Logo

१०/२० जना हुल्लरबाजको हल्लाले एमाले तर्सिँदैन्, हामी मधेशमा पहिलो शक्ति बन्छौं : महासेठ



काठमाडौं, १६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लडेपनि पहिलो स्थान हाँसिल गर्ने दाबी गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा महासेठले भने,‘हामी तालमेल गरेपनि वा एक्लै चुनाव लडेपनि ४५ प्रतिशतभन्दा माथि नै मत ल्याउँछौं अर्थात २ नम्बर प्रदेशमा एमाले पहिलो शक्ति हुन्छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले दुनियाँको कुनैपनि शक्तिले रोक्न खोजेपनि एमालेलाई पहिलो हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे । असोज २ गतेको स्थानीय तहको चुनावमा कांग्रेससँग भने आफ्नो पार्टीले तालमेल नगर्ने उनले स्पष्ट पारे ।

पार्टीले आउने आईतबारसम्म १३६ वटै तहको उम्मेद्धवारको नाम टुँगो लगाउने समेत उनले जानकारी दिए । उनले थपे,‘उम्मेद्धवार टुँगो लगाउने कुरामा हाम्रो पार्टीभित्र कुनै समस्या छैन, प्रायः धेरै ठाउँको भैसकेको छ, बाँकी हामी आईतबारसम्म टुँगो लगाउँछौं।’

उनले कांग्रेसलाई मधेशी दलको अर्को रुपको संज्ञा समेत दिए । उनले भने,‘कांग्रेस आफ्नो कारणले भन्दापनि बाहृय शक्तिको ईशारामा चलेको छ।’ मधेशमा एमालेलाई निषेधको राजनीति गर्नेहरु जति नै सलबल्याएपनि आफूहरु नतर्सिर्ने महासेठले चेतावनी दिए ।

उनले भने,‘नाङ्लो ठट्याएर हात्ती तर्साउन खोजेका होलान्, तर एमाले तर्सिनेवाला छैन।’ उनले अहिले मधेशमा राजपाको नाममा दिनभरि राजपा र बेलुका खाना खाने समयमा कांग्रेस हुनेहरुको हुल लागेको समेत आरोप लगाए ।

उनले निषेधको राजनीति नगर्न समेत चेतावनी दिए । उनले थपे,‘हिम्मत भए भोटिङबाटै हामीलाई मधेशबाट आउट गरेर देखाउनुहोस, होईन भने १०÷२० जना हुल्लरबाजको हल्लाले एमाले तर्सिनेवाला होईन्।’ महासेठले चुनावमा आफ्नो पार्टीको मुख्य प्रतिद्धन्द्धी नै कांग्रेस भएको बताए ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले हालै मात्र जनकपुरको एक सार्वजनिक कार्यक्रममा नेता तथा कार्यकर्ताहरुलाई तपाईहरु १०० सिट जित्नुहोस त्यसको लागि जतिपनि बोरा खोल्न हामी तयार छौं भनेर अभिव्यक्ति दिएको आरोप लगाउँदै भने,‘आर्थिक प्रलोभन र प्रशासन दुरुपयोग नगरौं, धाँधलीरहित वातावरणमा चुनाव हुन दिउँ।’

उनले मधेशमा चुनावको वातावरण बनिसकेकाले सबै पार्टीहरु गाउँ–गाउँसम्म चुनावी अभियानमा होमिएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्