Logo

शेरबहादुरलेजस्तो झुटो तपाईपनि नबोल्नु ऋषिजी : उपेन्द्र यादव



निर्वाचन क्षेत्र निर्धारण आयोग बनाउन नसक्ने वा समय अभाव भन्दै २४० वटा निर्वाचन क्षेत्र कायम राख्ने चर्चा चलिरहँदा विभिन्न दलहरु एकमत हुन सकेका छैनन् । छोटो समयमा धेरै चुनाव गराउनुपर्ने चुनौति रहेको शेरबहादुर देउवा नेतृत्वको सरकारले उल्लेखनीय काम गर्न नसकेको आरोप लागिरहेको छ । मन्त्रीमण्डल विस्तारमा कुन–कुन दल सहभागि होलान भन्नेमा पनि सबैको चासो छ । यिनै विषयमा केन्द्रित रहेर संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग ऋषि धमलाले कुराकानी गर्नुभएको छ । उक्त संवादको प्रमुख अंश यहाँ प्रस्तुत गरिएको छ ।

 

क्षेत्र निर्धारणका सम्बन्धमा यहाँको पार्टीको धारणा के हो ?
यो मुलुक हेर्नमा सानो तर षडयन्त्र र जालझेलमा संसारकै ठूलो हो । आफैले संविधान बनाउँदा १६५ क्षेत्र बनाइएको थियो । त्यही संविधान कार्यान्वयन गराउने प्रतिवद्धता पनि थियो । अहिले आफैले त्यसलाई उल्ट्याएर पुराना संरचनामा लैजाने षडयन्त्र भइरहेको छ । क्षेत्र निर्धारण भित्रको रहस्य के हो भने २४० क्षेत्र बनाउँदा आयोग नचाहिने, प्रदेशको निर्वाचन क्षेत्र निर्धारण नहुने, संसदको नहुने र समानुपातिकलाई समाप्त पार्ने खेल भइरहेको छ । प्रदेशको चुनाव नगराई संसदको गरेर प्रदेशलाई धरापमा पार्नेसम्मको षडयन्त्र भइरहेको छ । यो भनेको एकल जातिय नश्लवादी चिन्तनको राज्यसत्ता निर्माण गरेर जबरजस्ती शाषन गर्ने जालझेल भइरहेको छ । यो सबै षडयन्त्र नेपाली कांग्रेस र नेकपा एमालले सुरु गरेको हो ।

१६५ वटा निर्वाचन क्षेत्र बनाउनका लागि आयोग बनाउनुपर्छ । अहिलेसम्म आयोग बनेकै छैन । अब कसरी चुनाव हुन्छ ?
आयोग आफैँ बन्छ कि बनाउनुपर्छ ? त्यो बनाउनलाई भारी बोक्ने त हैन । सरकारले क्षेत्र निर्धारण आयोग समयमा नै बनाउनुपथ्र्यो । अब तुरुन्त निर्वाचन क्षेत्र निर्धारण आयोग बनाउनुपर्छ । प्रदेश र संसदको क्षेत्र निर्धारण गरेर चुनाव गर्नुपर्छ ।

अब सरकारले केके कामलाई प्राथमिकता दिनुपर्छ ?
सरकारले सबैभन्दा पहिला संविधान संशोधन गर्नुपर्छ । निर्वाचन क्षेत्र निर्धारण आयोग पनि तत्काल बनाउनुपर्छ । त्यसपछि प्रदेशको चुनाव सकेर संसदको गर्नुपर्छ । संघियताको संरचनालाई पनि सच्याउनुपर्छ । यति गर्न नसक्ने हो भने संघियता धरापमा पर्छ । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बहुदल धरापमा परेको थियो । अहिले फेरी नयाँ षडयन्त्र सुरु भएको छ । यो जनतालाई कदापी मान्य हुनेछैन ।

संसदमा दुई तिहाइ बहुमत आवश्यक पर्ने संविधान संशोधन सरकारले कसरी गर्न सक्छ ?
भ्रष्टाचार र कमिसनतन्त्रमा चलेका नेताहरुले केही काम नै गर्न सक्दैनन् । चिर्वाचन गराउन पनि गाह्रो, संविधान संशोधन गर्नै नसक्ने, क्षेत्र निर्धारण आयोग बनाउन समय पुग्दैन । अनि यो सरकारले काम चाँही के गर्ने त ? काम गरेर देखाउन सक्नुप¥यो नि । असम्भव केही पनि छैन । यो संविधानलाई संशोधन गरेर गल्ति र विकृतिलाई फाल्नुपर्छ भन्ने सोच र नीति नै नभएर समस्या देखिएको हो ।

सत्तारुढ दलसहित एमालेले समेत संविधान संशोधनलाई थाती राखौँ भनेको छ । यसलाई कसरी लिनुहुन्छ ?
यो त राष्ट्र र जनतासँग गरिएको फट्याई हो । संविधानका संशोधनका लागि आफैँले सहमति गरेर अहिले पछाडि हट्न मिल्छ ? ९० प्रतिशत जनताले स्विकार्ने संविधान बनायौँ भनेर जँुगामा ताउ लागाउने अहिले बहुमत पुगेन भन्न मिल्छ । यो सब गैर राजनीतिक नाटक हो ।

स्थानीय तहको चुनावमा सहभागि हुनुभयो । नयाँ शक्तिसँग सहकार्य पनि गर्नुभयो । तर फलिफाप त भएन है ?
देश र जनताको लागि फलिफाप भएको छ । जनताले जनप्रतिनिधि पाएका छन् । गणतन्त्र र लोकतन्त्र संस्थागत गराउनका लागि चुनावले सहयोग गरेको छ । तर प्रतिगमनकारी र यथास्थितीवादीले सत्ता हातमा लिँदा आशंका पैदा भएको छ ।

प्रदेश नम्बर २ मा स्थानीय तहको चुनाव हुन सक्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?
चुनाव त वैशाख ३१ वा जेठ मा पनि हुन सक्थ्यो । तर लोकतन्त्रलाई धरापमा पार्ने षडयन्त्रका लागि प्रपञ्च रचेर चुनाव नगराइएको हो । हामीले भने अनुसार संविधान संशोधन गरेर अगाडि बढेको भए सबै प्रदेशमा एकैपटक चुनाव सम्पन्न हुन्थ्यो । तर सरकार उल्टो दिशातिर हिँडेको छ ।

राजपा निर्वाचनमा गएन भने २ नम्बर प्रदेशमा चुनाव हुन्छ कि हुँदैन ?
२ नम्बर प्रदेशको मात्रै कुरा नगरौँ न । अरु प्रदेशको चुनावमा तराईमा झण्डै ८० प्रतिशत भोट खसेको छ । जनताले चाहेको निर्वाचन अरु कसैले रोकेरर रोकिदैन । अर्को कुरा दोस्रो चरणको चुनावमा त राजपा पनि सहभागि भएको हो । चुनाव चिन्ह नपाए पनि स्वतन्त्र उम्मेदवारी दिएर जिताउनु भनेको त चुनावमा सहभागि भएकै हो नि । त्यसैले प्रदेश नम्बर २ को चुनावमा पनि राजपा सहभागि हुन्छ ।

तर राजपाले अझैसम्म पनि संविधान संशोधन नभएसम्म निर्वाचनमा जाँदैनौँ भनिरहेको छ ।
चुनावमा राजपाका वरिष्ठ उपाध्यक्ष, महामन्त्री, वरिष्ठ नेता सबै चुनावको प्रचारमा लाग्नुभएको थियो । उम्मेदवार खडा गरेर चुनावमा सहभागि भइसक्नुभएको छ । तर राजपालाई देखाएर चुनाव नगराउने षडयन्त्र अहिलेको सरकारले गरिरहेको छ । शेरबहादुर देउवामाथि शंका लागेको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा तपाई पनि जाने हो ?
म वा मेरो पार्टी सरकारमा जाँदैन । तर केही संचारमाध्यमले हल्ला चलाएका छन् । मैले अहिलेसम्म सरकारमा जाने मनस्थिती बनाएको छैन । जनताले पनि हामीलाई प्रतिपक्षमा बस्ने म्यान्डेड दिएका छन् । हामी जनताको आदेशलाई मान्छौँ ।

तपाई सरकारमा जानेबारे कुरा चलिरहेको थियो, किन पछि हट्नुभयो?
मैले कहिले सरकारमा जान्छु भनेको थिएँ, प्रमाण दिनुहोस् । शेरबहादुर देउवाजीजस्तो तपाई पनि झुटो नबोल्नुहोस् । हाम्रो पार्टी सरकारमा जानेबारे कल्पना नै नगर्नुहो ।

भागबण्डा नमिलेर सरकारमा नजाने भन्नुभएको हो कि ?
हामीले भागबण्डाको कुरा गरेकै छैन । हामी तत्कालका लागि सरकारमा जादैनौँ । किनकी अहिलेको सरकारले कुनै पनि काम गर्नै दिदैन ।



प्रतिक्रिया दिनुहोस्