Logo

धादिङ क्षेत्र नम्बर २ का कांग्रेस र एमाले उम्मेदवारबिच आरोप–प्रत्यारोप, यस्ता छन चुनावी एजेण्डा



१२ कात्तिक, काठमाण्डौ । धादिङ क्षेत्र नम्बर २ बाट आगामी चुनावका लागि उम्मेदवार बनेका कांग्रेस र वाम गठबन्धनका नेताहरुले जिल्ला विकास हुन नसक्नुको दोष एक अर्कालाई लगाएका छन् । विगतमा जे जस्तो भए पनि अबका दिनमा धादिङलाई विकसित बनाउनका लागि के योजना छन् भनेर नेपाली कांग्रेसका उम्मेदवार रमेश धमला र वाम गठबन्धनका उम्मेदवार डा. रामकुमार अधिकारीसँग ऋषि धमलाले कुरा गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीका क्रममा नेताद्धयले दिएको जवाफको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार रमेश धमला : अहिलेको राजीतिक समस्या भनेको लोकतन्त्रलाई कसरी संस्थागत गर्ने भन्ने हो । संघीयतालाई बलियो बनाउँदै जनतालाई समृद्धिको अनुभूति दिनका लागि कुनकुन मुद्दाहरु अगाडि लैजाने भन्ने कुरा महत्वपूर्ण छ । शिक्षा, स्वास्थ्य, यातायात, संचार लगायतका क्षेत्रमा दूर दराजमा रहेका जनताहरुले विकासको अनुभूति गर्न पाएका छैनन् । धादिङको सन्दर्भमा कुरा गर्दा सडकको अवस्था कमजोर भएकाले विकराल समस्याको रुपमा देखिएको छ । ठूला ठूला दुर्घटना भइरहेका छन् ।
यस्ता घटना राजनीतिक अस्थिरताको उपज हो । सरकारले नियमन र कारबाही गर्न नक्दा दुर्घटना बढिरहेको छ ।
स्वास्थ्य सेवा पनि कमजोर छ । गगन थापाको पहलमा भएको स्वास्थ्य बिमालाई यस जिल्लामा कार्यान्वयन गराउनुपर्ने छ ।
हामीसँग शिक्षित समुदाय छ, तर रोजगारीको अवसर छैन । यि समस्या समाधानका लागि मेरो उम्मेदवारी हो ।

वाम गठबन्धनका उम्मेदवार डा. रामकुमार अधिकारी : धादिङका जनताको प्रतिव्यक्ति आय ६ सय ४ डलर छ । जबकी विश्वका अविकसित राष्ट्रका जनताको सरदर आय पनि ९ सय ६० डलर छ । त्यसैले धादिङ जिल्लाका जनतालाई समृद्धिको अनुभूति गराउनुपर्ने चुनौति हामीमाझ छ । धादिङमा स्वास्थ्य सेवाको पहुँच सर्वसुलभ बनाउनका लागि ६ सय बेडको अस्पतालको आवश्यकता छ । अहिले एक सय बेडको अस्पताल पनि छैन ।
प्रजातन्त्र आएको २६ वर्ष भयो । यो अवधिमा १७ वर्ष नेपाली कांग्रेसले सरकार चलायो । किन विकास हुन सकेन ? कांग्रेसले विकास गर्न नसकेको हो ।
अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाएर स्वास्थ्य,पर्यटन, शिक्षा, उर्जा, कृषि लगायतका क्षेत्रमा विकास गर्ने मेरो योजना छ ।

नेपाली कांग्रेसका उम्मेदवार रमेश धमला : धादिङ जिल्लामा पटक पटक नेकपा एमालेका नेताहरुलाई जनताले भोट हालेर जिताएका छन् । मुलुकलाई राजनीतिक निकास दिने सन्दर्भमा नेपाली कांग्रेसले अग्रणी भूमिका निर्वाह गरेको छ । तर ४६ सालको परिवर्तनपछि धादिङ जिल्लाको कुरा गर्ने हो भने ४८ सालमा एमालेले २ ठाउँमा जित्दा कांग्रेसले १ ठाउँमा जित्यो । मध्यावधी निर्वाचनमा तीनै ठाउँमा एमालेले जित्यो । ५६ मा एमाले र कांग्रेसले १–१ ठाउँमा जितेको हो । ६४ मा एमाले र कांग्रेस दुवै बढारियो । ७० को चुनावमा एमालेले सबै ठाउँमा जित्यो । काम चाँही के गर्नुभयो त ? कांग्रेसले नेतृत्व गरेको अधिकांश समय त देश द्धन्द्धको भूमरीमा थियो । काम गर्न सक्ने स्थिती थिएन । नेपाली कांग्रेसले नै आर्थिक विकासका लागि तीन खम्बे नीति लिएर विकासको बाटो खुलाएका छौँ ।

वाम गठबन्धनका उम्मेदवार डा. रामकुमार अधिकारी : यो कुरा एकदमै गलत छ । म असहमत छु । सत्ताको बागडोर कांग्रेसले लिने, साधन र स्रोतको केन्द्र कांग्रेसमा नै थियो । अनि दोष अर्कालाई लगाएर हुन्छ ?

नेपाली कांग्रेसका उम्मेदवार रमेश धमला : आगामी चुनावका लागि गरिएको वाम गठबन्धनले साम्यवादी चिन्तन ल्याउन खोजिरहेको छ । अहिले पनि वाम गठबन्धनको औचित्य पुष्टी हुन सकेको छैन । एमाले र माओवादीको अन्तिम गन्तव्य भनेको साम्यवाद हो । त्यसलाई रोक्नुपर्ने चुनौति कांग्रेसमा आएको छ । यसलाई जनताले साथ दिनेछन् । लोकतन्त्रको विकल्पमा अरु कुनै व्यवस्था हुन सक्दैन ।

वाम गठबन्धनका उम्मेदवार डा. रामकुमार अधिकारी : वाम गठबन्धनले साम्यवादी व्यवस्था ल्याउन खोज्दैछ भनेर गरिएको प्रचार गलत छ । वाम गठबन्धनको एजेण्डा राष्ट्रियता र स्वाधिनता कायम गर्ने हो । क्षेत्रीय अखण्डता र सार्वभौमसत्ता सम्पन्न गराउनका लागि गठबन्धन गरिएको हो । त्यस्तै दोस्रो एजेण्डा भनेको लोकतन्त्रलाई संस्थागत गर्दै नेपाललाई समृद्धिको बाटोतर्फ लैजाने हो ।

राजधानी काठमाण्डौको छिमेकी जिल्ला भएर पनि धादिङमा विकास हुन सकेको छैन । बत्तिमुनीको अँध्यारो भएर धादिङ जिल्लाले विकासका योजना पाउन सकेको छैन । यस जिल्लालाई अँध्यारो बनाउने कामलाई समाप्त पारेर देशकै सुन्दर र चर्चित केन्द्र बनाउनका लागि मैले उम्मेदवारी दिएको हुँ । मसँग त्यो इच्छाशक्ति छ । यदी मैले चुनाव जितेँ भने योभन्दा अगाडि अरुले गरेको कामभन्दा बढि गरिने भने मलाई प्रश्न गर्नुहोला ।

नेपाली कांग्रेसका उम्मेदवार रमेश धमला : धादिङ जिल्ला बत्ति मुनीको अँध्यारो भयो भनेर मात्रै हुँदैन । यसअघि अधिकतम समय एमालेले जितेको छ । उहाँहरुले धादिङको नेतृत्व गर्नुभएको छ । तर काम गर्न सक्नुभएन । नेपाली कांग्रेसका रामनाथ अधिकारीलाई जनताले जिताउँदा धादिङ सदरमुकाममा क्याम्पस स्थापना भयो । कांग्रेसले नै हरेक गाविसमा स्वास्थ्य चौकी हुनुपर्छ भनेर प्रस्ताव गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्