Logo

मधेशी जनताले कांग्रेसलाई बढि विश्वास गरेका छन्, यसको महत्व पार्टीले मनन गर्नुपर्छ



स्थानीय तहको चुनाव सकिएको छ । प्रदेश नम्बर २ को चुनावी नतिजा पनि अन्तिम चरणमा पुगको छ । अब दलहरु स्थानीय तहको चुनावको समिक्षा गर्दै आगामी प्रदेशसभा र केन्द्रिय संसदको चुनावमा केन्द्रित भएका छन् । नेपाली कांग्रेसले के गरिरहेको छ भन्ने सवालमा नेता डा. मिनेन्द्र रिजालसँग ऋषि धमलाले अन्तरवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि लिइएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

स्थानीय तहको निर्वाचन सकिएको छ । नेपाली कांग्रेसले निर्वाचनको समिक्षा गरेको छैन । किन ? एमालेले समिक्षा सुरु गरिसक्यो ।
हामी समिक्षा गछौँ । निर्वाचनको अन्तिम नतिजा आइसकेको छैन । एमालेको हकमा त अपेक्षा गरेको अनुसार छेउछाउमासमेत नतिजा नआएकाले समिक्षा गर्न हतार गरेको हो ।

तपाईहरुले पनि एक सय ठाउँमा जित्छौँ भनेर भन्नुभएकै हो नि ?
हो, म आफैँले पनि अहिले जति जितिएको छ त्योभन्दा बढि नै जितिन्छ भनेको थिएँ । चुनावमा जाने बेलामा बढाएर भन्ने कुरा त भइहाल्छ । तर साह्रै नै बढाएर मैले कुरा गरेको थिइन । मलाई चाँही परिणाम धेरै अनपेक्षित लागेको छैन । मधेशमा जनताले सबैभन्दा धेरै विश्वास कांग्रेसलाई गरेका छन् । तर कुनै एउटा दललाई मात्र विश्वास गरेर भोट दिएका छैनन् ।

मधेशी जनताको जनमतलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
यसअघि कांग्रेस र एमालेमध्ये एउटा दल छान्नुपर्छ भन्ने सन्देश देखिएको थियो । प्रदेश नम्बर २ मा त्यस्तो देखिएन । तर मधेशका मुद्दामा सहानुभैति नराख्ने दलले कुनै पार लगाउँदैनन भन्ने कुरा जनताले बुझेको पाइयो । म यत्ति भन्छु कि, मधेशी जनताले एमालेलाई पत्याएनन्, कांग्रेसलाई अरु दललाईभन्दा बढि विश्वास गरे । तर मधेशी जनताले स्पष्ट भएर मतदान गर्न सकेको जस्तो देखिएन । एमालेले झैँ मधेशका जनतालाई हप्काएर, छुट्याएर र होच्याएर जनताको मन जित्न सकिदैन भन्ने कुरा स्पष्ट भएको छ ।

अहिलेको नतिजा हेर्दा प्रदेश र संसदको चुनावमा मधेशी जनताको मन जित्न कठीन देखिएको छ । होइन ? किनकी कांग्रेसभित्रको आन्तरिक द्धन्द्धले पनि पार्टी कमजोर बनाइरहेको छ ।
पार्टीभित्रको समस्या आन्तरिक व्यवस्थापन गर्दै जानुपर्छ । तर हामीलाई केप्रति उत्साह छ भने मधेशको जनताले अरु दललाईभन्दा कांग्रेसलाई बढि विश्वास गरेका छन् । मधेशी जनताले पार्टीप्रति गरेको विश्वासलाई मूर्त रुप दिन सकेको खण्डमा आगामी चुनावमा मधेशमा कांग्रेस अहिलेकोभन्दा लोकप्रिय बन्न सक्छ ।

केन्द्रिय संसद र प्रदेशसभाको चुनावको तयारी कहाँ पुग्यो ?
उम्मेदवार छान्नका लागि कांग्रेसले सर्कुलर जारी गरिसकेको छ । हरेक जिल्लाले १७ गतेभित्रमा उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउनेछ । त्यसपछि केन्द्रले आफ्नो प्रक्रिया सुरु गर्छ । संसदीय समितिबाट अन्तिम नाम अनुमोदन गर्छ ।

तल्लो तहबाट आएका नामलाई कत्तिको प्राथमिकता दिन्छ केन्द्रले । कि सबै हस्तक्षेप हुन्छ ?
संसदीय समितिले जिल्लाको सुझाबलाई अत्यन्त महत्वकासाथ हेर्छ । तर हाम्रो संसदीय समिति टिकट दिने कुराका लागि अरु कुनै तहको सिफारिसबाट बाधिएको छैन । यद्यपी तल्लो तहको सिफारिसलाई जति महत्व दियो, त्यति नै नतिजा राम्रो आउन सक्ने सम्भावना हुन्छ । त्यसैले राम्रा उम्मेदवार छनौट गर्न सक्नुपर्छ ।

चुनावमा जानुअघि प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार घोषणा गर्ने तयारी छ कि छैन ?
उम्मेदवार चयन गरेरै जानुपर्छ भन्ने कुरा उठेको छ ।

प्रधानमन्त्रीमा कसलाई उम्मेदवार बनाउने ?
यो कुरा पार्टीभित्र निर्णय भएपछि मात्रै थाहा हुन्छ ।

शेरबहादुर देउवा कि रामचन्द्र पौडेल भावी उम्मेदवार ?
यो कुरा पार्टीभित्र निर्णय हुनासाथ भन्छु ।

तपाईको व्यक्तिगत विचार भन्नुस् न ?
मेरो विचार छ । तर अहिले बताउन मिल्दैन । भन्ने बेला भएको छैन । तपाई झडा गराउने कुरा नगर्नुस् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot