Logo

पुनःनिर्माणमा सबैसँग समन्वय गरी काम गर्न निर्देशन



धुलिखेल, पुस ७ (रासस) : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले जिल्लास्थित आयोजना कार्यान्वयन एकाइका प्रमुखहरुलाई पुनःनिर्माणको काममा समन्वय गरी काम गर्न निर्देशन दिनुभएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा भूकम्प अतिप्रभावित १४ जिल्ला र भूकम्प प्रभावित आठ जिल्लाका कार्यान्वयन एकाइका प्रमुखको आव २०७४÷०७५ को जिल्लागत प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीमा भुसालले पुनःनिर्माणको काममा थप गति दिन आग्रह गर्नुभयो ।

उहाँले नक्सा पास गर्ने बेलामा अनावश्यक रकम लिने गरेको गुनासो आएको जनाउँदै मन्त्रिस्तरीय निर्णयअनुसार निःशुल्क रुपमा नक्सा पास गर्ने भन्ने निर्णय कार्यान्वयन गर्न सम्बन्धित सम्बन्धित नगरपालिका र गाउँपालिकालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्राधिकरणका सचिव मधुसूदन अधिकारीले विश्वको कुनै पनि देशमा भएको विपद्पछिको पुनःनिर्माणको दाँजोमा नेपालले कुनै कमी हुने काम नगरेको जिकिर गर्नुभयो ।

भूकम्प अतिप्रभावित जिल्लाका तर्फबाट प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ ललितपुरका प्रमुख गोमा ढकालले काम गरिरहेका अवस्थामा बाटाको मापदण्डका कारणले जग्गा कम, संयुक्त घर बनाउन नपाउने व्यवस्था, प्रत्येक वडामा प्राविधिक नपुग्नु, दोस्रो र तेस्रो किस्ता लिन लामो समय लाग्नु, छिमेकी जिल्लामा घर बनाउन नपाउनु, पुनःनिर्माणसम्बन्धी कार्यालय छरिएर रहनु, जोखिमयमुक्त बस्तीमा बस्ने लाभग्राहीको नाम सार्वजनिक नहुनुलगायत समस्याले पुनःनिर्माणको काममा ढिलाइ भइरहेको बताउनुभयो ।
–––



प्रतिक्रिया दिनुहोस्