Logo

‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ देवकोटालाई



काठमाडौँ, ४ माघ : यस वर्षको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ ‘नयाँ पत्रिका’ दैनिकका सम्पादक कृष्णज्वाला देवकोटालाई प्रदान गरिएको छ ।

सम्पादक समाज नेपालले वियोगीको १२ औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उहाँलाई रु २५ हजार राशिको उक्त पुरस्कारबाट सम्मान गर्नुभयो ।

यस्तै नेपालको टेलिभिजन पत्रकारितामा विशेष योगदान पु¥याएवापत ‘नेपाल टेलिभिजन’का समाचार सम्पादक अनिता विन्दुलाई रु १५ हजार सहित सम्मान गरिएको छ ।

यसैगरी वरिष्ठ पत्रकार सम्मानबाट नेपाल पत्रकार महासंघका पूर्वाध्यक्ष धर्मेन्द्र झा, ‘रेडियो नेपाल’का तत्कालीन अंग्रेजी समाचार सम्पादक हरिश चन्द र ‘द टेलिग्राफ’का प्रधानसम्पादक नरेन्द्रप्रसाद उपाध्याय सम्मानित हुनुभएको छ । उहाँहरूलाई माला, दोसल्ला र प्रमाणपत्र प्रदान गरियो । सो कार्यक्रममा ‘मातृभूमि साप्ताहिक’को सम्पादकीय संग्रह भाग तीनको लोकार्पण गरिएको थियो ।

सो अवसरमा अर्थमन्त्री कार्कीले समाजलाई जिम्मेवार बनाउन सञ्चारकर्मीको ठूलो भूमिका रहने बताउनुभयो । “वियोगी धेरै दुःख र कष्टका साथ सञ्चारमाध्यमको क्षेत्रबाट समाज परिवर्तनका लागि लाग्नुभएको हो,”, उहाँले भन्नुभयो । मन्त्री कार्कीले वियोगीका नाममा बन्न लागेको पत्रकारिता अध्ययन केन्द्रका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले सञ्चारकर्मी वियोगीको नामलाई चिरस्थायी बनाउन संस्थाले सञ्चालन गरेको गतिविधिलाई एमालेले सहयोग गर्ने घोषण गर्नुभयो ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले नेपाली पत्रकारिता क्रमशः आधुनिक युगमा प्रवेश गरेकाले त्यहीअनुसार पत्रकारिताको विकासका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । सम्पादक समाजका अध्यक्ष पुरु रिसालले वियोगीका नाममा नुवाकोटको शिवपुरी गाउँपालिकामा पत्रकारिता अध्ययन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot