Logo

संसदीय दलको नेतामा उम्मेदवारी दिन्छु : नारायण खड्का



पछिल्लो राजनीतिक घटनाक्रम भद्रगोल जस्तै भएको छ । वाम गठबन्धन र पार्टी एकता, कांग्रेसभित्रको किचलो अस्तव्यस्त छ । यहीबिचमा भारतीय विदेशमन्त्री शुस्मा स्वराजको नेपाल भ्रमणले अर्को तरङ्ग ल्यायो । पत्रकार ऋषि धमलाले नेपाली कांग्रेसका नेता डा. नारायण खड्कासँग स्वराजको नेपाल भ्रमण र कांग्रेसको अबको बाटोका बारेमा कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

अब नेपाली कांग्रेस कसरी अगाडि बढ्छ ? युवा पुस्ताहरु जुर्मुराएका छन् ।
अब महाधिवेशनमा युवा, बुढा सबैले लड्न पाउँछन् । जसले जित्छ उसैले विधानसम्मत जो पनि आउन सक्छ ।

अर्ली महाधिवेशनको कुरा उठेको छ । यसको सम्भावना कति छ ?
अब छलफल गरेर टुङ्गो लाग्छ । सभापति, पदाधिकारीहरु बसेर तय गर्नुहोला ।

शेरबहादुर देउवालाई अहिले पार्टी सभापतिबाट हटाउन सकिदैन ?
हटाउन सक्ने नसक्ने त पहिला बैठक बस्नुपर्छ । तर कसैमाथि दोष थुपरेर हटाएर समस्या समाधान हुँदैन । अर्ली महाधिवेशनका लागि पनि सबैको सहमति हुनुपर्छ । राजिनामा दिने भन्ने कुरा वा नैतिकताको विषय उहाँको कुरा हो । तर राजिनामा दिनैपर्छ, नत्र छोड्दैनाँै भन्ने हो भने पार्टीभित्र झन विद्रोह ल्याउन सक्छ । त्यसकारण विधिसम्मत रुपमा अगाडि बढ्नुपर्छ ।

सभापति देउवा संसदीय दलको नेताका लागि उम्मेदवारी दिने पक्षमा पुग्नुभएको हो ?
त्यो त मलाई थाहा छैन ।

तपाईको समर्थन कसलाई हुन सक्छ ?
को उठ्ने भन्ने थाहै छैन । थाहा भएपछि म आफ्नो विचार बनाउँछु । म आफै पनि उठ्न सक्छु ।

तपाई संसदीय दलको नेतामा उठ्नुहुन्छ ?
किन नउठ्ने ? अरु उठ्दा म उठ्न सक्दिन र ?

अब प्रसङ्ग बदलौँ,
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री सुश्मा स्वराजबिच केके सहमति भयो ?
यो कुनै औपचारिक भ्रमण नभएकाले सहमति केही भएको छैन । यो त बिना एजेण्डाको भ्रमण हो । नेपाल भारत सम्बन्धलाई अझ प्रगाढ बनाएर लाने विषयमा छलफल भएको हा । दुई देशको हितमा काम गर्ने भन्ने सामान्य कुराकानी भयो । बरु तपाईले एमालेका साथीहरुसँग सोध्नुभयो होला, केपी ओलीसँग बसेर वान टु वान ४५ मिनेटको भेटमा के कुरा भयो? जनता जान्न चाहन्छन् ।

मैले एमालेका उपाध्यक्ष भीम रावललाई सोधिसकेँ । देउवा र स्वराजबिचको आधाघण्टाको वान टु वानको भेटबारे तपाई भन्नुस् न ?
वान टु वान भेट होइन । अरु साथीहरु पनि थिए । हामीले बुझ्नुपर्ने कुरा के छ भने नेपाल–भारतबिचको सम्बन्धमा कुनै पनि कुटनीतिक सिमा छैन । सम्बन्ध यति प्रगाढ छ कि कुनै पनि बेला फुत्त निस्केर एक अर्काको देशमा जान सक्छौँ । तर ओलीजी प्रधानमन्त्री बन्नका लागि बहुमत नपुगेकै अवस्थामा सम्भावित प्रधानमन्त्रीको रुपमा हेरिएको छ । हिजोका दिनका केही अप्ठ्याराहरु सुल्झाउन खोजिएको होला । मोदीजिले दुईपटक फोन गरिसक्नुभयो । यसको अर्थ केही सिरियस कुराहरु नै रैछ भन्न खोजिएको होला । सिनियर मान्छे नै पठाएर केही कुरा गर्नुपर्ने आवश्यक थियो होला । हिजोका दिनमा लिएका अडान र त्यसले ल्याएको प्रभावका विषयमा कसरी निस्तेज गर्दै सम्बन्ध अगाडि बढाउने विषयमा छलफल भयो होला ।

यो त राम्रो सुरुवात होला नि । किन विरोध मात्रै गर्ने ?
परराष्ट्रमन्त्रालयलाई सानो नोट पठाएर राष्ट्रपति र प्रधानमन्त्रीलाई मात्रै भेटिएको भनिएको छ । विदेशमन्त्रीको हैसियतले आएपछि कुटनीतिक मर्यादाअनुसार परराष्ट्रमन्त्रालय सम्हाल्नुभएका प्रधानमन्त्रीलाई पहिला भेट्नपथ्र्यो ।

तर स्वराजले त एजेण्डा लिएर आएको होइन, मित्रहरुलाई भेट्न आएको हुँ भन्नुभएको थियो नि ?
कुटनीतिक रुपमा राम्रो म्यासेज जाओस भन्ने हाम्रो कुरा हो ।

तपाईहरुलाई समर्थन गर्दा ठिक, केपी ओलीलाई समर्थन गर्दा बेठिक हुने हो ?
यो समर्थनको कुरा होइन । एउटा कुटनीतिक मर्यादाको कुरा मात्रै हो । भेट्ने कुरा राम्रो हो । तर के भने परराष्ट्रमन्त्रीको रुपमा आइसकेपछि मर्यादाको कुरा आउँछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot