Logo

झापा क्षेत्र नम्बर १ मा विश्वप्रकास भर्सेज राम कार्की, कसले मार्ला बाजी (संयुक्त अन्तरवार्ता)



कात्तिक १९, काठमाण्डौ । झापा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसले युवा नेता विश्वप्रकाश शर्मा र वाम गठबन्धनले वौद्धिक नेता राम कार्कीलाई उम्मेदवार बनाएको छ । यि दुवै उम्मेदवार जनतामाझ लोकप्रिय मानिन्छन् । यिनै दुई उम्मेदवारसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
विश्वप्रकाश शर्मा :

विश्वप्रकाश शर्मालाई झापा क्षेत्र नम्बर १ का मतदाताले किन भोट हाल्ने ?
नेपाली कांग्रेसको उम्मेदवारको रुपमा अघिल्लो निर्वाचनमा थोरै मतले उपविजेता भएर पनि निरन्तर मतदाताकोबिचमा गइरहेको छु । मतदाताको मन जित्ने काम गरेको छु । मतदाताले व्यक्तिगत रुपमा छनौट गर्दा पनि मलाई नै छान्नुहोला कि भन्ने कुरामा विश्वस्त छु ।

वामपन्थीहरु एक भएर तपाईको विरुद्धमा उम्मेदवारी दिएका छन् । कसरी जित्नुहुन्छ ?
दुई र दुईलाई सिधा रुपमा जोड्दा गणितीय हिसाबले चार हुन्छ । तर राजनीतिमा पाँच पनि हुन सक्छ । तीन मात्रै पनि हुन सक्छ । कम्युनिष्ट आन्दोलनका दुई धारका दलहरु एक भएर चुनावमा लडेकोमा हामीले शुभकामना दिएका छौँ । शुभकामना दिइरहँदा लोकतान्त्रिक अभ्यासका पक्षमा हामी निरन्तर उभिरहेको हुँदा राजनीतिमा रुपान्तरण हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसैले मतदाताले लोकतन्त्रका पक्षमा मतदान गर्छन् भन्ने हाम्रो विश्वास छ ।

कम्युनिष्टहरुको गढमा गएर चुनाव लड्दा विश्वप्रकासलाई हराइदिए भने के गर्ने ?
कुन राजनीतिक दलको जन्म कुन भूमिमा भयो भन्ने कुराले धेरै फरक पार्दैन । सधैँ त्यो भूमि त्यही दलको हुन्छ भन्ने हुँदैन । अर्को कुरा राजनीतिमा गढ वा किल्ला भन्ने हुँदैन । मतदाताको मन र भावना फरक हुन्छ । म हार्दिकताका साथ चुनावी मैदानमा छु । मेरो प्रतिस्पर्धी राम कार्की वैचारिक र राम्रो व्यक्ति हुनुहुन्छ । उहाँलाई मैले हार्दिक सम्मान र स्वागत गर्दछु ।

तपाई केपी शर्माको क्षेत्रमा चुनाव लड्न डराएर राम कार्कीसँग प्रतिस्पर्धा गर्न आउनुभएको हो ?
मलाई झापा ५ बाट केपी ओलीसँग नै प्रतिस्पर्धा गर्ने हो कि भन्ने सल्लाह, छलफल भएको थियो । तर म केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न गएको भए मैले मेरो थाकथलो गुमाउँथे । जुन भूगोलमा म जन्मे, जहाँ म बाँचे, त्यहाँ नै मेले जित्ने पनि र हार्ने पनि हो । म मर्ने पनि त्यहीँ हो । त्यसैले यो क्षेत्र छोडेर केपी ओलीसँग प्रतिस्पर्धा जानैपर्छ भन्ने कुनै कारण छैन ।

राम कार्कीले त विश्वप्रकाश शर्मालाई हराउँछु भन्नुभएको छ नि ? विश्वप्रकाशले विकास गर्न सक्दैनन्, म गर्छु भन्नुभएको छ ?
उहाँले त्यस्तो भन्नुभयो भन्नेमा मलाई विश्वास लाग्दैन । तपाईले भनेको कुरालाई आधार मानेर म विश्वास गर्दिन । किनकी विकास कुनै अमुक व्यक्तिले गर्ने अर्को अमुक व्यक्तिले नगर्ने भन्ने हुँदैन । राजनीतिमा कसैले कसैलाई हराउने भन्ने हुँदैन । उहाँ एउटा असल व्यक्ति हुनुहुन्छ । मैले सम्मान गर्नुपर्ने मेरो दाजु समानको व्यक्ति हुनुहुन्छ । उहाँलाई कतिपयले पाहुना, टुरिष्ट भनेका छन्, राजनीतिमा त्यसो भन्नु हुँदैन । उहाँलाई श्रद्धा गर्नुपर्छ । उहाँले जित्नुभयो भने म आफै गएर फूलको माला लगाइदिएर बधाई दिनेछु ।

कार्कीले त कांग्रेसले विकास होइन, विनाश मात्रै गर्छ भन्ने आरोप लगाउनुभएको छ ?
नेपाली कांग्रेसले रोजेको लोकतन्त्रको बाटोमा आज सबै दल हिँडेका छन् । कांग्रेसकै प्रयत्नमा शान्ती र संविधानको सुनिश्चितता भएको हो । कांग्रेसकै नीतिका कारण नेपालमा निजी क्षेत्रले फड्को मारेको हो । हिंसा र अस्थिरताका बाबजुद पनि धेरै विकास निर्माणका काम भएका छन् ।

तर जसरी विकास हुनुपथ्र्यो, त्यसरी भएको छैन नि ?
निश्चय नै हुन सकेको छैन । हिंसा र अस्थिरताका बिच तपाईकै गृहजिल्ला धादिङको ज्यामरुङमा बाटो, विजुली र पानी पुगेको छ । जहाँ बहुदल आउनुअघि केही पनि पुगेको थिएन ।

तपाईको एजेण्डा के छ ?
राजनीतिमा एउटै मात्रै एजेण्डा हुँदैन । विकास र समृद्धिको कुरासहित समाजलाई जोडेर लानका लागि पहिचानका कुरा हाम्रा एजेण्डा हुन् । नागरिकमा विश्वास र आशा जगाउने कुरा पनि महत्वपूर्ण हुन्छ । दलप्रति मात्र नभै देशप्रति नै विश्वास दिलाउने कुरा पनि एजेण्डा हुन् । मान्छेलाई नेपाली कांग्रेस होइन, नेपाली बन्न प्रेरित गर्ने कुरा हाम्रा एजेण्डा हुन् । समृद्ध समाजको खोजी हाम्रो संकल्प हो । यही नै हाम्रो एजेण्डा हो ।

नेपालमा कम्युनिष्ट शाषस ल्याउन खोजिएको आशंका गर्न थालिएको छ । तपाईलाई के लाग्छ ?
नेपालमा चलिरहेका गाडी, टाँगा, प्लेन कुनै पनि चढेर कम्युनिष्ट शासन आउँदैन । साम्यवाद आउँदैन । नेपालका कम्युनिष्ट दलहरुलाई शास्त्रीय ढंगले बुझ्नु पनि गलत हुन्छ । लोकतान्त्रिक रुपान्तरण भइसकेको र जनताको बहुदलीय जनवाद अंगालेको, स्वतन्त्र न्यायालय स्विकार गरेको, स्वतन्त्र प्रेसलाई स्विकार गरेका दलहरुले कम्युनिष्ट शासन ल्याउन सक्दैनन् ।

माधव नेपालले त कांग्रेस अब प्रजा परिषद् जस्तै हुन्छ भन्नुभएको छ नि ?
राजनीति गर्ने मानिसले जहिले पनि वर्तमान र भविष्य हेरेर बोल्नुपर्छ । माधव नेपाललाई लाग्यो होला, कांग्रेस शुन्यमा परिणत हुन्छ भन्नुभयो होला । उहाँले भन्नुभयो भनेर मैले पनि नेपालको कम्युनिष्ट आन्दोलनका विषयमा त्यस्तै शब्द प्रयोग गर्नुपर्छ भन्ने लाग्दैन । मैले बुझेको माधव नेपाल उच्च पोजिसनमा हुनुहुन्छ । कुनैबेला उहाँ प्रधानमन्त्री बन्दै गर्दा कांग्रेसकै प्रस्तावमा बन्नुभएको थियो । यो कुरा सबैले जान्दछ । सँगै आन्दोलन गरेको दललाई प्रजापरिषद बन्छ भन्नुभयो भने यो उहाँको कुरा हो ।

राम कार्की :

झापा १ नम्बर क्षेत्रमा कसले बाजी मार्छ ?
जनताकै जित हुन्छ । जनताको जित हुने आधार भनेको पहुरखी जनताको बाहुल्यता भएको क्षेत्र हो । विभिन्न क्षेत्रमा हन्डर खाएका र दुःख पाएका जनताको क्षेत्र हो । पहाडबाट झरेका, आदिवासी जनजाती भएको क्षेत्र हो ।

तर विश्वप्रकास शर्माको लहर आएको भनिएको छ नि ?
भूगोल र आकासमा लहर आएको भए मलाई थाहा छैन । अहिले लहरै त कसैको पनि आएको छैन । अहिले वामपन्थीको मत प्रबल छ । कम्युनिष्टहरुको आधारको रुपमा यो क्षेत्रले काम गरेको छ । लामो समय मैले झापामा काम गरेको छु । कुनै पनि जिल्ला वा क्षेत्र मेरो वा तेरो भन्ने हुँदैन । जब राजनीतिमा मानिसले कुनै साहारा पाउँदैन, त्यतबेला धर्म, जात, गोत्र र इलाकाको साहारा लिन्छ । हामी त्यस्तो साहारा लिने स्थितीमा छैनौँ । हामी सिङ्गो देशको साहारा लिन्छौँ । यहाँको भूगोल र रुख साझा हुन् ।

तपाई झापा क्षेत्र नम्बर १ का जनतासँग केका लागि मत माग्नुहुन्छ ?
नेपाललाई अग्रगमनमा लगेर गणतन्त्रलाई संस्थागत गर्दै प्रजातन्त्रलाई तल्लो तहमा लैजानका लागि मत माग्छु ।

झापा शीर्ष नेताहरुको जन्मस्थान भएर पनि विकास हुन सकेन नि ?
शासनमा कांग्रेस भएसम्म कसरी विकास हुन्छ । विकास र कांग्रेस विरोधी चिज हुन् । कांग्रेसले नेपालका सबै उद्योग कलकारखानालाई खरानी बनायो ।

कांग्रेस त खुला अर्थतन्त्रको पक्षधर हो नि ?
फिस्टोले रुख झुकाएँ भन्दा खुट्टै देख्दा पत्याएँ भने जस्तै हो । कांग्रेसको शासनकाल जनताले हेरेकै छन् नि ।

कांग्रेसकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्नुभयो । एकसाथ आन्दोलन गर्नुभयो । शान्ती सम्झौता गर्नुभयो । तपाईहरुको नीति चाँही के हो त ?
कम्युनिष्टहरुको नीति दुईवटा छन् । एउटा कार्यनीति अर्को रणनीति । आज एमालेसँग जे हुँदैछ, त्यो रणनीति हो । नेपाली कांग्रेससँग भनेको कार्यनीति हो । कार्यनीतिक एकता त भविष्यमा पनि हुन सक्छ ।

एमालेसँग पार्टी एकता हुन्छ त ?
हुन्छ । सम्पूर्ण कार्यकर्ताहरु एकताको पक्षमा छन् । एकताको विरुद्धमा कोही पनि जान सक्दैन । केही समस्याहरु हल गर्दै जानुपर्छ ।

तपाईहरुले कम्युनिष्ट शासन ल्याउन पहल गर्नुभएको हो ?
कम्युनिष्ट शासनभन्दा पनि नेपाललाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा हामी केन्द्रित छौँ । विभेदलाई अन्त्य गर्दै सम्पन्न मुलुकको दाँजोमा नेपाललाई पु¥याउनका लागि हामी केन्द्रित छौँ ।

नेपालमा कम्युनिष्ट शासन आउन सक्छ ?
कम्युनिष्ट शासन केलाई भन्ने ? हरेक वाद र विचारधारामा परिमार्जन हुन्छ । कमी कमजोरीलाई हटाइन्छ । साम्यवाद भनेको प्रजातन्त्रकै परिवर्तित रुप हो । साम्यवादमा त देश पुग्न सक्दैन । तर हामीले नेपाल सुहाउँदो समाजवादी कार्यक्रम ल्याएर नेपाललाई सम्पन्न बनाउन सक्छौँ ।

तर नेपाली कांग्रेसले नेपाललाई वामपन्थीहरुले उत्तर कोरिया र कम्बोडिया बनाउन खोज्दैछन् भन्ने आरोप लगाएका छन् नि ?
धरै कुरा सुनिन्छ । सबै कम्युनिष्ट देशहरु विपन्न छन् भनेको पनि सुनेँ । हाँसो उठ्यो । चिनले अमेरिकालाई जित्दैछ । तर हामी कुनै पनि देशको शासन पद्धति लागु गर्दैनौँ । शासन व्यवस्था नक्कल गरेर ल्याउनु भनेको जुत्ताको नाप हेरेर खुट्टा काट्नु जस्तै हो । हामी त्यो गल्ती गर्दैनौँ । नेपालकै वस्तुस्थिती अनुसार समाजवादी कार्यक्रम लागु गछौँ ।



प्रतिक्रिया दिनुहोस्