेको छ । ‘मोदीजी नेपाल–भारत सम्बन्ध अत्यन्तै समुधुर र मजबुद बनाउने पक्षमा हुनुहुन्छ’–उनले भने,‘उहाँले नेपाललाई विशेष महत्व दिनुभएको छ, नेपाल–भारत द्धिपक्षीय आर्थिक सम्बन्ध थप मजबुद बनोस् भन्ने उहाँको चाहना छ।’

यसअघि भारतीय प्रधानमन्त्री मोदीले दुई पटक नेपाल भ्रमण गरिसकेका छन् । पहिलो पटक उनले सन् २०१४ को अगष्टमा नेपाल भ्रमण गरेका थिए। दोस्रो पटक मोदी १८ औं सार्क सम्मेलनमा भाग लिनका् लागि नेपाल आएका थिए ।

संखुवासभामा बन्न लागेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण केही महिनाभित्रै सुरु हुने भएको छ। आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी एसजेभिएन (सतलज) ले आगामी सेप्टेम्बरबाट निर्माणको काम सुरु गर्नेछ । राष्ट्रिय गौरवको आयोजनासमेत रहेको अरूण तेस्रोको शिलन्यास समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने गरी तयारी भइरहेको सतलजले जनाएको छ।

मोदी उक्त परियोजनाको उद्धघाट्न गर्न आउँदा महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्नुको साथै धार्मिक तथा तीथ यात्रामा समेत सरिक हुने भारतीय अधिकारीहरुले जनाएका छन् ।
यता नेपालका प्रधानमन्त्री देउवा पनि मोदीको भ्रमण सकिएलगत्तै भारत भ्रमणमा जाने भएका छन् । सोही अनुसार अहिले दुवै सरकारले भ्रमणको तयारीलाई तिव्रता दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्