Logo

‘संविधान संशोधन नभएसम्म सरकारमा जाने नैतिक आधार बन्दैन ‘



राष्ट्रिय जनता पार्टी सरकारमा सहभागि हुने चर्चा सेलाएको छ । संविधान संशोधन लगायतका माग अघि सारेपछि प्रधानमन्त्री केपी ओलीले राजपालाई वेवास्ता गरे जस्तो देखिन्छ । राजपाले चुनाव सकिएको पाँच महिना वितिसक्दा पनि संसदीय दलको नेता चयन गर्न सकेको छैन । यि लगायत सरकारले ल्याएको नीति र कार्यक्रमका बारेमा ऋषि धमलाले राजपाका नेता महेन्द्र राय यादवसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

सरकारको नीति र कार्यक्रम तपाईलाई कस्तो लाग्यो ?
महत्वाकांक्षी छ । समृद्धिका लागि समेटिनुपर्ने कार्यक्रम पर्याप्त छैन । त्यसैले संशोधन गर्नुपर्छ । भएका कार्यक्रम कसरी कार्यान्वयन हुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

केके कार्यक्रम नभएकाले पर्याप्त भएन ?
केही सुधार गर्नुपर्छ । हामीले संशोधन प्रस्ताव राखेका छौँ । खासगरी शहीद परिवारको बारेमा केही कार्यक्रम छैन । सबै जनतालाई कसरी अधिकार दिलाउने भन्ने कुरा छुटेको छ ।

नीति र कार्यक्रम त अर्थिक मुद्दामा केन्द्रित हुने हैन र ?
आर्थिक मुद्दासँगै राजनीतिक समस्या समाधानको उपाय पनि खोजिनुपर्छ । राजनीतिक समस्या समाधान नगरी आर्थिक विकास हुन सक्दैन । तर राजनीतिक मुद्दा समेटिएको छैन ।

राष्ट्रिय जनता पार्टी सरकारमा सहभागि हुने कुरा कहाँ पुग्यो ?
सरकारमा जाने विषयमा कुरा भएको छैन । संविधान संशोधनको मुद्दा, जेलमा भएका राजनीतिक बन्दीहरु रिहा, आन्दोलनमा घाइतेको उपचार गर्ने कुरामा सरकार तयार नभएसम्म सरकारमा जाने नैतिक आधार बन्दैन ।

अहिले त तपाईहरुको मुख्य एजेण्डा संविधान संशोधन हो र ?
हो । संविधान सशोधनका लागि जनताले मत दिएका छन् । त्यसैले हाम्रा माग पूरा नभएसम्म सरकारमा जाने ढोका खुल्दैन । हामीलाई पनि संविधान संशोधनको मुद्दा छोडेर दायाँबाँया जाने छुट छैन ।

मधेशका जनताको चाहना के छ ?
देशमा विभिन्न शक्तिहरुको धु्रविकरण भइरहेको छ । अहिलेको अवस्था भनेको मधेशमा पनि दलहरुबीच एक हुनुपर्छ । जनताले पनि मधेशमा सबल शक्ति निर्माण होस् भन्ने चाहेका छन् ।

राजपाको संसदीय दलको नेता किन अहिलेसम्म चयन हुन सकेन ?
विधान बनिरहेको छ । विधान निर्माण सकिएपछि दलको नेता चयन गर्छौँ । अब चाँडै नै हुन्छ ।

सबै दलले नेता चयन गरिसके । तपाईहरुले किन चुनाव सकिएको ५ महिना वितिसक्दा पनि नेता छान्न सक्नुभएन ?
सबै दलको विधान छ । हाम्रो दलको विधान भर्खर बन्दै छ । विधान बनाउने काम सकिएपछि त्यही विधानअनुसार दलको नेता चयन गर्छौँ ।

महन्थ ठाकुरलाई दलको नेता बनाउने हो ?
उहाँ अध्यक्षमण्डलको संयोजनक हुनुहुन्छ । सबैलाई मिलाएर लैजान सक्ने हुनुहुन्छ । परिपक्व पनि उहाँ नै हो । उहाँलाई नै संसदीय दलको नेता बनाउँदा ठिक हुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot