Logo

१० गते चुनाव भएका ३२ जिल्लाको मतगणना ५ बजेदेखि, भोली विहानसम्म केही जिल्लाको नतिजा आउने



२१ मंसिर, काठमाण्डौ । मंसिर १० गते ३२ जिल्लामा भएको चुनावको मतगणना बिहीबार साँझ ५ बजेबाट शुरु हुने भएको छ । मतदान सकिएको ११ दिन भइसक्दा पनि मतगणना नभएको कारण उम्मेद्वारहरु जतिसक्दो छिटो मतगणना गर्न आतुर देखिन्छन् ।
त्यसैले ४५ जिल्लामा आज मतदान सकिएलगत्तै ३२ जिल्लाको मतगणना सुरु गर्न लागिएको छ ।

बिहीबार बिहानदेखि नै पहिलो चरणमा मतदान भएका केही जिल्लाहरुमा सर्वदलीय बैठक बसेर मतगणना शुरु गर्ने तयारी भइरहेको छ ।

मतगणना निर्देशिका अनुसार मतगणना सुरु गर्न ठीक छ भनिसकेपछि सबैभन्दा पहिला मतपेटिकाको सिल तोडिन्छ । सिल तोडेपछि मतपत्र खन्याइन्छ । खन्याएर खाली भएको मतपत्र सबैलाई देखाएर सुरक्षित राखिन्छ ।

मतपेटिका घोप्ट्याएर मतपत्र निकालिन्छ । त्यसपछि मतगणनामा खटेका कर्मचारीले मतपत्र उपस्थित प्रतिनिधिलाई देखाउँछन् र मतगणना सुरु गर्छन् ।

यसपटक मतगणना गर्ने स्थानमा दलका प्रतिनिधिहरुलाई सहजै मतपत्र छुन नसक्ने गरी सुरक्षा व्यवस्था मिलाइएको छ । सबैभन्दा पहिले बदर मत छुट्टाएर मात्र सदर मतको गणना हुन्छ ।

पूरै बदर नभएको मतपत्र बदर मतगणनाकै क्रममा छुट्टाइने छ । शुक्रबारसम्म कम मतदाता भएका क्षेत्रको मतगणना आइसक्ने आयोगले जनाएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना सम्भव भएसम्म एकै पटक गर्ने र त्यो सकिएपछि समानुपातिकतर्फको मतगणना प्रतिनिधि सभा र प्रदेश सभाको एकै पटक गर्नुपर्ने मतगणना निर्देशिकामा उल्लेख छ ।
कुनै विवाद भएर मतगणना ढिला नभए सबैभन्दा पहिले कम मतदाता भएका जिल्लाको परिणाम आउनेछ । सबैभन्दा कम मतदाता मनाङमा रहेको छ । यहाँ ५ हजार ८ सय ८० मतदाता रहेका छन् भने यहाँको मतपत्र पनि दुई वटा चिह्नमात्र रहेको हुनाले गणना छिटो हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी मुस्ताङमा पनि ९ हजार ४२७ मतदाता मात्र रहेका छन् । यहाँको प्रतिनिधि सभा र प्रदेश सभाको मतपत्रमा पनि दुई वटा मात्र चिह्न रहेका छन् ।
यि दुई जिल्लाको मतगणना रातभरीमा सकिने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot