Logo

सुरक्षाको कमजोरीका कारण चुनाव विरोधी कुनै पनि गतिविधि हुँदैन : मनोज न्यौपाने, प्रवक्ता, नेपाल प्रहरी



मनोज न्यौपाने, प्रवक्ता, नेपाल प्रहरी
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा सुरक्षा संवेदनशीलता बढ्दै गएको छ । उम्मेदवारहरुमाथि नै बम र एम्बुस आक्रमण भइरहेका छन् । चुनावका बेला असुरक्षा बढ्दै गएपछि सुरक्षा निकाय चनाखो बन्दै गएको छ । उम्मेदवार र मतदाता कत्तिको सुरक्षित छन् भन्ने कुरा यतिखेर प्रमुख विषय बनेको छ । यसै सम्बन्धनमा पत्रकार ऋषि धमलाले नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेसँग अन्तरवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि लिइएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

मतदाताहरु कत्तिको सुरक्षित छन् ?
मतदाताहरु एकदम सुरक्षित छन् । हामीले सुरक्षाको प्रत्याभूति पूर्ण रुपमा गराएका छौँ ।

तर उम्मेदवारहरु असुरक्षित देखिएका छन् ?
सुरुका दिनमा केही ठाउँमा उम्मेदवाहरुमाथि आक्रमण भए । तर त्यस्ता आक्रमण प्रहरी इकाईहरु नभएका ठाउँमा भएका हुन् । तर्साउने प्रयास भएको थियो । अहिले ६ हजारभन्दा बढि उम्मेदवाहरु सुरक्षित छन् । हामीले सबै उम्मेदवाहरुको सुरक्षाको व्यवस्था मिलाएका छौँ ।

सुरक्षाको व्यवस्था कसरी मिलाउनुभएको छ ?
सुरक्षाको विभिन्न रणनीति लागु गरिएको छ । ९८ हजारभन्दा बढि म्यादी प्रहरी खटाइएको छ । मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी खटिन्छन् । रिजर्भ फोर्सहरु पनि छ । स्टकिङ फोर्स पनि छ । मोबाइल र पैदल गस्ती परिचालन गरिएको छ । सादा पोषाकमा पनि प्रहरी खटिएका छन् । आवश्यक परेको खण्डमा हवाई गस्तीका लागि पनि तयारी अवस्थामा छौँ ।

उम्मेदवाहरुमाथि बम प्रहार र एम्बुस थाप्ने काम भएको छ । यो कसले गरिरहेको छ ?
अहिले जुन विष्फोटन भए, ति सबै कसले गरेको हो भन्ने कुरा अनुसन्धानका क्रममा छ । निर्वाचनका कार्यक्रम विथोल्न खोज्ने ४ सय ३ जनामाथि अनुसन्धान भइरहेको छ । यसमा अधिकांश विप्लव माओवादीका कार्यकर्ता छन् ।

अनुसन्धान त गर्नुभएको छ । तर अहिलेसम्म कसले त्यस्ता गतिविधि गरे भन्ने किन पत्ता लाग्न सकेन ?
प्रत्येक घटनाहरु अनुसन्धानका क्रममा रहेका छन् । अहिले नै के हो भन्ने कुरा भन्न सकिदैन । अनुमान गर्ने भन्ने कुरा बेग्लै हो । तर प्रष्ट नभएसम्म बाहिर आउन सक्दैन ।

निर्वाचनका लागि सबै सुरक्षा निकाय परिचालन भएको छ । कुन निकायको कस्तो भूमिका हुन्छ भन्ने मापदण्ड छ ?
मापदण्ड त गृह मन्त्रालयले बनाउने हो । म नेपाल प्रहरीको मात्र कुरा गर्छु । नेपाल प्रहरी सबै ठाउँमा खटिएको छ । सबै उम्मेदवारलाई सुरक्षा प्रदान गरिएको छ । प्रत्येक उम्मेदवार नेपाल प्रहरीको सम्पर्कमा हुनुहुन्छ । नेपाल प्रहरीले प्रत्येक मतदान केन्द्रमा सुरक्षा प्रदान गर्छ । मतदान अधिकृतसँगको समन्वयमा सुरक्षा व्यवस्था मिलाउँछौँ ।

नाकाको सुरक्षा कसरी गर्नुभएको छ ?
हिजोदेखि भारतसँगको नाकाहरु पनि बन्द भएको छ । पहिलो चरणमा चुनाव हुने जिल्लासँग सम्बन्धित जिल्लाहरुमा पर्ने सबै नाका बन्द गरिएको छ । चुनावको भोलिपल्ट नाका खुल्छ ।

मौन अवधिमा उम्मेदवाहरुले आचारसंहिता उल्लङ्घन गरे भने नेपाल प्रहरीले के गर्छ ?
आचारसंहिता विपरित चुनावी कार्यक्रम गर्ने उम्मेदवारलाई निर्वाचन आयोगले नियमन गर्छ । आयोगले माग गरेअनुसार हामीले प्रहरी उपलब्ध गराउँछौँ । निर्वाचन अधिकृतको आदेश अनुसार त्यस्ताव उम्मेदवारलाई नेपाल प्रहरीले कारबाही गर्छ ।

नेपाली सेना पनि चुनावको सुरक्षाका लागि खटिएको छ । नेपाल प्रहरी र सेनाबिचमा समन्वय भएको छ ?
सबै सुरक्षा निकायबिचमा समन्वय हुन्छ ।

राजनीतिक दलबाट प्रहरी प्रभावित हुन्छ कि हुँदैन ?
हुँदैन । नेपाल प्रहरी कुनै पनि समयमा राजनीतिक दलबाट प्रभावित भएर काम गर्दैन ।

चुनावमा धाँधली हुनबाट कसरी जोगाउनुहुन्छ ?
सुरक्षाको कमजोरीका कारण चुनाव विरोधी कुनै पनि गतिविधि हुँदैन । मतदान केन्द्रमा धाँधली हुन सक्ने सम्भावना नै छैन । यो परिकल्पना मात्रै हो ।



प्रतिक्रिया दिनुहोस्