Logo

लोकतान्त्रिक गठबन्धनको विपक्षमा कृष्णप्रसाद सिटौला, झापा ३ बाट प्रत्यक्ष चुनाव लड्ने उद्घोष



नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिले पार्टीभित्र तेस्रो वा युवा समुहको नेतृत्वसहित अगाडि बढ्ने प्रयास गरिरहेका छन् । गएको महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएर पराजित भएका सिटौला त्यसपछि पार्टीभित्र तेस्रो शक्तिको रुपमा स्थापित भएका छन् । पछिल्लो समय सिटौला प्रत्यक्ष चुनाव लड्न डराएर समानुपातिकको सुचिमा बसेको चर्चा चलिरहेको छ । अर्कोतिर वाम गठबन्धनपछि बन्न लागेको लोकतान्त्रिक गठबन्धनलाई सिटौलाले गलत राजनीतिक अभ्यासको रुपमा लिएका छन् । यिनै विषयवस्तुमा केन्द्रित रहेर सिटौलासँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाई किन समानुपातिक उम्मेदवारमा बस्नुभयो ?
म समानुपातिकमा गएको छैन । पार्टीले समानुपातिकमा नाम राखे पनि त्यो सच्याउने समय छ । पार्टीले मेरो नाम समानुपातिकबाट हटाएर प्रत्यक्षतर्फ नै राख्छ । यसअघि जस्तै अहिलेको चुनावमा पनि झापा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ चुनाव लड्छु । यसमा कुनै शंका नगरे हुन्छ ।

राप्रपासँग तालमेल भएर तपाईले झापा क्षेत्र नम्बर ३ छोड्नुभएको होइन ?
मैले बुझेसम्म उक्त क्षेत्रमा कुनै सहमति भएको छैन । लोकतान्त्रिक गठबन्धन निर्माणका लागि विभिन्न दलसँग छलफल भइरहेको छ । कुनै टुङ्गो लागिसकेको छैन । तर मेरो कुरा गर्ने हो भने झापा क्षेत्र नम्बर ३ बाट नै मेरो उम्मेदवारी हुन्छ । यसमा प्रष्ट भए हुन्छ ।

तपाईको नाम किन समानुपातिकको बन्द सूचिमा राखियो त ?
बन्द सूचिमा राखिएको नाम तपाईले कसरी देख्नुभयो ?

बाहिर सार्वजनिक भइसकेको छ नि ?
यो नपत्याउने कुरा किन गर्नुभएको ?

अब टिकट वितरणको कुरा गरौँ, कांग्रेसले कस्ता व्यक्तिलाई उम्मेदवार छनौट गर्दैछ ?
टिकट वितरणको सवालमा छलफल जारी नै छ ।

वाम गठबन्धनलाई कसरी लिनुभएको छ ?
मलाई अचम्म लागेको छ । एमाले र माओवादी फरक विचार र फरक दर्शन भएका दल हुन् । कार्यदिशा र लक्ष्य नै फरक भएका पार्टी हुन् । संविधानकै विषयमा पनि फरकफरक दृष्टीकोण भएका दल हुन् । चुनावी तालमेल र पार्टी एकता प्रक्रिया कसरी सम्भव भयो भन्ने लागेको छ ।

लोकतान्त्रिक गठबन्धनको प्रयासलाई के भन्नुहुन्छ ?
गठबन्धनको रोग काग्रेस लगायतका केही दलमा पनि सर्न लागेको छ । निर्वाचनको समयमा नेपालका प्रमुख राजनीतिक दलहरुले आफ्नो वैचारिक धरातलमा उभिएर स्पष्ट रुपमा जनताको बिचमा जानुपर्नेमा चुनावी तलमेलका आधार गएका छन् । यसरी जाँदाखेरी जुन दललाई जहाँ छोडिन्छ, त्यहाँ कसरी भोट मागिन्छ ? आफ्नो सिद्धान्त र नीति नै नमिल्ने पार्टीका लागि कसरी भोट माग्ने ? यो मैले बुझ्नै सकेको छैन ।

चुनावी रणनीति अनुसार गरिएको गठबन्धनले राम्रै नतिजा दिने विश्वास लिइएको छ । तपाईले त फरक विचार व्यक्त गर्नुभयो नि ?
यस्ता खालका तालमेलले नेपालको राजनीतिमा अन्योल खडा गर्छ भन्ने मलाई लाग्छ । आफूलाई वा आफ्नो पार्टीलाई जिताउने स्वार्थका कारण गठबन्धन गरिएको हो । यो सबै चुनावी स्वार्थका लागि गरिएको हो । चुनाव नै राजनीतिक दलको विचार प्रवाह गर्ने माध्यम हो । तर यही बेलामा गरिएको गठबन्धनले विचारबाट विचलित हुन सक्ने खतरा बढेको छ ।

तपाईं चुनावका बेला गठबन्धन वा चुनावी तालमेल गर्नुहुँदैन भन्ने पक्षमा हो ?
सैद्धान्तिक दृष्टीकोण र मान्यतालाई छोडेर चुनावी तालमेल गर्नु लोकतन्त्रको सही अभ्यास होइन । मेरो राजनीतिक दृष्टीकोणबाट कमल थापासँग चुनावी तालमेल गर्नुलाई सही मान्न सकिदैन । राप्रपाले राजतन्त्रको कुरा उठाएको छ । संविधानका कतिपय विषयमा पनि कुरा मिलेको छैन । कसरी उहाँहरुको झोला बोक्न सकिन्छ । नेकपा एमाले र माओवादीबिचमा पनि संविधानका विषयमा कुरा मिलेको पाइदैन । प्रचण्ड र ओलीको बिचारमा अत्यन्त फरक छ । अब अहिले आफ्नो पार्टीको कार्यकर्तालाई अर्को दलको झोला बोकाउन तम्सिएका छन् । कार्यकर्ता सिद्धान्तबाट विचलित हुने गरी कसरी झोला बोकाउनुहुन्छ ?



प्रतिक्रिया दिनुहोस्