Logo

सुनसरीलाई विकासको नमूना बनाउने धोको छ : उपप्रधानमन्त्री गच्छदार



सुनसरी, १८ मङ्सिर । नेपाली काङग्रेसका नेता तथा उपप्रधान एवम संघिय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले आफूले सुनसरीको विकासका लागि मरिमेटेर काम गरेको र यसलाई विकासको नमूना क्षेत्र बनाउने संकल्प लिएको बताएका छन्।

सुनसरीको बर्जु गाउपालिकामा आइतबार सुनसरी क्षेत्र नम्बर ३ ले आयोजना गरेको बृहत चुनावी सभा कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री गच्छदारले सो कुरा बताएका हुन्।

नेपाली काङग्रेसका तर्फबाट सुनसरी क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार समेत रहेका उपप्रधानमन्त्री गच्छदारले आफू पटक पटक यो क्षेत्रबाट जितेर गएको र त्यसपछि यस क्षेत्रको डुवान कटान समस्या सहित सडक, पुल निर्माण, खानेपानी र स्वास्थ्य सेवा लगायतका आधारभूत सेवा उलब्ध गराएको उल्लेख गरे।

उनले आफू संञ्चार राज्यमन्त्री हुँदा सञ्चारको क्षेत्रमा ल्याएको उदारवादी नीतिले देशमा रेडियो, टेलिभिजन,छापा माध्यममा नेपाल संसारमा तुलना गर्न लायक स्थानमा पुगेको पनि उल्लेख गरे।

नेपाली कांग्रेसले लिएको सामयिक नीतिको फलस्वरुप नेपाली जनताले विकासको मुख देख्न पाएको पनि उनले उल्लेख गरे।

गच्छदारले सुनसरी क्षेत्र नम्बर ३ मा आफूले गरेको विकास जनताको आखा सामु छर्लङग रहेको बताउदै एमाले माओवादीले गरिरहेको चुरीफुरी जनताले बुझिसकेकाले आफू छैटौं पटक समेत जित्ने जिकिर गरे।

उनले नेपालमा राजतन्त्र र कम्युनिष्टहरु नेपालको राजनीतिक स्थायित्व, लोकतन्त्र, विकास र समृद्धिको बाधकको रुपमा देखा परेको र त्यसमध्ये राजतन्त्रलाई जनताले किनारा लगाईसकेको उल्लेख गर्दै शान्तिपूर्ण ढंगले प्रतिस्पर्धा गर्ने संसदीय व्यवस्थामा विश्वास नगरी अधिनायकवाद र निरंकुशताको बाटोमा गए कम्युनिष्टहरुलाई पनि जनताले किनारा लगाइदिने दाबी गरे।

उहाँले एमालेको अवरोध र माओवादीको सशस्त्र द्धन्द्ध नभएको भए मुलुकको विकासले फड्को मारिसकेको हुने पनि दावी गर्नुभयो ।

उपप्रधानमन्त्री गच्छदारले बाकी रहेको कामहरु अब पूरा गर्ने र ५ वर्षभित्र सबै बाटोहरु कालोपत्रे गर्ने समेत दाबी गर्नुभयो ।

कार्यक्रममा तीन सय भन्दा बढी व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरि नेपाली काङग्रेसमा प्रवेश गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्