Logo

तेस्रो अन्र्तराष्ट्रिय योग दिवसको तयारी पुरा



काठमाडौं, ५ असार । पतंजली योगपीठ नेपाल र नेपाल सरकारको संयुक्त आयोजनामा यही आउने असार ७ गते अर्थात जुन २१ का दिन तेस्रो अन्तर्राष्ट्रिय योग दिवस मनाउने भएका छन् ।

उक्त योग अभ्यास कार्यक्रम विहान ५ बजेदेखि ७ बजसम्म उपप्रधान एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षता तथा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा आयोजना हुने आयोजकले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

योग गरौं, निरोग बनौं भन्ने मुल नाराका साथ यस वर्षपनि अन्र्तराष्ट्रिय दिवस मनाउन गैरहेको आयोजकले जनाएको छ । आयोजका अनुसार गतवर्ष झैं यस वर्षपनि नेपाल सरकार शिक्षा मन्त्रालयको संयोजन र पतंजली योगपीठ नेपालको सहकार्यमा देशका पचहत्तरै जिल्लामा योग अभ्यास कार्यक्रम सञ्चालन हुनेछ ।

मुल समारोह समितिका सदस्यसचिव तथा शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्सालले उक्त दिन देशभरका विद्यालयमा योग अभ्यासबारे बहस र छलफलका कार्यक्रमसहित योगाभ्यास समेत गरिने बताए । उनले भने,‘योगका विषयमा आम जनमानसलाई सुसूचित गराई नियमित योग गर्ने परम्परा बसाल्न सरकारीस्तरबाट पहल सुरु भएको छ, ७५ जिल्लामा योगाभ्यास कार्यक्रम सञ्चालन हुनेछन् ।”

संयुक्त राष्ट्र सङ्घले गत वर्षदेखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले योग दिवसलाई नेपालले महत्व दिएकोमा खुशी व्यक्त गरे । “योगले शारीरिक मात्र नभई मानसिक रुपमा पनि स्वस्थ रहन सहयोग गर्छ, योग गर्दा हाम्रो जीवनशैलीमा सन्तुलन ल्याउन मद्धत पुग्छ”–उनले भने ।

शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले पूर्वीय सभ्यता र सनातन धर्मलाई पश्चिमा देशमा लैजान यो दिवस महत्वपूर्ण अवसर भएको बताउँदै योगसँगै अब सरकारले आयुर्वेद शिक्षालाई अगाडि बढाउने योजना बनाएको छ भन्नुभयो ।

मानिसको आहार विहार, जीवनशैलीमा आएको परिवर्तनले विश्वमा शारीरिक, मानसिक र सामाजिक जीवन तनावपूर्ण बन्दै गएको र त्यसबाट मुक्त हुन योगाभ्यास गर्नेको सङ्ख्या बढ्दै गएको छ ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot