Logo

प्रचण्डको हाइट बढेको छ, चुनावसम्म यही सरकार रहन्छ, कांग्रेस आत्तिनु पर्दैन : नारायणकाजी श्रेष्ठ



नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबिचको बाम एकता प्रक्रियाले देशको राजनीतिक तरङ्गित भएको छ । एकता प्रक्रियाको सन्देश, औचित्य, अबको नेतृत्व, सरकार, चुनाव लगायतका विषयलाई एकता प्रक्रियाले प्रभाव पार्ने देखिएको छ । यसै विषयमा माओवादी केन्द्रका शीर्ष नेता नारयाणकाजी श्रेष्ठसँग अन्तरवार्ता लिइएको छ । एकता प्रक्रियाका सुत्रधार मानिएका श्रेष्ठसँग ऋषि धमलाले लिएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

बामपन्थी एकता किन र केका लागि गर्न लागिएको हो ?
राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै संविधान कार्यान्वयनको बाटोमा सहज रुपमा अगाडि बढ्नका लागि एकता प्रक्रिया सुरु गरिएको हो । राजनीतिक स्थिरता कायम राख्दै सामाजिक र आर्थिक परिवर्तनका लागि एकता जरुरी छ । राष्ट्र र जनताका पक्षमा एकीकृत र शक्तिशाली पार्टी निर्माणका लागि एकता प्रक्रिया सुरु गरिएको हो ।

सशस्त्र द्धन्द्धदेखि अहिलेसम्म तपाई बामपन्थी र प्रजातन्त्रवादी शक्तिबिचमा एकता हुनुपर्छ भन्दै आउनुभएको नेता । अहिले आएर एक्कासी नेपाली कांग्रेससँग छलफल नै नगरी किन प्रक्रिया सुरु गर्नुभयो ?
यो एकता वैचारिक र सैद्धान्तिक विषय हो । नेपाली कांग्रेसले पनि वैचारिक र सैद्धान्तिक सामिप्यता भएका दलहरुसँग चुनावी तालमेल वा पार्टी एकता गर्न सक्छ । तर संयुक्त मोर्चा र कार्यगत एकता परिस्थिती अनुसार हुन्छ । अहिले पनि हामी नेपाली कांग्रेससँग चुनावी सरकारमा छौँ । हामी चुनावलाई सहज ढंगले सम्पन्न गराउनका लागि तत्पर छौँ । अहिले सरकारबाट निस्किएर अल्पमतमा पारेर अर्को सरकार बनाउने पक्षमा छैनौँ ।

प्रमुख प्रतिपक्ष दलसँग मिल्ने भएपछि अब कांग्रेससँग सरकारमा बसिरहन मिल्छ ?
कांग्रेसले नै यस्तो कुरा ग¥यो भने त हामी सरकार छोडेर तुरुन्त अर्को सरकार बनाइहाल्छौँ । कांग्रेसले नै सरकार अल्पमतमा प¥यो वा हामीलाई सरकार छोड भन्ने माग ग¥यो भने त अर्को सरकार बनाउने प्रक्रियामा गएर भए पनि चुनाव गराउँछौँ । तर हामी सहज र स्वभाविक के ठान्छौँ भने अहिले चुनावी सरकारको रुपमा काम गरेकै छ । यही सरकारले चुनाव गरोस् । चुनाव सम्पन्न गराउनका लागि जे जस्तो वातावरण बनाउनुपर्छ त्यतैतिर जाने भन्ने कुरा हो । सरकार छुट्टै प्रक्रिया हो । एमालेसँग पार्टी एकताको प्रस्ताव मात्रै हो, एकता भइसकेको छैन । चुनावी तालमेलसम्मको कुरा हो ।

कांग्रेससँग बार्गेनिङ गर्नका लागि एमालेलाई प्रयोग गर्ने वा एमालेलाई सहयोग गरेर कांग्रेसलाई कमजोर बनाउने तपाईहरुको रणनीति हो ?
यो विल्कुल गलत कुरा हो । हामीले नेपाली कांग्रेससँग पार्टी एकताको कुरा कहिल्यै पनि गरेका छैनौँ र त्यो गर्न पनि सक्दैनौँ । वैचारिक र सैद्धान्तिक रुपमा हाम्रो लागि नेपाली कांग्रेस मुख्य प्रतिस्पर्धी शक्ति हो । नेकपा एमालेसँग पनि कतिपय मुद्दामा गम्भीर मतभेद हुने गरेको थियो ।

प्रचण्डको चरित्रलाई लिएर विभिन्न टिका टिप्पणी हुने गर्छ । उहाँलाई अवसरवादी नेता बनेको आरोप लाग्छ नि । उहाँ जता फाइदा हुन्छ त्यतै लाग्नुभएको हो ?
प्रचण्डलाई अवसरवादी होइन, ऐतिहासिक र साहसिक निर्णय लिन सक्ने नेताको रुपमा लिनुपर्छ । थुप्रै चुनौति र जोखिमहरुलाई मोल्न सक्ने र नेपाली समाजको आवश्यकता अनुसार निर्णय गर्न सक्ने क्षमता प्रचण्डमा छ । थुप्रै कमजोरी होला प्रचण्डमा, तर यो स्तरको क्षमता र प्रतिभा नेपालका अरु कुनै कम्युनिष्ट नेतामा छैन ।

अस्थिर देखिनुभएको छ नि प्रचण्ड ?
गतिशिलतामा कहिलेकाँही अस्थिरता मिसिन्छ । तर उहाँको मूल चरित्र गतिशिलता हो ।

गतिशिलताले मात्रै समस्याका समाधान गर्न सक्छ र ?
समस्याको समाधान नीति र कार्यक्रमले गर्न सक्छ । वैचारिक र सैद्धान्तिक रुपमा नजिक भएकाले नकारात्मक सोच राख्नु हुँदैन । कुनै दलको सांगठनिक र पार्टीगत स्वार्थमा धक्का पुगेको हुन सक्छ । तर हाम्रो तालमेल र एकता प्रक्रिया कसैका विरुद्ध होइन ।

अब तपाईहरुको पार्टी नेकपा माओवादी केन्द्र एमालेमा विलय भएको तर्क गरिएको छ नि ?
विल्कुल गलत । यथार्थ के हो भने, विलय होइन एकीकरण प्रक्रियाको पहलकदमी हो । नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाएर समाजवादको आधार निर्माण गर्ने तयारी हो ।

अबका दिनमा प्रचण्डको राजनीतिक उचाई घट्ने देखिएको छ । केपी शर्मा ओलीको हाइट एकता प्रक्रियाले बढाएको छ । बाबुराम भट्टराईलाई पनि राम्रै भएको छ । यसले कसलाई फाइदा हुन्छ ?
यति ठूलो चुनौतिको बिचमा साहसिक निर्णय लिन सक्ने नेताको महत्व बढेर जान्छ । नेपाली जनता र इतिहासले प्रचण्डको कदमको उच्च मूल्याङ्कन गर्नेछन् । प्रचण्डको व्यक्तित्व न्युन भएर अरु कसैको बढ्न सक्दैन । एकता प्रक्रिया फाइदा र बेफाइदाको व्यापारिक विषय होइन । बाबुराम भट्टराई कम्युनिष्ट पार्टीमा नै फर्किनुभएको छ । यो सकारात्मक कुरा हो ।

आगामी चुनावमा तापाईहरुको गठबन्धनले बहुमत ल्याउन सकेन भने एकता प्रक्रिया कहाँ पुग्छ ?
हाम्रो गठबन्धनले समान्य बहुमत मात्रै होइन, त्योभन्दा माथि जान्छौँ । यो कुरा नेपालको राजनीतिलाई सामान्य ढंगले बुझ्ने मानिसले पनि सहजै अनुमान लगाउन सक्छ । त्यसैले हामी बहुमतको सरकार अवश्य दिन्छौँ ।

एकतापछिको सरकार र पार्टीको नेतृत्वको विषयमा भएको सहमति के हो ?
एउटा पार्टीको नेताले सरकारको नेतृत्व गरेको अवधिमा अर्को पार्टीको नेताले पार्टीको नेतृत्व गर्ने सहमति भएको छ । यो नेतृत्वको विषय आधा आधा समयमा फेरबदल गर्ने सहमति भएको हो । आलोपालो गर्ने भन्ने सहमति हो । पहिला कसले सरकार र कसले पार्टी हाँक्ने भन्ने नाम नै तय गरेर सहमति भइसकेको छैन । यो विषय हामी सहमतिको आधारमा गछौँ । निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जाने विषयमा सोचेका छैनौँ ।

वाम एकतामा अब अरु कुनकुन दललाई समेट्ने प्रयास गर्नुहुन्छ ?
मोहन वैद्य, चित्रबहादुर केसी, सिपी मैनाली, गणेश शाह लगायतका नेताहरुसँग एकताका लागि कुरा गछौँ । हाम्रो विचार र लक्ष्यलाई उपेन्द्र यादवले पनि स्विकार गरेर आउने सम्भावना देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot