Logo

डोल्पाका नौ मतदानस्थलका मतपेटिका संकलनमा समस्या



काठमाडौं १३ मंसिर ।
पहिलो चरणमा निर्वाचन भएका ३२ मध्ये ३१ जिल्लाका मतदानस्थलका मतपेटिका सदरमुकाम आइपुगेका छन् । निर्वाचन आयोगका अनुसार डोल्पाका नौ मतदानस्थलका मतपेटिका सदरमुकाम ल्याउने प्रयास भइरहेको छ । २९ सय १७ मध्ये अब नौ मतदानस्थलका मतपेटिका आउन बाँकी रहेको हो । मौसमका कारण हेलिकोप्टर सदरमुकाम पुगे पनि अत्यधिक हावा चलेका कारण उडान हुन नसक्दा मतपेटिका बुधबार मात्र ल्याउने तयारी छ ।

सर्लाही ४ मा के हुन्छ ?
आयोगले सर्लाही ४ का माओवादी केन्द्रका उम्मेदवार शिवपूजन राय यादवको उम्मेदवारी रद्द गरेको छ । उनको उम्मेदवारी रद्द भएपछि सो क्षेत्रमा के हुन्छ भन्ने जिज्ञासा उठिरहेका वेला आयोगले निर्वाचन गराउन कुनै बाधा नपर्ने स्पष्ट पारेको छ । सो क्षेत्रका लागि मतपत्र पहिला छापिएकै प्रयोग हुनेछन् । छापिएका मतपत्रमा रायको चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौडा पनि छ । छापिएको मतपत्र रद्द हुनेछैन । प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले सर्लाही ४ मा नयाँ मतपत्र नछापिने जानकारी दिए । रायको उम्मेदवारी रद्द गर्ने विषयमा आयोगमा निकै रस्साकस्सी चलेको थियो । प्रमुख आयुक्त डा. यादवले रायको उम्मेदवारी रद्द गर्ने निर्णयमा हस्ताक्षर गरेका छैनन् । निर्णयपुस्तिकामा प्रमुख आयुक्त यादव ‘आयोगमा उपस्थित नभएको’ भन्ने शब्द प्रयोग गरिएको छ ।

आयुक्तहरू अनुगमन गर्न जिल्ला दौडाहामा
दोस्रो चरणको निर्वाचनका लागि आयुक्तहरू जिल्ला अनुगमनमा गएका छन् । आयुक्त सुधीरकुमार शाह मंगलबार भक्तपुर र नरेन्द्र दाहाल मोरङ पुगेका छन् । भक्तपुर पुगेका शाहले दूधपाटी, दरबार स्क्वायर क्षेत्र, क्वाछेँ, तौमडी, सुुकुलढोकालगायतका क्षेत्रमा निर्वाचन आचारसंहिताविपरीत सडकमाथि वारपार टाँगिएका विभिन्न पार्टीका चुनाव चिह्न, उम्मेदवारको तस्बिर, झन्डाअंकित तोरणका रूपमा राखिएका प्रचारप्रसारका सामग्री हटाउन लगाएका छन् ।

अर्की आयुक्त इला शर्मा सोमबारदेखि पर्सा, रौतहट र बारा जिल्लाको अनुगमनमा गएकी छिन् । तराईका जिल्लामा मधेसकेन्द्रित दलका उम्मेदवारले मधेस आन्दोलनका बीभत्स तस्बिरलाई निर्वाचन प्रचारमा प्रयोग गरेको पाइएपछि आयोगले अनुगमन सुरु गरेको हो । प्रदेश नम्बर २ को अनुगनमा रहेकी आयुक्त शर्माका अनुसार केही स्थानमा आचारसंहिताविपरीत प्रचारप्रसार भए पनि कारबाही गरिहाल्नुपर्ने देखिएको छैन ।
नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot