Logo

रविन्द अधिकारीलाई देवराज चालिसेको चुनौति, “के पाए पोखराबासीले ? त्यो जवाफ मागेको छ पोखराले ।”



कात्तिक २६,काठमाण्डौ । कास्की क्षेत्र नम्बर २ का वाम गठबन्धनका उम्मेदवार रविन्द्र अधिकारी र कांग्रेसका उम्मेदवार देवराज चालिसेबिच प्रतिस्पर्धा हुँदैछ । दुवै उम्मेदवारले जनताको मन जितेर चुनाव जित्ने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रममा ऋषि धमलासँग कुरा गर्दै वाम गठबन्धनका उम्मेदवार रविन्द्र अधिकारीले जनताको चाहनाअनुसार आफूले चुनाव जित्ने दाबी गरे ।

विकास र समृद्धिका लागि वाम गठबन्धनको जित र सरकार दुवै जनताले चाहेको दाबी गर्दै अधिकारीले प्रतिस्पर्धीको बारेमा टिका टिप्पणी गर्न नचाहेको बताए । जनताको मन जसले जित्नसक्छ, उसैले चुनाव जित्ने तर्क अधिकारीको छ । कास्कीको ३ वटा प्रतिनिध सभा र ६ वटा प्रदेशसभा सबैमा बाम गठबन्धनले जित्ने दाबी अधिकारीको छ ।

यसअघि एमाले एक्लैले जितेको ठाउँमा अहिले गठबन्धन भएपछि झन मजबुत भएको बताउँदै अधिकारीले आफ्नो जित सुनिश्चित भएको जिकिर गरे ।
कांग्रेसका उम्मेदवार देवराज चालिसेले भने वाम गठबन्धन भन्ने शब्द नै खारेज गर्नुपर्ने भन्दै एमाले–माओवादीले रोजेको बाटो बामपन्थी नभएको जिकिर गरे ।
यसपटकको चुनावको मुद्धा जनताको स्वतन्त्रता र लोकतन्त्रको रक्षा भएकाले दुई तिहाईको दम्ब नदेखाउन अधिकारीलाई चालिसेले सचेत गराए । विगतमा मदन भण्डारीको जबजको अवधारणा मन पराएर मत दिने ठूलो जमातले यसपटक कांग्रेसलाई मतदान गर्ने चालिसेको दाबी छ ।

लोकतन्त्रको रक्षाका र समृद्धिको यात्राका लागि जनताले कांग्रेसलाई मतदान गर्ने चालिसेको विश्वास छ । कम्युनिष्ट शब्दबाट विश्व नै आत्तिएको, कम्युनिष्ट सत्ताबाट सभ्यता र मानिसको आस्था अत्तालिएको उदाहरण दिदै चालिसेले यसपटक नेपाली जनताले विवेक प्रयोग गर्ने बताए ।
नेपालका कम्युनिष्टहरुले आफूलाई कम्युनिष्ट भन्न नसकेर वामपन्थी भन्ने गरेको बताउँदै चालिसेले लोकतन्त्रवादी भन्दै एमाले–माओवादीले जनतामाथि भ्रम छरेको आरोप लगाए ।

अधिकारीले भने नेपालमा मात्र नभै विश्वमा नै कम्युनिष्टहरु नयाँ ढंगले सुदृढ भएर आएको बताए ।
“हामी त्यस्तो समाजवादको पक्षमा छाँै, जुन समाजवाद प्रजातान्त्रिक हुन्छ । समाजवादसहितको लोकतन्त्र हुन्छ । हामी प्रजातान्त्रिक छौँ ।” अधिकारीले भने ।
आफूहरुले दुई तिहाई बहुमत ल्याउँदा कुनै चिन्ता मान्नु नपर्ने तर्क अधिकारीको छ ।

अधिकारीले आफु सासंद हुँदा देशकै विकासका लागि महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनाउने लगायतका महत्वपूर्ण भौतिक पूर्वाधारको विकासमा केन्द्रित भएको बताए ।
चालिसेले भने अधिकारीको दाबीलाई प्रमाणित गर्ने कुनै आधार नभएको बताए ।

“विकासका कुरा धेरै भएका छन् । काम भएको छैन । कुरा गर्दैमा विकास हुने यस्ता विकास ३० वर्षे पञ्चायती व्यवस्थामा धेरै हुने थिए ।” चालिसेले भने ।
जनताले कामको परिणाम खोजेको भन्दै चालिसेले प्रश्न गरे, “के पाए पोखराबासीले ? त्यो जवाफ मागेको छ पोखराले ।”
सरकारले दिने नियमित बजेटबाहेक अरु केही नपाएको चालिसेको जिकिर छ ।

 



प्रतिक्रिया दिनुहोस्