Logo

एक हजार मतदानस्थल अति संवेदनशील घोषणा, प्रमुख निर्वाचन आयुक्त भने सुरक्षा चुनौतिको प्रश्न उठाएकोमा आक्रोषित (भिडियोसहित)



भदौ १९, काठमाण्डौ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले अब हुने सबै चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउने दाबी गरेका छन् । निष्पक्ष चुनावका लागि आवश्यक सबै तयारी भइरहेको बताउँदै यादवले भारतीय सिमा क्षेत्रमा पनि कुनै अराजक गतिविधि हुन नदिने बताए ।

मधेशमा चुनाव गर्न अन्य क्षेत्रमाभन्दा बढि चुनौति छ भन्ने कुरा भ्रम मात्रै भएको यादवको जिकिर छ ।
आगामी २ असोजमा स्थानीय तह निर्वाचन हुने प्रदेश नं. २ का आधाजसो मतदानस्थललाई प्रहरीले अति संवेदनशील सूचीमा राखेको छ । आठ जिल्लाका दुई हजार १६६ मध्ये एक हजार तीन मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेर सुरक्षा योजना बनाइएको छ । मतदानस्थललाई सुरक्षा निकायले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा विभाजन गरेको छ । सप्तरीलाई सुरक्षाका दृष्टिकोणले सबैभन्दा चुनौतीपूर्ण जिल्ला मानिएको छ । आइतबार जनकपुरमा सम्पन्न प्रदेश नं. २ को सुरक्षा गोष्ठीमा सुरक्षा योजनालाई अन्तिम रूप दिई कार्यान्वयन अघि बढाइएको छ ।
तर प्रमुख निर्वाचन आयुक्त यादवले भने मधेश क्षेत्रमा चुनावका लागि कुनै चुनौति नभएको भन्दै सुरक्षाका विषयमा प्रश्न उठाउन जरुरी नै नभएको दाबी गरेका छन् ।
प्रदेश नम्बर २ मा चुनाव सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था मिलाउन चुनौति होला नि भन्ने प्रश्नमा आक्रोषित हुँदै यादवले भने, “तपाई पूर्वाग्रही कुरा गर्दै हुनुहुन्छ । प्रमुख निर्वाचन आयुक्तसँग पूर्वाग्रही कुरा नगर्नुस् । अन्य प्रदेशका जिल्लाहरु पनि भारतसँग सिमा जोडिएको थियो ।”
यसअघिका २ चरणका चुनाव गराइएको जिल्लाहरु पनि भारतसँग सिमा जोडिएको उदाहरण दिदै यादवले प्रदेश नम्बर २ को चुनाव पनि सहजै सम्पन्न गर्न आयोग सक्षम रहेको दाबी गरेका हुन् ।
प्रहरी प्रशासनले भने सिरहाका दुई सय २१ मतदानस्थलमध्ये एक सय नौलाई अति संवेदनशील सूचीमा राखेको छ । त्यस्तै, ८४ स्थललाई संवेदनशील र २८ लाई सामान्यको सूचीमा राखिएको छ । सिरहामा नौ सय ६० प्रहरी कार्यरत रहेकोमा २१ सय थप गरिदैछ । सप्तरीका १८ स्थानीय तहमध्ये १३ वटालाई अति संवेदनशील सूचीमा राखिएको एसपी मुकेश सिंहले बताए । सप्तरीमा दुई सय ९५ मतदानस्थल छन्, जसमा दुई सय ६ वटालाई अति संवेदनशील र बाँकी ८९ वटालाई संवेदनशीलमा राखिएको छ । धनुषामा दुई सय २२ वटा अति संवेदनशील र बाँकी एक सय पाँचवटालाई संवेदनशीलमा राखिएको छ । महोत्तरीमा एक सय ३५ अति संवेदनशील, ९७ संवेदनशील तथा २६ वटा सामान्य मतदान केन्द्रमा परेका छन् ।

नेपाली नेताहरु इमानदार भएको तर्क गर्दै यादवले चुनावलाई सहजै सफल बनाउनका लागि सबै दल इमानदार बन्ने दाबी गरे । “ हाम्रा देशका नेताहरुले भाषण मात्र गरेको भए देशमा लोकतन्त्र, गणतन्त्र र संघियता आउने थिएन । नेतालाई दोष दिएर हुँदैन । सम्मान पनि दिन जान्नुपर्छ ।” यादवले भने ।
प्रदेश नम्बर २ को चुनावका लागि सबै तयारी पूरा भएको जानकारी दिदै यादवले चुनाव निष्पक्ष हुनेमा आशंका नगर्न आग्रह गरेका छन् ।

 

टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमला र अयोधिप्रसाद यादवको चर्काचर्की :



प्रतिक्रिया दिनुहोस्