Logo

किन यस्तो आरोप लगाए सत्यनारायण मण्डलले ऋषि धमलालाई, केके भयो धमलाको हमलामा, हेर्नुस भिडियोसहित



नेकपा एमालेका नेता तथा प्रदेश नम्बर २ का संयोजक सत्यनारायण मण्डल, नेपाली कांग्रेसका नेता रामकृष्ण यादव र ऋषि धमलाबिच भएको वार्तालाप यहाँ प्रस्तुत गरिएको छ ।

धमला ः प्रदेश नम्बर २ को निर्वाचनको नतिजाको सन्देश के हो ?
मण्डल ः प्रदेश नम्बर २ को चुनावी नतिजा एमालेका लागि दुखद होइन । तर एमालेलाई शिक्ष लिनका लागि शिक्षा प्राप्त भएको छ ।

धमला ः एमालेले अब कस्तो शिक्षा लिनुपर्छ ?
मण्डल ः यो नतिजाबाट एमालेले अरुलाई दोष दिनुभन्दा आफ्नो कमजोरी सच्याउनुपर्छ । तर अरुलाई दोष दिने ठाउँ पनि छ ।

धमला ः उसोभए आफ्नै कमजोरीले एमाले पराजित भयो ?
मण्डल ः धेरै ठाउँमा उम्मेदवारी चयन भएपछि पार्टीभित्रैबाट असहयोगको भावना देखियो ।

धमला ः माधवकुमार नेपाल नेतृत्वको समुहले असहयोग गरेका हो ?
मण्डल ः माधव नेपाल पनि एमालेको सर्वोच्च र आदरणीय नेता हुनुहुन्छ । तर हामीले आन्तरिक अन्तरविरोध समयमा नै सम्बोधन गर्न नसकेकाले यस्तो नतिजा आएको हो । अर्को आधा कारण चाँही एमालेको विरुद्धमा सत्तामा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका सत्ताधारी दलहरुले अघोषित तालमेल गरेका कारण एमालेलाई कम भोट आएको हो ।

धमला ः प्रदेश नम्बर २ मा एमालेलाई जनताले मन नपराएका होइनन् ?
मण्डल ः विल्कुल मन पराएको छ । चुनाव हार्नुको कारण त प्राविधिक कारण पनि छन् । पैसाको चलखेलको यति भयो, जसले भोट किनिएको छ । राजपा, कांग्रेस, माओवादी लगायतका दलले पैसाको चलखेल गरे । सप्तरीका जनतालाई राजपाका नेताले जबरजस्ती भारतीय रुपैया ५ सय र १ हजार फालेर आएका थिए ।

धमला ः एमाले मधेश विरोधी भएकाले जनताले मन पराएनन् भन्नेहरु पनि छन् नि ?
मण्डल ः यो कुरा त आज होइन, सधैँ भनिरहेका छन् नि । एमाले कसरी मधेश विरोधी हो ?

धमला ः तपाईहरुले मधेशीलाई अधिकार दिन चाहनुभएन नि ?
मण्डल ः कहाँनिर अधिकार दिइएन ?

धमला ः नागरिकता, भाषा लगायतका विषयमा अधिकार नदिइएको होइन ?
मण्डल ः तपाई कस्तो कुरा गर्नुहुन्छ ? नागरिकतामा कहाँनिर कमी छ ? मधेशका विद्धानहरुले भन्न सक्नुप¥यो नि ।

धमला : संविधान संशोधन प्रस्ताव तपाईहरुले असफल बनाउनुभएको होइन ?
मण्डल ः जुन प्रस्तावहरु थियो, त्यो मधेशी मोर्चाको प्रस्ताव हो ? मधेशी जनताको प्रस्ताव नै होइन । त्यो त भारतबाट निर्देशित गरेर पठाएका हुन् ।

धमला ः नेपालको संविधानमा भारतको चासो किन रहन्छ ?
मण्डल ः किन रहन्छ, त्यो त भारतले र यहाँका सत्ताघटकहरुले बुझ्ने कुरा हो ।

धमला ः एमालेले किन जहिले पनि भारतको विरोध गर्छ ?
मण्डल ः भारतले नेपालका लागि थिचाहा र मिचाहा नीति लिएको छ, त्यसको कारणले विरोध हुन्छ ।

धमला ः भारतको विरोध गरेर तपाईहरुलाई के फाइदा हुन्छ ?
मण्डल ः नेपालको संविधानको बनाउने कुरामा नेपाली जनताले सार्वभौमसत्ताको प्रयोग गरेका छन् । यसमा भारतले किन नोटिस गर्नुप¥यो । किन हस्तक्षप गर्नुप¥यो ?

धमला ः मण्डलले संविधान संशोधन प्रस्ताव भारतको थियो भन्नुभयो । त्यो सही हो ?
यादव ः उहाँले कुन हिसाबले भन्नुभयो, तर यो गलत हो । संविधान संशोधनको प्रस्ताव विशुद्ध नेपालको समस्या हो । नेपालीहरुको माग हो । व्यवस्थापिका संसदमा हामीले नै दर्ता गरेका हौँ । कांग्रेसको केन्द्रिय समितिका बैठकले नै प्रस्ताव गर्ने निर्णय भएको थियो ।

धमला ः अन्त कतैबाट निर्देशित प्रस्तावलाई कांग्रेसले बोकेको भन्ने आरोप छ नि ?
यादव ः तपाईहरुले (मण्डल) आफ्नो कमजारीहरु नहेर्ने, अरुलाई मात्र दोष लगाएर मुक्ती पाउनुहुन्न । जुन बेला संविधानसभाबाट संविधान बनिरहेको थियो, त्यसबेलामा पनि नागरिकता, भाषा, सिमाङ्कन, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र बनाउनेलगायतका कुरा उठेको थियो । त्यसैले उहाँले (मण्डल) कुन रुपमा भनिरहनुभएको छ । उहाँलाई नै सोध्नुस् । संविधान संशोधन नेपाली जनताको एजेण्डा हो ।

धमला ः संशोधनको प्रस्ताव अरुकै निर्देशनमा ल्याएको भन्ने आरोप त एमालेले लगाएको छ नि ?
यादव ः एमाले पार्टी यस्तो पार्टी हो, जो चोर उसैको ठूलो स्वर गर्छ । संविधान संशोधनको प्रस्ताव नेपाली जनताको एजेण्डा हो । तर एमालेले नेपाली जनताको समस्या नै होइन भनिरहेको छ ।

धमला ः मण्डलज्यू, यादवले भन्नभयो कि, तपाईहरुले मिथ्या आरोप लगाउनुभयो ।
मण्डल ः यादवजीको कुरामा कुनै सत्यता छैन । एमाले भनेको अहिले प्रमुख प्रतिपक्ष पार्टी हो । उहाँहरुले अहिले संसदमा सबैभन्दा ठूलो पार्टी हो । तर एमाले कांग्रेसको पछुवा होइन । राष्ट्रिय समस्या समाधान गर्नका लागि अर्थात संविधान बनाउनका लागि एमाले एक्लैले सकेन । तीन दलको एकताबाट नै संविधान बनेको हो । ४६ सालको आन्दोलनपछि एमालेले कांग्रेससँग सहकार्य गर्दै आएको छ । तर अहिले एमालेलाई हेर्ने दृष्टीकोण वा शेरबहादुर देउवाको जुन नीति हो, त्यसले एमालेलाई समाप्त गर्न घेराबन्दी गरेको छ ।

धमला ः एमालेले मधेशी जनतालाई अधिकार दिन किन चाहेन ?
मण्डल ः ऋषि जी, म तपाईलाई निवेदन गर्न चाहन्छु, म पनि मधेशी आमाको कोखबाट जन्मेको हुँ । मधेशी जनता जति अधिकार सम्पन्न हुन्छ, त्यति नै म पनि अधिकार सम्पन्न हुन्छु । मधेशलाई अधिकार दिने नाममा मधेशका सामन्तवादलाई दिनु जस्तै हो ।

धमला ः मधेशका सामन्तवाद को हुन् ?
मण्डल ः नेपाली कांग्रेस त सामन्ती, दलालकै पार्टी हो । आधाभन्दा बढि नेता सामन्ती पृष्ठभूमिबाट आएका छन् । राजपाभित्र पनि त्यस्तै छ । महन्थ ठाकुरको पृष्ठभूमि के हो ?

धमला ः तपाईहरुलाई चाँही मधेशी जनताले किन मतदान गरेनन् त ?
मण्डल ः हामीलाई पनि मतदान गरेका छन् । हाम्रो विरुद्धमा जुन घेराबन्दी छ, यो सच्चाईलाई किन बुझ्न सक्नुहुन्न ?

धमला ः एमालेलाई जनताले घेराबन्दी गरेको होइन ?
मण्डल ः जनताले घेराबन्दी गरेका छैनन् । मैले प्रदेशको सिमाङ्कन उत्तर दक्षिण हुनुपर्छ भन्दा जिल्ला प्रवेशमा रोक लगाइयो ।

धमला ः तपाईले गलत बोल्नुभयो भन्नेहरु पनि छन् नि एमालेभित्रै ?
मण्डल ः एमाले पार्टीभित्र मलाई गलत बोल्यो भन्ने कोही छैनन् ।

धमला ः केही नेताहरुले झापादेखि कञ्चनपुरसम्म सिमाना हुनुपर्छ भनेका थिए नि ?
मण्डल ः कुनै पनि एमालेका नेताहरुले त्यसो भनेका छैनन् । भनेका छन् भने मलाई नाम दिनुस्, म कारबाही गर्छु ।

धमला ः माधवकुमार नेपालले नै भन्नुभएको थियो ।
मण्डल ः यदी उहाँले त्यो भन्नुहुन्छ भने एमालेको धारणा विपरित हो ।

धमला ः मधेशप्रति त एमालेको दृष्टीकोण नै गलत छ नि ?
मण्डल ः त्यो तपाईको भनाई हो ।

धमला ः आन्दोलनका बेला केपी ओलीको अभिव्यक्तिलाई लिएर धेरै विरोध भयो नि ?
मण्डल ः केही यस्ता फन्टुस व्यक्ति र नेता छन्, जसले तिललाई पहाड बनाउँछन् । केपी शर्मा ओलीको दृष्टीकोण कहाँ गलत छ ?

धमला ः ओलीले मधेशीलाई विहारी, युपी भन्नुभयो ।
मण्डल ः समथर भुभागलाई एउटै नजरले राजेन्द्र महतोले हेरेपछि किन भन्दैनन् त ? सन्दर्भ अनुसार कुरा भएको हो ।

धमला ः मधेशी जनताको मानव साङ्लोलाई माखे साङ्लो भनिएको थियो नि ?
मण्डल ः माखे साङ्लोको अर्थ के हुन्छ ? किन तपाई यसरी एमालेलाई खुइल्याउन खोज्नुहुन्छ ? यस्तै हो भने म सिङ्गो नेपाली जनतालाई भन्न चाहन्छु, तपाईले मलाई धोका दिनुभयो । सिङ्गल कार्यक्रम भनेर ढाँट्नुभयो । अवदेखि यसरी प्रवेश गर्दिन । नत्र म उठेर जान्छु । एमालेलाई गाली गर्नकै लागि तपाईले बोलाएको हो भने मेरो भन्नु केही छैन ।

धमला ः सत्यनारायण मण्डलजी, त्यस्तो होइन । रामकृष्ण यादव, तपाईहरुले एमालेलाई खुइल्याउन मोर्चाबन्दी गर्नुभएको हो ?
यादव ः तपाईको प्रश्न नै गलत छ । किनकी नेपाली कांग्रेस एउटा इतिहास बोकेको पार्टी हो । नेपाली कांग्रेसले समग्र नेपाली जनताको लागि काम गर्दै आएको छ ।

धमला ः एमालेलाई हराउनका लागि शक्तिको दुरुपयोग गर्नुभयो भन्ने आरोप छ नि ?
यादव ः मण्डलजि, एमाले पार्टीबाट मन्त्री बनिसक्नुभएको छ । एमालेको नेता हुनुहुन्छ । म उहाँले के बोलिरहनुभएको छ, त्यसको जवाफ दिन चाहन्न । तर उहाँले भनेका कुरा शतप्रतिशत मिथ्या हो । किनकी एमालेलाई तराई मधेशमा कसैले पनि घेराबन्दी गरेको छैन ।

धमला ः तपाईहरुले माओवादीसँग तालमेल गरेर एमालेलाई एक्ल्याउनुभएको होइन ?
यादव ः तालमेल त सबै दलले आफु अनुकुल गरेकै छन् नि । तर नेपाली कांग्रेस एक्लै पनि चुनाव लडेको छ । कांग्रेसले पनि २ नम्बर प्रदेशबाट जति जित्ने अपेक्षा गरेका थियौँ, त्यो अनुसारको नतिजा आउन सकेन । तर आदरणीय जनतालाई म धन्यवाद दिन चाहन्छु ।

धमला ः तपाईहरुले सत्ताको दुरुपयोग गर्नुभएको छैन ? प्रधानमन्त्री शेरबहादुर देउवा आचारसंहिता लागु भएको अवस्थामा ८ वटै जिल्लामा गएर भोट माग्नुभयो । यो सत्ताको दुरुपयोग होइन ?
यादव ः छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्री भएर पनि जनताको बिचमा जानुहुन्छ । त्यसैगरी शेरबहादुर देउवा पार्टीको सभापतिको रुपमा समन्वयको लागि जनतामाझ जानुभएको हो । नेपाली कांग्रेसले आजसम्म सत्ताको दुरुपयोग गरेको छैन ।

धमला ः सत्ताको दुरुपयोगको प्रमाण कसैले दियो भने ?
यादव ः आरोप लगाउँदैमा वा कसैले भन्दैमा पुष्टी हुँदैन ।

धमला ः तपाई आफैँ पनि मन्त्री, चुनावका बेला भोट माग्न मिल्छ ? तपाईले झण्डा हल्लाउँदै भोग माग्नुभएको होइन ?
यादव ः मलाई मतदान गर्ने अधिकार छैन र ? मेरो गाउँमा जान नपाउने ?

धमला ः मौन अवधिमा भोट माग्ने अधिकार छ तपाईलाई ?
यादव ः तपाई मिथ्या किसिमको आरोप नलगाउनुस् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot