Logo

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्न सकिँदैन् : प्रमुख निर्वाचन आयुक्त डा. यादव



काठमाडौं, १७ असार । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले कानूनी, संवैधानिक र व्यवस्थापकीय दृष्टिकोणले पनि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्न नसकिने स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले मतदाता नामावलीको दृष्टिकोणले, व्यवस्थापकीय दृष्टिकोणले र संवैधानिक दृष्टिकोणलेपनि एकै चरणमा दुई वटै निर्वाचन कुनै पनि हालतमा गर्न नसकिने बताएका हुन् । उनले भने,‘एकै चरणमा दुई वटा निर्वाचन गर्न सकिँदैन, बरु ग्याप थोरै समयको राख्न सकिन्छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले संविधानमा उल्लेख भए अनुसार नै आफूहरुले निर्वाचन गर्ने बताए । उनले भने,‘संविधानमा जे उल्लेख भएको छ, हामी त्यही अनुसार चल्छौं, राष्ट्रिय सभामा महिलाहरुको प्रतिनिधित्वको कुरा पनि छ, त्यसैले पहिले प्रदेश सभाको हुनुपर्छ, त्यसपछिमात्रै राष्ट्रिय सभाको हुन्छ, अनिमात्रै केन्द्रिय संसदको चुनाव हुन्छ।’ उनले प्रान्तीय र आम निर्वाचन एकै चरणमा कुनैपनि हालतमा गर्न नसकिने स्प्ष्ट पारे । उनले भने,‘त्यसैले तिनवटा निर्वाचन जनताको प्रत्यक्ष मतबाट हुन्छ, राष्ट्रियसभाको इलेक्ट्रोल कलेजबाट हुन्छ, यी निर्वाचनका लागि समय छोटो हुँदै गएको छ।’ उनले संविधानले नै महिलाहरुको ३३ प्रतिशत प्रतिनिधित्वको सुनिश्चितता गरेकोले चुनाव एकै चरणमा हुन नसक्ने बताए ।

यादवले यही आउने माघ ७ गतेभित्रै सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता भएकोले बाँकी निर्वाचनको लागि आयोगले हिजोमात्रै सरकारलाई प्रारम्भिक कार्ययोजना प्रस्तुत गरेको जानकारी दिए । उनले भने,‘असारभित्र हामीले कानून माँग गरेका छौं, १६५ प्रतिनिधि सभाको लागि प्रत्येक सभाको लागि निर्वाचन क्षेत्र निर्धारण साउन १५ गतेभित्र प्राप्त गर्नुपर्नेछ।’

त्यस्तै उनले मतपत्र डिजाईन गरेर छाप्नुपर्ने भएकोले राजनीतिक दल दर्ता पनि चाँडै गर्नुपर्ने कुरा महत्वपूर्ण भएको स्पष्ट पारे । त्यस्तै उनले मतदाता नामावलीसम्बन्धी ऐनमा समेत परिमार्जनको आवश्यक रहेको बताए । यादवले थपे,‘मतदाता नामावली अद्यावधि गर्नुपर्नेछ।’

छोटो समयमा ज्यादै महत्वपूर्ण कामहरु गर्नुपर्ने भएकोले निर्वाचनसम्बन्धी आधारभुत कानून, निर्वाचन क्षेत्र निर्धारण र मिति समयमै चाहिएको समेत उनले बताए । यादवले असोजको तेस्रो साता प्रदेशको चुनाव, कार्तिकको १५ गतेभित्र राष्ट्रिय सभाको र मंसिरको पहिलो साता प्रतिनिधि सभाको चुनाव गर्नुपर्ने मिति अघि सारे । यो वर्ष चुनावै चुनाव परेकोले दशैं, तिहार, छठलाई निर्वाचन पर्वको रुपमा मनाउन समेत आग्रह गरे ।

उनले प्रान्तिय र राष्ट्रिय सभाको निर्वाचनमा ईलोक्टा«ेनिक भोटिङ् मेशिन प्रयोग गर्नेबारे पनि आयोग सकारात्मक रहेको बताउँदैै यसको लागि सर्टिफाईड मेशिन र मेशिन प्रोकुरमेन्टको संभावनाका बारेमा पनि पर्याप्त छलफल गर्नुपर्ने भएकोले आयोगले यसबारेमा विशेष छलफल गरेर निर्णय गर्ने बताए ।

यादवले हालै सम्पन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतपरिणाम धमाधम आईरहेको समेत जानकारी दिए । उनले भने,‘यो निर्वाचन अत्यन्तै उत्साहजनक रुपमा सम्पन्न भएको छ, यसलाई हामीले मोेडेल ईलेक्सनको रुपमा लिएका छौं, अन्य निर्वाचन यो भन्दापनि अरु धेरै राम्रो हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौं।’ दोस्रो चरणको निर्वाचनमा आम मतदाताहरुले छाता ओढेर भएपनि मतदान गरेको उल्लेख गर्दै भने,‘निर्वाचन अत्यन्तै सफल रुपमा सम्पन्न भएको छ।’

यादवले अहिलेसम्म ३० प्रतिशत मतगणना सम्पन्न भएको समेत जानकारी दिए । उनका अनुसार आयोगले हालै मात्रैपनि निर्वाचन अधिकृतलाई विशेष निर्देशिका पठाईसकेको समेत बताए । यादवले अहिले मतगणना छिटो भैरहेको विश्वास दिलाए । ‘कतै ढिलाई भैरहेको छ भनेपनि आयोगले विशेष ध्यान दिएको छ, उनले थपे,‘तर समग्रमा मतगणना छिटो र छरितो रुपमा भैरहेको छ।’ उनले आजको तीन चार दिनभित्रै सबै मतपरिणाम सार्वजनिक हुने समेत विश्वास दिलाए ।

त्यस्तै असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचनको लािग प्रदेश नम्बर २ का १२७ वटै तहमा निर्वाचनसम्बन्धी कार्यक्रमहरु पठाईसकेको जानकारी दिए । उनले भने,‘मतदाताहरुको टर्नवाउट हामीले गरिरहेका छौं, अहिले ७३.५ प्रतिशत छ।’ यादवले २ नम्बर प्रदेशकोलागि आयोगले मतदाता शिक्षा कार्यक्रम समेत पूनः पठाउने जानकारी दिए । त्यस्तै उनले प्रदेश नम्बर २ मा पनि बैशाख १४ गते नै निर्वाचन सामाग्री पठाएकोले ती सामाग्रीहरुको पछिल्लो अवस्था कस्तो छ भनेर आयोगले पूनः परिक्षण समेत गरिने बताए ।



प्रतिक्रिया दिनुहोस्