Logo

एकता भाँडिने सम्भावना पनि छ, मिडियाले होसियारीपूर्वक अगाडि बढाइदिनुहोला : झलनाथ खनाल



नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको पछिल्लो राजनीतिक गतिले देश नै तरङ्गित बनेको छ । दुई दलबिचमा चुनावी तालमेलदेखि पार्टी एकतासम्मको प्रयासले सबैको ध्यान आकर्षित भएको छ । यसै सम्बन्धमा नेकपा एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग ऋषि धमलाले अन्तरवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको संपादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

माओवादीसँग पार्टी एकता गर्ने विषयमा सहमति भइसकेको हो ?
नेकपा एमाले यो देशका सबै बामपन्थी दलहरुलाई एकता गराउन धेरै पहिलेदेखि प्रयासरत थियो । त्यो प्रयास र पहल अहिले पनि जारी छ । घनिभूत रुपमा भइरहेका वार्ता साकारात्मक रुपमा अगाडि बढिरहेको छ । हामी केही दिनभित्रमा महत्वपूर्ण निष्कर्षमा पुग्छौँ भन्ने विश्वास छ ।

बाम एकताका बारेमा धेरै अगाडिदेखि चर्चा चलेको हो । यस पटक सफल हुन्छ भन्ने आधार के छ ?
४६ सालको परिवर्तनपछि ४८ सालमा भएको चुनावमा पनि बाम एकताको कुरा उठाइएको थियो । एक बाम एक ठाम गरौँ भन्ने नारा हामीले अगाडि सारेका थियौँ । दुर्भाग्यवस त्यतिबेला एकता हुन सकेन । अहिले जुन ठाउँमा आइपुगेका छौँ, यो ऐतिहासिक कालखण्ड हो । समाजवादको लक्ष्य लिएर अगाडि बढ्नुपर्ने अवस्थामा बामपन्थी र देशभक्त एकताको जरुरी छ । देशको आवश्यकता भएकाले एकता महत्वपूर्ण छ ।

विगतमा भएको एमाले र माओवादीबिचको विवाद र तिक्तता अहिले साम्य भएको हो ?
दुई पार्टीका बिचमा सैद्धान्तिक, वैचारिक, नीतिगत, संगठनात्मक लगायतका सवालमा अहिले पनि मतभिन्नताहरु छन् । ति मतभिन्नताहरुलाई विस्तारै कम गर्दै अगाडि बढ्नुपर्छ । यतिबेला हामी मुख्य कार्यनीतिको दिशा अर्थात संविधानले गरेको मार्गनिर्देशन पछ्याउनुपर्छ । लोकतान्त्रिक बाटोबाट अगाडि बढ्नका लागि बाम एकता जरुरी छ । विगतमा विभिन्न आरोप लगाइए होला । तर ति यथार्थ थिएनन् ।

अब नेपालमा एउटा मात्रै कम्युनिष्ट पार्टी बनाउने हो ?
हो । हाम्रो देशका आदरणीय नेता पुष्पलालले स्थापना गर्नुभएको पार्टी एउटै थियो । त्यही कम्युनिष्ट पार्टीलाई फेरी पनि बदलिदो परिस्थितीको विकासक्रमलाई ध्यानमा राखेर एकताको प्रयास गरिएको छ ।

उपेन्द्र यादवले त नेपालका कम्युनिष्टलाई कमाउनिष्ट अर्थात पैसा कमाउनका लागि राजनीति गर्ने दल हुन् भन्ने आरोप लाउनुभएको थियो । अहिलेको एकता पनि त्यस्तै उपलब्धिका लागि हो कि ?
उहाँ आफै कुनै बेला कम्युनिष्ट हो कि होइन भनेर पहिला सोध्नुस् । उपेन्द्र यादवजी कम्युनिष्ट हुँदा कति पैसा कमाउनुभयो ? त्यो पनि सोध्नुस् । एमालेलाई लागाइएको त्यस्ता आरोप पुष्टी हुन सक्दैन ।

माओवादी र एमालेबिच ६०–४० को भागबण्डा गरेर आगामी चुनावमा तालमेल गर्ने हो ?
हामी छलफलमा नै छौँ । यो कुरा घोषणा गरिसकेका छैनाँै । वार्ता प्रक्रिया चलिरहेको छ । एक दुई दिनभित्रमा हामी घोषणा गछौँ । तालमेल र एकता प्रक्रियाका बारेमा छिटै टुङ्गोमा पुग्नका लागि प्रयासरत छौँ ।

साना बामपन्थी दलहरुसँगको एकताका बारेमा पनि छलफल भएको हो ?
नेपाली राजनीतिक परिवर्तनको आन्दोलनमा योगदान दिने सबै बामपन्थी दललाई एक बनाउने हाम्रो लक्ष्य हो । सबै दलको भूमिकाको उच्च मूल्याङ्कन गर्दै एकतालाई मजबुत बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

तपाईहरुको एकता भाँडिने हो कि ?
हो, यो सम्भावना पनि छ । मिडियाले एकताको विषयलाई होसियारीपूर्वक अगाडि बढाइदिनुहोला । तपाईले नै मिडियाको नेतृत्व गर्नुस् । अनावश्यक चर्चा नगरिदिनुहोला । बामपन्थीहरुको एकता राम्रोसँग अगाडि बढोस् भनेर तपाईहरुले वातावरण बनाइदिन काम गर्नुस् ।

पार्टी एकता भयो भने केपी शर्मा ओली र पुष्पकमल दाहालको हैसियसत केके रहन्छ ?
यस सम्बन्धमा हामीले केही निर्णय गरिसकेका छैनौँ । हाम्रो पार्टी सामुहिक ढंगले अगाडि बढ्छ । पुँजीवादी ढर्राबाट हामी चल्दैनौँ । पार्टीको व्यवस्था अनुसार संसदीय दलको नेता जो बन्छ उही प्रधानमन्त्रीको दाबेदार हो । प्रधानमन्त्रीका लागि योग्य व्यक्तिहरु एमालेका प्रशस्तै हुनुहुन्छ । एमाले त प्रधानमन्त्री बन्न लायक नेताहरुको खानी हो ।

सरकार परिवर्तनको विषयमा पनि छलफल सुरु भएको हो ?
देश जुन ढंगले अगाडि बढिरहेको छ, यो तीन करोड नेपालीहरुको सवाल हो । अहिलेको सरकारप्रति जनता सन्तुष्ट छैनन् । त्यसैले चाँडोभन्दा चाँडो नयाँ परिस्थिती मुलुकमा ल्याउनुपर्छ । यो कुरा जनताको माग हो । त्यो मागलाई ध्यानमा राखेर एमाले, माओवादी लगायत देशका जिम्मेवार दलले सोच्नुपर्छ । यद्यपी अहिले हाम्रो ध्यान आगामी चुनावमा छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, धाँधलीरहित बनाउनका लागि हामी गम्भीर भएर लाग्छौँ ।

सरकार परिवर्तन गर्ने कुराले चुनाव भाँडिन सक्ने सम्भावना कत्तिको छ ?
हामी सबै कुरा विचार गछौँ ।

बामपन्थी एकता भोलीका दिनमा हात्ती आयो हात्ती आयो फुस्सा भनेजस्तो हुने त होइन ?
त्यो उखानमा चाँही हात्ती आएर फुस्सा हुन्छ । तर नेकपा एमालेले सबै बामपन्थी शक्तिलाई एकताबद्ध गरेपछि त्यो सफल हुन्छ । अहिलेको हात्ती फुस्सा हुने खालको छैन । यसले त अर्कै भूकम्प ल्याउने सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot