Logo

मधेश झर्नुअघि राजपा नेताद्धारा देउवासँग भेटवार्ता



काठमाडौं, ३ असार । राष्ट्रिय जनता पार्टीले आन्दोलनका कार्यक्रमहरु यथावत राख्ने र निर्वाचनमा भाग नलिने निर्णय गरेको भोलिपल्टै राजपा नेताद्धारा आज प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

देउवा निवास बुढानिलकण्ठमा पुगेर राजपाका नेताहरुले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका छन् । राजपाका नेताहरु आजै साँझ तराई÷मधेश झर्ने बुझिएको छ । तर, मधेशमा जानुअघि उनीहरुले प्रधानमन्त्री देउवासँग सुटुक्कै भेटवार्ता गरेको स्रोतले दाबी गरेको छ । राजपा नेताहरुले संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धि गर्न पहल गर्नको लागि प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन् ।

यता देउवाले भने चुनावपछिमात्रै संविधान संशोधन गर्ने वचन दोहोर्याएका छन् । स्रोतका अनुसार देउवाले प्रदेश नम्बर दुईको निर्वाचन सम्पन्न हुनु अघि नै संविधान संशोधन प्रस्ताव पारित गराउने आश्वासन दिएका छन् ।

बैठकमा राजपा नेपालका तफैबाट राजकिशोर यादव, महन्थ ठाकुर, महेन्द्र राय यादव र अलिन झाको उपस्थिति रहेको छ । स्रोतका अनुसार राजपाले पनि भित्रि रुपमा भने निर्वाचनको दिनमा कुनैपनि अवरोध नगर्ने बुझिएको छ। राजपा नेपाल निकट उच्च स्रोतका अनुसार फेस सेभिङ्को लागि मात्रै आजको निर्णय भएको हो । हुन त २ नम्बर प्रदेशको चुनाव सार्ने सरकारको निर्णयलाई राजपाले अमान्य घोषणा गरेको छ ।

शुक्रबार साँझ पूरानो तमलोपाको कार्यालय विजुलीबजारमा बसेको राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको बैठकले चुनाव बिथोल्ने गरी घोषणा गरिएका संघर्षका कार्यक्रम जारी राख्ने निर्णय गरेको थियो ।

राजपा नेपालका शीर्ष नेता राजकिशोर यादवले,‘सरकारको यस्तो निर्णय हामीलाई मान्य छैन, हामी हाम्रा मागहरु पूरा नभएसम्म चुनावमा भाग लिँदैनौं र आन्दोलन जारी राख्छौं ।’ यसअघि घोषणा गरिएका आन्दोलका कार्यक्रम फिर्ता नहुने यादवले बताए । साथै विगतमा मधेसकेन्द्रित दलहरुले उठाउँदै आएका मागहरुमा राजपाको अडान यथावत रहेको उनले बताए ।
राजपाले असार २ गते मनोनयन दर्तालाई अवरोध र्पुयाउने गरी लाठी जुलुस र बन्दको आयोजना गरेकोमा उक्त कार्यक्रम ४ गते गर्ने गरी सारेको छ ।



प्रतिक्रिया दिनुहोस्