Logo

एमाले र माओवादीवीचको एकता अब कसैले भाँड्न सक्दैन् : हरिबोल गजुरेल, नेता नेकपा माओवादी केन्द्र



एमाले र माओवादी केन्द्रवीच भएको सहमतिमा के-के छ ?

हामीवीच भएको सहमति के हो भने अहिले चुनावमा तालमेल गरेर जाने, पार्टी एकताको लागि संयोजन समिति बनाउने, बामपन्थीहरुको ध्रुविकरणलाई जुन कुरा हामीले ०६४ सालदेखि नै भन्दै आएका थियौं, र बल गरेको हो । त्यतिवेला एमाले पछि हट्यो । तर अहिले एमालेले पनि अहिले विशिष्ट परिस्थितिमा उनीहरुले आवश्यकत्ता महशुस गरे र त्यो एउटा वातावरण बन्यो । वामपन्थीहरुको एकता गर्ने र समाजवादको लक्ष्य हाँसिल गर्ने भन्ने नै हो ।

उसो भए चुनावी तालमेल गर्दा प्रशितमा कति कति भागबण्डा लगाउनुभएको छ?

केही स्वतन्त्र व्यक्तिहरु के कति सामेल हुनुहुन्छ, उनीहरुलाई केही छुट्याएर बाँकी बसेकोमा ६० र ४० गरेर जाने हो । तर तालमेल चाहीँ देशभरि नै गर्ने हो ।

पार्टी एकतापछि प्रधानमन्त्री को बन्ने अनि अध्यक्ष को बन्ने त ?

पार्टी अध्यक्ष आलोपालो नेतृत्व गर्ने भन्ने नै छ ।

उसो भए आलोपालो गर्दा पहिला केपी शर्मा ओली कि प्रचण्ड ?

अहिले त्यस्तो निर्णय भैसकेको छैन । अहिले भन्ने कुरा होईन् । यसबारेमा कुनै कुरा भएकै छैन । भोलि वा पर्सी नै थाहा हुन्छ ।

७ सदस्यीय संयोजन समितिमा को-को हुनुहुन्छ ?

हम्रो तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरुद्धय रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ हुनुहुन्छ । उता बाट उहाँहरुले अब को को राख्नुहुन्छ ? त्यो आज नै थाहा भएन । भोलि थाहा होला । पार्टी एकता संयोजन समिति बनिसकेपछि त्यसले छलफल पनि गर्दैजान्छ । पहिला सुरुमा एउटा प्रारम्भिक डकुमेन्ट तयार गर्ने । र, पछि चाहीँ छलफल गर्दै पार्टी एकताको आधार खडा गर्ने ।

उसो भए चुनावअघि चाहीँ पार्टी एकता हुँदैन ? पछि नै हुने हो ?

हो । चुनावअघि एकता हुँदैन् । चुनावपछि मात्रै हुन्छ ।

भनेपछि तपाईहरुवीच कुरा मिलेकै हो त?

हो । मैले अघि पनि भनिसकें ०६४ सालमा पहल भएकै हो । त्यतिवेला पनि एकता हुन्छ हुन्छ भनेकै हो । हाम्रो फुलबारी बैठकले निर्णय पनि गर्यो । तर एमाले पछि हट्यो र हुन सकेन् । अहिले विशिष्ट परिस्थितिमा आएर उहाँहरुले माओवादीलाई बाईपास गरेर अघि बढ्न सकिँदैन भन्ने रियलाईज गर्नुभयो र त्यसपछि एकताको एउटा वातावरण बनेको हो ।

तपाईहरुवीचको एकताको वातावरण चाहीँ कसरी बन्यो ? तपाईहरु त कांग्रेस नेतृत्वको सरकारमा हुनुहुन्छ ?

मैले अघि नै भनिसके नि । हामीले त ०६४ मै यो निर्णय गरिसकेका थियौं, तर त्यतिवेला भएन । अहिले त एमालेले त्यो आवश्यकत्ता महशुस गर्यो । माओवादी एउटा शक्ति हो, वामपन्थी शक्ति हो, कम्युनिष्ट शक्ति हो भन्ने उहाँहरुले आत्मबोध गर्नुभयो, र माओवादीसँग सहकार्य नगरीकन नेपालको वामपन्थी राजनीति अगाडि बढ्दैन भन्ने सोचेर नै उहाँहरुले अहिले त्यो आवश्यकत्ता महशुस गर्नुभएको हो । हुन त यो आवश्यकत्ता हामीले पहिले नै गरिसकेका थियौं । उहाँहरुले यसपालि महशुस गरिसकेकोले एकता सम्भव भएको हो।

तर तपाईहरुको सहमतिमा त चुनावपछि प्रचण्ड पार्टी अध्यक्ष र ओली प्रधानमन्त्री बन्ने छ अरे नि ? खास के हो ?

यो बारेमा मलाई जानकारी छैन् । थाहा नभएको कुरा म भन्दिन् । आन्तरिक छलफल भएको थियो ।

उसो भए तपाईहरुवीच कति बुँदे सहमति हुन्छ त ?

अहिले ७ बुँदे हुने बुझिएको छ ।

७ बुँदेमा के के छन् ? भनिदिनुहोस् न ?

संघीयता, समावेशी, गणतन्त्रजस्ता परिवर्तनका एजेण्डालाई अघि बढाउने कुरा छ । संविधानको परिमार्जन र संशोधनलाई समेत अघि बढाउने भन्ने कुरा छ । मधेश लगायतका विभिन्न समस्याहरु सम्बोधन गर्नको लागि यो आवश्यकत्ता हो। नयाँ सन्दर्भ आएकोले हामी अगाडि बढ्यो ।

उसो भए तपाईहरुले एमालेसँग तालमेल गरेपछि अहिलेको सरकार त अल्पमतमा पर्यो नि ?

चुनाव गराउने सरकार हो । सरकारको कोर्स त चलिरहेको छ र चल्छ ।

चुनावी तालमेल एमालेसँग गर्ने अनि सरकारमा चाहीँ कांग्रेससँग सहकार्य गर्ने ? प्रधानमन्त्रीसँग तपाईहरुको सम्बन्ध कस्तो रहन्छ ?

कम्युनिष्टहरुले कम्युनिष्टसँग एकता गर्ने कुरा सहज रुपमा लिनुहुन्छ होला। डेम्योक्र्याटहरुले पनि उहाँहरुको विचार मिल्नेसँग एकता गर्ने हो नि। हाम्रो आवश्यकत्ताबोधको कुरा हो ।

भनेपछि संवैधानिक रुपमा संकटहरु आउँदैन् ?

यो सरकार त अन्तिम हो नि । चुनावपछि नयाँ सरकार बन्छ ।

यो संसदको म्यादसम्म यहाँहरुले प्रधानमन्त्री परिवर्तन गर्ने हो ?

किन गर्नुपर्यो र ? अहिले त्यो आवश्यकत्ता होईन् । हामीले त्यो महसुस गरेका छैनौं । निर्वाचनसम्म यो रहनुपर्छ । त्यसैले हाम्रो एकतालाई लिएर अन्यथाको रुपमा लिनुहुँदैन् ।

कांग्रेससँग कुरा मिलेन ?

होईन, यो त पार्टी एकताको कुरा हो । एउटै शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने कुरा हो । चुनावी तालमेलमात्रै होईन, हाम्रो त पार्टी एकता नै गर्ने हो । अब कांग्रेससँग तालमेल हुँदैन् ।

उसो भए कम्युनिष्टहरुको बहुमतको सरकार बन्ने भयो ?

त्यो त भोलि नै थाहा होला नि ।

अब चाहीँ एमाले र तपाईहरुवीचको एकता भाडिँदैन नि ?

भाडिँदैन् । अब किन भाडिन्छ भन्ने कल्पना नगर्नुहोस् । अन्तिम निर्णय गर्ने जिम्मा हेडक्वार्टरलाई दिईसकेको छ ।

उसो भए मोहन बैद्य, नेत्रविक्रम चन्दसँग पनि एकता हुन्छ त ?

उहाँहरुसँग अहिले त्यस्तो ठोस कुरा भएको छैन । तर भोलि उहाँहरुले पनि आवश्यकत्ता महुस गर्नुभयो भने हुनसक्छ । सबै साना कम्युनिष्ट दलसँग कुरा हुन्छ । हामी छलफल गर्छौं । अरुसँग पनि सल्लाह लिन्छौं।

भनेपछि चुनाव चिन्ह चाहीँ कुन लिने सहमति भयो ? हँसिया हथौडा कि सुर्य ?

अहिले त्यसविषयमा अन्तिम निर्णय भएको छैन् । हामीले दुईवटै चुनावचिन्हलाई समेटेर सुर्यभित्र हँसिया हथौडा राख्ने सहमति भएको छ । तर निर्वाचन आयोगले प्रक्रिया अलिकति मिल्दैन भनेर अड्किएको छ ।

तपाईहरुले कांग्रेससँग बार्गेनिग गर्न त यस्तो गरेको होईन् ?

यो त हाम्रो ०६४ को चाहना हो । अहिले आएर पूरा भयो ।

प्रस्तुति : ऋषि धमला 



प्रतिक्रिया दिनुहोस्

Screenshot