Logo

संविधान संशोधन अब केन्द्रिय संसदको निर्वाचनपछि !



काठमाडौं, ७ असार । अन्ततः नेपालमा संविधान संशोधनको बहस जति नै लम्बिएपनि यो रुपान्तरित संसदले संविधान संशोधन प्रस्ताव पारित नगर्ने भएको छ । पछिल्लो समय नेपाल चुनावी माहोलमा जुटेको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भैसकेको छ । र, दोस्रो चरणको निर्वाचन यही असार १४ गते हुँदैछ ।

निर्वाचनमा सहभागी गराउनको लागि राजपाको माँग पूरा गराउन सरकारले लाख कोशिस समेत गरेको थियो । तर, राजपाले आफ्ना माँगहरु पूरा नभएसम्म कुनैपनि निर्वाचनमा सहभागी नजनाउने भन्दै कडा आन्दोलनहरु सार्वजनिक गरेको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलेपनि अब केन्द्रिय ससंदको चुनावपछिमात्रै संविधान संशोधन गर्नेगरि नयाँ रणनीति अपनाएका छन् ।

उता भारतपनि पछिल्लो समय नेपालको राजनीतिबारे सफल भएको छ । भारतपनि नेपालमा हुन गैरहेको चुनावको पक्षमा दृढ भएर उभिएको छ । यसर्थ, भारतले नेपालको राजनीतिबारे नयाँ कोर्श लिने बुझिएको छ ।

अहिलेको भारतको कोर्श अनुसार संविधान संशोधन भएपछिमात्रै चुनाव गर्नुपर्ने रहेको थियो । तर पछिल्लो समय भारतलेपनि नेपालमा संविधान संशोधनको संभावना अब ०७४ माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन सम्पन्न गरेपछिमात्रै गर्नुपर्ने भित्री चाहना राखेको छ । भारत निकट उच्च स्रोतका अनुसार संविधान संशोधनको लागि अहिले पर्याप्त दुई तिहाइको संख्या नभएकोले चुनाव सकिएलगत्तै संविधान संशोधन गर्नुपर्नेगरि आफ्ना सुझावहरु अघि सारेका छन् ।

एक उच्च स्रोतले भन्यो,‘भारतले पनि अहिले नेपालप्रतिको आफ्नो कोर्स परिवर्तन गरेको छ, अहिले चुनाव अघि संविधान संशोधनको कुनैपनि संभावना नरहेकोेले अब प्रदेश र केन्द्रिय संसदको चुनावपछिमात्रै संविधान संशोधन हुनसक्छ, अहिलेकै अवस्थामा गाह«ो छ।’

यता सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रपनि भित्री रुपमा त्यही तयारीमा जुटेका छन् । उनीहरुले आगामी माघ ७ गतेभित्रै सबै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक

बाध्यतालाई ध्यानमा राखेर चुनाव सम्पन्न भएपछिमात्रै संविधान संशोधन गर्नतिर लाग्ने अहिले संशोधनको खेलमा नअल्झने रणनीति लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच सबै तहको निर्वाचन सम्पन्न भएपछि नयाँ म्याण्डेट अनुसार संविधान संशोधन गर्नतिर लाग्नुपर्ने, तर अहिले संशोधनको फण्डामा नअल्झने भित्री सहमति भएको छ।

यता राजपा नेपाललेपनि सरकार र छिमेकी मित्रराष्ट्र भारतको यस्तो भित्री चाहना थाहा पाएपछि अहिलेलाई संशोधनको मुद्दा थाँती राखेर भएपनि अघि बढ्ने संकेत गरेको छ । स्रोतका अनुसार बाहिरी आवरणमा संविधान संशोधनको जति धेरै चर्को आवाजमा कुरा गरेपनि अब संशोधन चुनाव अघि हुने संभावना नै राजपा शीर्ष नेताहरु स्वयमले देखेका छैनन् । स्रोतका अनुसार राजपा नेपालले पनि असोज २ को निर्वाचनमा सशक्त रुपमा भाग लिने रणनीति लिएको र सोही बमोजिम अहिले भित्री तयारी समेत थालिसकेको छ ।

राजपाले अहिले जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप्ने, राजनीतिक मुद्दाहरु फिर्ता लिने, बन्दी रिहाई गर्ने, आन्दोलनमा मारिएकाहरुलाई सहिद घोषणा गर्ने लगायतका केही महत्वपूर्ण माँगहरु सरकारले पुरा गरिदिओस् भन्ने चाहेको छ । राजपा निकट उच्च स्रोतको दाबी छ,‘यी माँगहरु पूरा भए भनेपनि राजपा चुनावमा जान्छ, चुनावपछि संविधान संशोधन पास गर्नको लागि उनीहरुले शक्ति आर्जन गर्नेतिर लाग्छन् ।’



प्रतिक्रिया दिनुहोस्