Logo

अपहरणकर्ताहरुलाई सफाई दिईएकोमा पीडित कार्कीको आपत्ति (भिडियोसहित)



काठमाडांै, ११ जेठ । सविना कार्कीले आफ्नो अपहरणमा सलंग्न अपराधीहरुलाई जेलमुक्त गरिएको भन्दै कडा आपत्ति जनाएकी छिन् ।

बाँके नेपालगञ्ज स्थायी घर भएका आफ्नै श्रीमान नरेन्द्र शर्माले आफूलाई ८ महिनासम्म अपहरण गरेको र यातना दिएको भन्दै अपराधमा सलंग्न मुख्य अभियुक्तहरुले अदालतबाट सफाई पाएकोमा कार्कीले आपत्ति जनाएकी हुन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित कार्कीले आफूलाई मार्नकै लागि अपहरण गरिएको गम्भिर आरोप लगाईन् । उनले भनिन्,‘मलाई मार्नकै लागि लगिएको थियो, तर म बाँच्न सफल भएँ।’

https://youtu.be/pSi7Wo_06k8

दूई सन्तानकी आमा समेत रहेकी पीडित कार्कीले आफूलाई श्रीमानले आठ महिनासम्म अपहरण गराएर चरम शारिरीक यातना दिएको बताउँदै भनिन्,‘न्यायको लागि न्यायालय जाँदा अपहरणजस्तो जघन्य अपराधमा संलग्न अभियुक्तहरुलाई छुट्कारा दिईयो, यो गलत भएको छ, दोषीहरुलाई कुनैपनि हालतमा छुट दिनुहुँदैन्, उनीहरुलाई पूनः जेल सजायसहितको कारबाही गर्नुपर्छ ।’

बाँके जिल्ला सुर्खेत रोड स्थायी घर भएकी पीडित कार्कीले आफूलाई तत्कालिन फेथ रिह्याव सेन्टर भैंसेपाटीमा ४ महिना र पछि भैंसेपार्टीबाट सरेको सोही रिह्याव कार्यालय थेचुमा पनि ४ महिना गरि जम्मा ८ महिनासम्म बन्धक बनाएर राखिएको जनाईन् ।

अपहरण गर्दा आफू काठमाडौंको सामाखुशी टाउन प्लानिङमा बस्ने गरेको र सो दिन खाना पकाएर बच्चालाई विद्यालयबाट घर ल्याउन जाने तयारी गरिरहेको उनले सुनाईन् । उनलाई गत ०७२ साल मंसिर १४ गते अपहरण गरिएको थियो । उनका अनुसार अपहरणकर्तामा सुवास खड्का, सुधिर अधिकारी, विकु शेर्पा, सुनिल महर्जन थिए ।

आफ्नो श्रीमान अरु केटीसंग लागेको र आफू लगायत छोराछोरीलाई पनि बेवास्ता गरेर पैसाजति क्यासीनोमा सकाएर चरम यातना दिँदै आएको उनले दुःखेसो पोखिन् । पीडित कार्कीले भावुक हुदै भनिन,“२०७२ सालपछि श्रीमान र मुक्ता गुरुङ भन्ने केटी भएर आफूलाई मार्ने प्रयास गरेका थिए, र उजुरी गर्न जाँदा मलाई उल्टै कुटे । म अधिकार खोज्न नेपालगन्ज जाँदा सिडिओले निवेदन नै दर्ता गर्न मानेन ।”

त्यसपछि उनलाई करिब ८ महिनासम्म सुधारगृह भनेर दुव्र्यसनीको सिकार बनाउँदै अपहरण गरियो । उनले अपहरण गरेको बेलाको स्मरण गर्दै भनिन्,“त्यसबखत अपहरणकारीले मेरो कपाल पूरै काटिदिए, ट्वाईलेट चाट्न लगाए, कुटपिट गरे, कानको जाली फुटाइदिए, कालो मोसो लगाईदिएर कम्पाउन्ड घुम्न लगाए, टाउको तल खुट्टामाथि पार्दै फोहोर पानीमा डुबाइदिए ।’

अपहरणकारीले आफूमाथि ‘सम्पति दुव्र्यसनी’ को गलत आरोप लगाएर रिह्याव लगिएको उनको आरोप छ । उनले भनिन्,‘मलाई कहीँपनि नभएको गलत आरोप लगाए, रिह्याव सञ्चालक सुवास खड्का र सह–सञ्चालक सुधिर अधिकारीले त्यतिवेला मारेपनि कानुन नलाग्ने लाइसेन्स हामीले गृहमन्त्रीबाट पाएका छौं भन्दै मलाई थप यातना दिएका थिए ।’

आठ महिनापछि १ घण्टाको लागि छोडिदिएको मौकामा आफू त्यहाँबाट उम्किन सफल भएको उनले स्पष्ट पारे । उनले भनिन्,‘मलाई चेकमा हस्ताक्षर गर्नको लागि भनेर मात्रै एक घण्टाको लागि बाहिर निकालिएको थियो, त्यो पनि उनीहरुकै रोहबरमा, र न्यायको निम्ति मैले महिला अधिकार तथा उद्धारकर्मी अञ्जना श्रेष्ठलाई एक कल फोन गर्ने मौका पाएँ, र बाहिर आउन सफल भएँ ।’

आफूले उजुरी दिएपछि अपराधीहरु पक्राउ परेपनि पैसा खुवाएर उनीहरुमध्ये दुई जना रिह्याव सेन्टरका सञ्चालकद्धय सुवास खड्का र सुधिर अधिकारीले ललितपुर जिल्ला अदालतबाट सफाई पाएको उनको आरोप छ । सरकारी वकिलको चलखेलको कारण यस्तो भएको कार्कीको आरोप छ ।

उनले भनिन्,‘सरकारी वकिलको चलखेलकै कारण अपराधीलाई सफाई दिईयो, ममाथि ठूलो अन्याय भएको छ, अपराधीहरुलाई पूनः जेल हाल्नुपर्छ, मलाई न्याय दिनुपर्छ।’

ललितपुर जिल्ला अदालतले अपहरणका योजनाकार आफ्नै श्रीमान नरेन्द्र शर्मालाई ७ वर्षको जेल सजाय सुनाएकोले शर्मासँगै अपहरणकारी रिह्याव सञ्चालकद्धय खड्का र अधिकारीलाई पनि समान जेल सजाय सुनाउनुपर्ने उनको माँग छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot