Logo

जनता भन्छन् खानेपानी, नेता भन्छन् राजधानी



सुशील दर्नाल : सुनसरी, धरान, १० मंसिर (रासस) : सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवारले धरान बजारलाई राजधानी बनाउने मुख्य चुनावी मुद्दा बनाइरहेको सन्दर्भमा यहाँका जनताले भने खानेपानीको माग गरेका छन् ।

सुनसरी क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार जयकुमार राई र लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार अशोक राईले धरान बजारलाई प्रदेश नम्बर १ को राजधानी बनाउने विषयलाई पहिलो चुनावी मुद्दा बनाएका छन् ।

तर जनताले भने राजधानीभन्दा पनि बाटो÷घाटो, पुल, खानेपानी, रोजगारी, स्वास्थ्य र शिक्षालाई पहिलो मागका रूपमा अघि सारेका छन् । “अहिले हाम्रो नभई नहुने आवश्यकता भनेको सडक हो, यही सडक राम्रो भएको खण्डमा गाउँको उत्पादन धरान बजारसम्म पु¥याउन सकिन्छ, आम्दानी गर्न सकिन्छ, सजिलोसँग शहरसम्म पुग्न सकिन्छ” – धरान उपमहानगरपालिका–४ शिवजट्टाका प्रेमलाल राईले भन्नुभयो ।

धरान उपमहानगरपालिका–४ शिवजट्टाका धीरन राईले यहाँ अहिले हामीलाई खानेपानीको समस्या छ, यही पानीको व्यवस्था भएको खण्डमा राम्रोसँग कृषि उत्पादन गर्न सकिन्छ भन्नुभयो ।

प्रेम र धीरन जस्तै धरान उपमहानगरपालिकाका अधिकांश जनताको माग खोलामा पुल, बाटो र खानेपानीमा जोड दिएका छन् ।

वाम गठबन्धनका उम्मेदवार राईले आफूले जितेको खण्डमा मात्र धरान १ नम्बर प्रदेशको राजधानी बन्न सक्ने दाबी गर्नुभयो । सुनसरीमा आगामी मंसिर २१ गते चुनाव हुँदैछ । राई .नेकपा (एमाले) जिल्ला सदस्य एवं धरान सहइञ्चार्ज हुनुहुन्छ ।

अशोक संघीय समाजवादी फोरमका वरिष्ठ नेता हुनुहुन्छ । त्यसैले लोकतान्त्रिकका साझा उम्मेदवार अशोक राईले ऐतिहासिक रूपले नै धरान राजधानी रहेको हुँदा अब संघीयतामा पनि १ नम्बर प्रदेशको राजधानी बनाउने बताउनुभयो ।

प्रदेशसभा (क) मा वाम गठबन्धनको तर्फबाट एमालेका जिल्ला सचिवालय सदस्य एवं धरान इञ्चार्ज प्रदीप भण्डारी र प्रदेशसभा (ख) मा एमालेका प्रभावशाली नेता केन्द्रीय सचिव एवं पूर्व पर्यटनमन्त्री भीम आचार्य हुनुहुन्छ ।

त्यसैगरी लोकतान्त्रिक गठबन्धनबाट प्रदेश (क) मा नेपाली काँग्रेस धरानका निवर्तमान सभापति किशोर राई र प्रदेशसभा (ख) मा पनि लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका पूर्वजिल्ला सचिव बुद्धिबहादुर कटवाल उम्मेदवार हुनुहुन्छ ।

धरान उपमहानगरपालिकासहित सुनसरीको निर्वाचन क्षेत्र नं १ लाई नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को पकटका रूपमा हेरिन्छ । यो क्षेत्रमा पहिलो संविधानसभा (२०६४) र त्यसपछिका सबै निर्वाचनमा माओवादी र एमाले नै विजयी हुँदै आएको छ ।

यो क्षेत्रमा अन्य क्षेत्रीय पार्टीबाट पनि उम्मेदवारी छ । २०७० मा एमाले पहिलो, काँग्रेस दोस्रो र माओवादीले तेस्रो मत पाएको थियो भने तत्कालीन संघीय समाजवादी पार्टीले तीन हजार ५०० को हाराहरीमा मात्र मत पाएको थियो ।

गएको स्थानीय तह निर्वाचनमा हालको निर्वाचन क्षेत्र १ मा एमालेको ३० हजार, काँग्रेसको २४ हजार, माओवादी केन्द्रको १५ हजार र समाजवादी फोरमको पाँच हजार हाराहारीमा मत पाएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot