Logo

महाधिबेशन गर्ने/नगर्ने धेरै परको कुरा हो : विमलेन्द्र निधी



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्र देखिएको विवाद विचारको नभएर कार्यशैलीको भएको स्पष्ट पारेका छन् । अहिले सभापति फेर्नुपर्ने कुनै आवश्यकता नभएको समेत उनले जिकिर गरे । त्यस्तै पार्टीको अर्ली महाधिबेशन गर्ने वा नगर्ने त्यो त धेरै परको कुरा भएको समेत उनको भनाई छ । उपसभापति निधिसँग पत्रकार ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम ‘नेपाली बहस’का लागि गरेको कुराकानीको सम्पादित अंश :

कांग्रेसभित्रको विवाद विचारको हो कि कार्यशैलीको हो ?

विचारको होईन । कार्यशैलीको हो । राष्ट्रियता, लोकतन्त्र र समाजवाद हाम्रो मुलमन्त्र हो । हाम्रो विचारमा अरु पार्टीहरु पनि आएका छन् ।

कृष्ण सिटौलाले त सभापति देउवाको कार्यशैली मिलेन, सभापति फेर्नुपर्ने बताएका छन् नि ?

खोई, उहाँले के भन्नुभएको हो । कार्यशैली त कसको नै मिलेको छ र ? कार्यशैली फरक छ । पत्रकार धमलाको र अरु पत्रकारको कार्यशैली एउटै हुन्छ त ? अप्राकृतिक तवरले सम्बोधन गर्न मिल्दैन नि ।

तपाई त उपसभापति हो कांग्रेस संघीय ढाँचा अनुसार चल्न सकेन नि ?

हाम्रो पार्टीको महाधिवेशन संघीय संरचना हुनुभन्दा पहिले भयो । सूरुमै हामी अलि अगाडि पुग्यौं । १४ औ महधिवेशन पूर्व महासमितिको वैठक बस्नेछ । त्यसपछि हामी संघीय संरचनामा जान्छौ । पार्टीभित्रको विवादलाई अन्त्य गरेर संघीय संरचना अनुसार निर्माण गर्नु आजको आवश्यकता हो । सभापति फेर्नुपर्ने आजको आवश्यकता होईन । महाधिबेशन गर्ने वा नगर्ने त्यो त धेरै परको कुरा हो ।

रामचन्द्र पौडेल र कृष्ण सिटौलाले जबसम्म देउवामा सभापति रहनुहुन्छ तबसम्म कांग्रेसको भलाई छैन् भनेर भन्नुभएको छ नि ?

निर्वाचनको हार सबै सभापतिमा मात्रै थुपार्ने हेतुले भन्नुभएको थियो । आजको दिनमा विधान अनुसार जान र काँंग्रेसलाई संघीय सरचना अनुसार लैजानेमा सहमत हुनुहुन्छ । पार्टीभित्रको विवाद हटाउनुपर्छ ।

तर तपाईको पार्टीमा त गुटले असर गरेको छ नि ?

गुट जहाँपनि हुन्छ ।

प्रतिपक्षमा पुग्दासम्म पनि कांग्रेसका नेताहरुमा किन चेत आएन ?

आएको छ । जिल्ला सभापतिको भेला हुँदैछ । महासमितिको भेला हुन्छ । सबै विवादहरुलाई अन्त्य गर्नुपर्छ । विशेष महाधिवेशन हुँदैन । राज्यको संरचना अनुसार पार्टीको विधानलाई बद्ल्नुपर्छ । समय अनुसार महाधिबेशन गर्ने हो ।

सरकारको सय दिन दिनलाई कसरी लिन्छ कांग्रेसले ?

मिठा–मिठा कुरा गरेर मात्रै हँुदैन । राम्रो कुरालाई हामीले नराम्रो कहाँ भनेका छौं र ? हामीले संघीय गण्तन्त्रको सस्था गरेका छौं । प्रदेश सरकारलाई कसरी बलियो बनाउने भन्ने भन्दा पनि केन्द्रीय सरकार मात्रै छ । हामी मात्रै छौं भन्ने परेको छ । यो होईन । संघीय प्रणाली अनुसार प्रदेशको अधिकार के हो ? त्यसका अवयव के हुन ? जस्ता कुरामा सरकारले सम्झीन सकेको छैन् । सरकारले गरेका काम कारबाहीका बारेमा विज्ञ समुहहरुले दिएका सुझावमा पनि केही छुटेको छ । पहिलेको जस्तो सुझाव र पहिलेकै जस्तो नीति तथा कार्यक्रम ल्याइएको छ । ओली सरकारले संघीयता बिर्सेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot