Logo

व्यवस्थापिका–संसद् : विनिताको स्मृतिमा अक्षयकोष स्थापनाको घोषणा



काठमाडौँ, ५ साउन । नेपाली काँग्रेसका भीमसेनदास प्रधानले व्यवस्थापिका–संसद्को आजको बैठकमा राजधानी काठमाडौँका सडक धरापमा परिणत भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो र सम्बन्धित निकायलाई त्यस्ता धराप पुर्न आग्रह गर्नुभयो ।

संसद्को विशेष समयमा भाग लिँदै उहाँले आफ्नो निर्वाचन क्षेत्रमा ढलमा बगेर ज्यान गुमाएकी विनिता फुयाँलको स्मृतिमा अक्षयकोष स्थापनार्थ आफ्नो एक महिनाको पारिश्रमिक त्यस निम्ति प्रदान गर्ने घोषणा गर्नुभयो ।

सांसद भीम रावलले निर्वाचन क्षेत्र निर्धारण आयोग अविलम्ब गठनको माग गर्नुभयो । प्रदेश र सङ्घको निर्वाचनका लागि क्षेत्र निर्धारण जरुरी भएकाले आयोग गठनको आवश्यकता जरुरी उहाँको भनाइ थियो ।

सांसद अभिषेकप्रताप साहले भैरहवा भन्सार कार्यालयका केही पदाधिकारी आर्थिक अनियमिततामा लिप्त रहेका र राजस्व छली भएकाले त्यसको अन्त्यका लागि आवश्यक कारबाही गर्न सदन र सरकारको ध्यानाकर्षण गर्नुभयो । साथै उहाँले संसदीय छानबिन टोली गठनको माग पनि गर्नुभयो ।

सांसद शिवचन्द्र चौधरीले एक हजार २०० मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिइएकामा आपत्ति जनाउनुभयो ।

सांसद अनुराधा थापामगरले ढलमा बगेर ज्यान गुमाएकी विनिता फुयाँलका अभिभावकलाई सम्बन्धित अधिकारी र ठेकेदारबाट क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।

सांसद जनकराज जोशीले कार्यकारी आदेशबाट राज्य सञ्चालन गर्न खोजेको आरोप सरकारमाथि लगाउँदै संसद्को विशेषाधिकारमा समेत त्यसले प्रतिकूल असर पर्ने विचार व्यक्त गर्नुभयो । सरकारका कार्यकारी आदेश सदनबाट अनुमोदन हुनुपर्ने उहाँको तर्क थियो ।

सांसद आङ्दावा शेर्पाले रामेछापको हालैको बाढीपहिरोबाट भएको जनधनको क्षतिको विवरण प्रस्तुत गर्दै पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्थाका लागि सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा (एमाले)का यज्ञराज सुनुवार, दिलमान पाख्रिन, कमलाकुमारी घिमिरे, गुरुप्रसाद बुर्लाकोटीले धादिङ र रामेछापलगायत मुलुकका विभिन्न स्थानमा गएको बाढी पहिरोका कारण जनजीवन प्रभावित भएको भन्दै तत्काल राहत र पुनःस्थापनाको माग गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्