Logo

नवराज सिलवालबारे प्रहरी प्रवक्ताले किन भने, “म अपडेट छैन”



९ पुस, काठमाण्डौ । नेपाल प्रहरीले पूर्व डिआइजी नवराज सिलवालका विषयमा अनुसन्धान भइरहेको बताएको छ ।

आइतबार रिपोर्टस क्लबले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रहरी प्रवक्ता मनोज न्यौपानेले अनुसन्धान भइरहेको जानकारी दिदै अहिले केही पनि भन्न नमिल्ने बताए । कार्यक्रमको अध्यक्षता गरिरहेका क्लबका अध्यक्ष ऋषि धमलाको प्रश्नको जवाफ दिदै न्यौपानेले भने, “नवराज सिलवालबारे अनुसन्धान भइरहेको छ । म अपडेट छैन । अपडेट भएर जवाफ दिन्छु ।”

सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दार्ता भएको छ ।

सरकारले जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाएपछि तत्कालीन डीआईजी सिलवाल आफूलाई आईजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा गएका थिए ।
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले चन्दको नियुक्ति बदर गर्नुका साथै कार्यसम्पादन मूल्यांकनमा धेरै अंक ल्याउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दियो । आदेश अनुसार सरकारले प्रकाश अर्याललाई प्रहरी प्रमुख बनायो ।

त्यसमा पनि असन्तुष्ट सिलवाल फेरि सर्वोच्च गए । तर, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली नेतृत्वको पूर्ण इजलासले उनको मागदाबी अस्वीकार र्गयो ।
आईजीपी बन्न नपाएपछि एमाले प्रवेश गरेका सिलवाल ललितपुर १ बाट चुनाव जितेर सासंद बनेका छन् । तर सासंद पदको सपथ ग्रहण नहुँदै उनीविरुद्ध अनुसन्धान सुरु भएको छ ।

उनी सांसद बन्न पाउँदा नपाउँदै सर्वोच्चले फैसलाको पूर्ण पाठ सार्वजनिक र्गयो, जसमा सिलवालले बुझाएको र लोकसेवाबाट प्राप्त कार्यसम्पादन मूल्यांकनमा फरक फरक अंक देखिएको भन्दै यसमा संलग्नमाथि छानविन गरी कारबाही गर्न आदेश दिइएको थियो ।



प्रतिक्रिया दिनुहोस्