Logo

सञ्चारमाध्यमलाई सामाजिक उत्तरदायी रुपमा विकास गर्दै जानुपर्ने : खनाल



काठमाडौँ, २५ असार । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले दक्षिण कोरिया र नेपालमा प्रजातान्त्रिक आन्दोलनमा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।

एसियाली राजनीतिक पार्टीको सम्मेलनको स्थायी कमिटीको २८ औँं बैठकको सिलसिलामा दक्षिण कोरियामा पुग्नुभएका खनालले ‘आइक्याप मिडिया फोरमको तेस्रो बैठक’ लाई आज सम्बोधन गर्दै सञ्चारमाध्यमले राजनीतिक र सामाजिक क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेकाले सञ्चारमाध्यमलाई अझ सामाजिक उत्तरदायी रुपमा विकास गर्दै जानुपर्ने धारणा राख्नुभएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी गराउनुभयो ।

खनालले प्रविधिका कारण अहिलेको सञ्चारमाध्यमलाई आतङ्कवादीले दुरुपयोग गर्न सक्ने बताउँदै सञ्चारमाध्यमले समाज र राजनीतिको समस्या मात्र उजागर नभई समाधानको उपाय पनि दिनुपर्ने बताउनुभयो । ‘‘मिसन पत्रकारिताले केवल मिसन मात्र हेर्दछ, त्यसले समाचार तोडमोड गर्दछ’’, उहाँले भन्नुभयो, ‘‘तर साँचो अर्थमा मिसन पत्रकारिताले जनताको आवाज नबोल्न सक्दछ । त्यसैले मिसनभन्दा व्यावसायिक पत्रकारिता गर्नुपर्दछ ।’’

उहाँले सञ्चारमाध्यमले जनताका शिक्षा, रोजगार, पूर्वाधार विकास, असल शासन, मानव तथा सामाजिक विकासका विषयलाई उजागर गर्नुपर्ने आँैल्याउनुभयो ।

उक्त सत्रमा आइक्याप स्ट्यान्डिङ कमिटी सदस्य तथा पाकिस्तान मुस्लिम लिग (क्यु)का महासचिव मुसाहिद हुसेन, भारतीय काँग्रेसका नेता अनिल शास्त्री, भारतीय जनता पार्टीका नेता विजय जोलीलगायतले आफ्ना धारणा राख्नुभएको थियो ।
पूर्वप्रधानमन्त्री खनाल नेपाली समुदायले दक्षिण कोरियाको सोलमा आयोजना गरेका विभिन्न कार्यक्रममा पनि सहभागी भई आगामी बुधबार नेपाल फर्किनु हुने बताइएको छ । रासस

 



प्रतिक्रिया दिनुहोस्