Logo

आगलागीमा कमजोरी स्वीकार्दै मन्त्रीद्वारा राजीनामा



लिस्बोन, २ कात्तिक : पोर्चुगलका आन्तरिक प्रशासन मन्त्री कन्स्टान्स अर्बानो डे सोउसाले राजीनामा दिनुभएको छ ।

भीषण आगलागीका कारण पोर्चुगलमा ठूलो धनजनको क्षति भएकोमा कमजोरी स्वीकार गदै उहाँले बुधबार राजीनामाको घोषणा गर्नुभएको हो ।

आफ्नो राजीनामा पत्रमा उहाँले भन्नुभएको छ, “यस्तो अवस्थामा म पदमा बसिरहन सुहाउने कुरा होइन, मेरो नैतिकता र आत्मसम्मानका लागि पनि मैले राजीनामा दिनु उपयुक्त हुने ठानेको छु । त्यसैले मेरो राजीनामालाई सबैले स्वीकार्नु हुनेछ भन्ने विश्वास लिएको छु ।”

उहाँको राजीनामालाई प्रधानमन्त्री एन्टोनिओ कोस्टले स्वीकृत गर्नुभएको छ । राजीनामा स्वीकृत गर्दै प्रधानमन्त्री कोस्टले मन्त्री सोउसालाई सार्वजनिक रुपमा धन्यवाद दिनुभएको छ ।

“राजीनामा दिने सही निर्णय गरेकोमा र आफ्नोे जिम्मेबारी पूरा गर्नका लागि हरदम प्रयत्न गरेकोमा उहाँलाई धन्यवाद छ,” प्रधानमन्त्रीले भन्नुभएको छ ।

आगलागीपछिको संकटपूर्ण अवस्थामा व्यवस्थापन गर्न नसकेको, आगलागी नियन्त्रण गर्न नसकेको र आगलागी नियन्त्रणका लागि पूर्व तयारी राम्रोसँग नगरेको भन्दै मन्त्री सोउसाको सार्वजनिक रुपमा चर्को आलोचना भएको थियो ।

गत चार महिनामा मात्रै पोर्चुगलमा भएका आगलागीमा परी एक सयभन्दा बढीको मृत्यु भएको छ ।

यही आइतबार पोर्चुगलको उत्तर र मध्यक्षेत्रमा झण्डै ५०० ठाँउमा आगलागी भएको थियो । आगलागीमा परी कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टी गरेका छन् ।

यो भन्दा अगाडि पेड्रोगाओ क्षेत्रमा गत जुनमा भएको आगलागीमा परी ६४ जनाको मृत्यु भएको दाबी गरिएको छ ।

मंगलबार राति सयौँ प्रदर्शनकारीले राष्ट्रपति कार्यालयमा विरोध प्रदर्शन गरेका छन् । उनीहरूले मन्त्री सोउसालाई हटाउन माग गर्दै प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले आफ्नो आक्रोश र पीडा व्यक्त गरेका थिए । (रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्

Screenshot