Logo

प्रत्यक्ष निर्वाचित कार्यकारी देशको लागि घातक हो : रामचन्द्र पौडेल



रामचन्द्र पौडेल प्रजातान्त्रिक आन्दोलनका नेता हुन् । शान्ति तथा पुनर्निर्माण मन्त्री र उपप्रधानमन्त्री लगायत विभिन्न मन्त्रालय सम्हालिसकेका पौडेल अध्ययनशील नेता हुन् । पछिल्लो समय कांग्रेसमा प्रजातन्त्र र समाजवादको व्याख्या गर्न सक्ने प्रहर नेताका रुपमा पौडेललाई लिइन्छ ।
बी.पी. कोइरालाको सान्निध्य र त्यागबाट प्रभावित भई राजनीति तर्फ आकर्षित भएका ६३ वर्षीय पौडेलको राजनैतिक यात्रा विद्यार्थी अवस्थादेखि नै शुरु भएको हो । पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण उनी पटकपटक गरी १३ वर्ष जेल परेका छन् ।
अध्ययनमा विशेष रुचि राख्ने पौडेलका प्रजातान्त्रिक समाजवाद, नयाँ सन्दर्भमा समाजवाद, आस्थाका यात्रा लगायत आधा दर्जन कृतिहरू प्रकाशित छन् । उनै पौडेलसँग ऋषि धमलाले कुराकानी गरेका छन् । कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

विकास र समृद्धिका लािग नेपाली कांग्रेस सत्तापक्षसँग सहकार्य गर्न तयार भएको हो ?
विकास र समृद्धि भनेको सधैँ निरन्तर चलिरहने प्रक्रिया हो । देश र जनताका लागि विकास आवश्यक छ । पछौटेपन र गरिबी हटाउनका लागि कांग्रेस सधैँ तयार छ । कांग्रेसले त पञ्चायतकालमा पनि विकासै एजेण्डा बोकेर हिँडेको थियो । अहिले पनि विकासका लागि कांग्रेस अग्रसर नै छ ।

प्रधानमन्त्री केपी ओलीले देश विकासका लागि कांग्रेससँग मिलेर जानुपर्छ भन्ने अभिव्यक्ति दिनुभएको छ । यसलाई कसरी लिनुभएको छ ?
उहाँको भनाई राम्रो हो । तर सरकार कसरी प्रस्तुत हुन्छ, कस्ता कार्यक्रम ल्याउँछ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

सभामुख र उपसभामुखमध्ये एउटा पद कांग्रेसलाई दिनुपर्छ भन्ने तपाईहरुको माग हो ?
संविधानले नै एउटै दलको व्यक्ति सभामुख र उपसभामुख बनाउन पाइदैन भनेको छ । तर अहिले दुवै पद नेपाल कम्युनिष्ट पार्टीले लिएका छन् । त्यसैले अब संविधानअनुसार नै व्यवस्था मिलाउनुपर्छ । सहकार्य गर्ने भन्ने तर संविधानले गरेको व्यवस्थाअनुसार गरौँ भन्दा पनि नमान्ने त भएन नि । लुच्चो कुरा गर्न मिल्दैन ।

तर सत्तारुढ दलले त सभामुख र उपसभामुखमध्ये एउटा पद राष्ट्रिय जनता पार्टीलाई दिने तर कांग्रेसलाई नदिने संकेत गरेको छ नि ?
कांग्रेसलाई नदिनुस्, तर अर्को पार्टीलाई दिनुस् । एउटै दलबाट सभामुख र उपसभामुख बनाउनु संविधान विपरित हो भन्ने हाम्रो भनाई हो । राजपालाई दिए पनि हामीलाई केही आपत्ति छैन ।

कांग्रेस अब कसरी अगाडि बढ्छ ?
नेपाली कांग्रेस लोकतन्त्रको पहरेदार हो । लोकतन्त्रको खिलापमा हुने जस्तो सुकै षडयन्त्रको विरुद्धमा कांग्रेस उभिन्छ । मुलुकको उन्नति र स्थायित्वका लागि कांग्रेसको निरन्तर प्रयास रहन्छ ।

तर कांग्रेस आन्तरिक विवादमा फसेको छ । कसरी देशका लागि काम गर्छ ?
पार्टीभित्रको समस्या समाधानको बाटोमा गइरहेका छौँ । पार्टी सुदृढीकरणका अभियानमा छौँ । अभियान चलाइरहेका छौँ । पार्टीमा सजगता ल्याउने काम भइरहेको छ । अब पार्टीलाई संगठित र सुसज्जित गरेर देशको राजनीतिमा महत्वपूर्ण भूमिका खेल्छौँ ।

आन्तरिक द्धन्द्ध व्यवस्थापन हुन्छ त ? सभापति शेरबहादुर देउवा र तपाईबीचको सम्बन्ध कहिले सुधार हुन्छ ?
आन्तरिक द्धन्द्ध विस्तारै व्यवस्थापन हुन्छ । सभापतिजीसँग कस्तो कुरा हुन्छ थाहा छैन, तर आम कांग्रेसलाई लिएर देशको विकासमा भूमिका स्थापित गराउँछौँ ।

जबसम्म कांग्रेस एक हुँदैन तबसम्म संसदमा प्रभावकारी भूमिका हुँदैन । कसरी भूमिका स्थापित गराउनुहुन्छ ?
एकताको लागि त्यसै एकता एकता भनेर मात्रै हुँदैन । एकताको निश्चित आधार र मापदण्ड हुनुपर्छ । न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कनको आधारमा एकता हुन्छ ।

रामचन्द्र पौडेल पक्षधरले सहयोग गरेन भन्ने गुनासो सभापति देउवाले गर्नुभएको छ नि ?
उहाँले सबै कुरामा एकलौटी गर्दै जाने अनि पौडेलले सहयोग गर्दै जाने अपेक्षा राख्न भएन नि । हामीले त विधि र विधानअनुसार पार्टी चलाऔँ भनेको हो । तर उहाँले पनि पालना गर्नुपर्छ कि पर्दैन ?

पार्टी नेतृत्वलाई विस्थापित गर्ने तपाईसँग के सुत्र छ ?
यो विस्थापितका लागि हामी लागेका छैनौँ । पार्टीलाई सुधार गर्ने पक्षमा छाँै । मूल्य, मान्यता र आदर्शका आधारमा पार्टी चल्नुपर्छ भन्ने हाम्रो भनाई छ ।

अर्ली महाधिवेशनको कुरा सेलाएको हो ?
अब नियमित समयको माहधिवेशन नै गर्ने बेला आइसक्यो । महासमितिको बैठकले विधान संशोधन गरेर पार्टीलाई राम्रो दिशा दिन्छ । अहिले अर्ली महाधिवेशन हुँदैन ।

कांग्रेस जिल्ला सभापतिहरुको भेला हुँदैछ । यो भेलाले के सन्देश दिन सक्छ ?
पार्टीलाई सही दिशातर्फ लैजानका लागि जिल्ला सभापतिहरुले सुझाब दिन्छन् । विधान संशोधनका बारेमा पनि धारणा राख्लान् । पार्टीभित्रको कमजोरी औँल्याउँछन् ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरा उठाउनुभएको छ । यसलाई कसरी लिनुभएको छ ?
उहाँले यो बोल्न नहुने कुरा बोल्नुभयो । राष्ट्रपतिसँगको भेटका क्रममा मैले दाहाललाई भनेँ, तपाई कार्यकारीको कुरा उठाउने ? दुई तिहाइको कुरा गर्ने ? वनमा बाघ कराउने खोरमा बाख्रा हराउने यो के हो ? ६ वर्षसम्म छलफल गरेर सहमतिमा बनाएको संविधान अहिले नै उल्ट्याउने हो भने देशमा द्धन्द्ध निस्किन्छ भनेर भनेँ ।

नेकपासँग दुई तिहाई बहुमत छ, चाह्यो भने त संविधान संशोधन गरिहाल्छन् नि ?
उहाँहरुले चाहनुभयो भने कागजमा गर्न सक्नुहोला । तर जनताले स्विकार्दैनन् । उल्ट्याउँछन् । त्यस्तो गर्नुभयो भने त हामी प्रतिरोध गर्छौँ । जथाभावी गर्नेलाई हामी छुट दिदैनौँ । यो मुलुकलाई बर्बाद गर्ने को हुन् भन्ने कुरा जनताको अगाडि राख्छौँ । लोकतन्त्रको जरा उखेल्ने शक्तिको भण्डाखोर गर्छौँ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी यो देशको आवश्यकता होइन र ?
होइन । यो त देशको लागि घातक हो । संविधानलाई बारम्बार प्रयोगको थलो बनाउनु हुँदैन । नेपाली कांग्रेसले प्रत्यक्ष निर्वाचित कार्यकारी शाषन पद्धतिलाई स्विकार गर्न सक्दैन । किनकी प्रत्यक्ष निर्वाचित कार्यकारी पछि गएर तानाशाहमा रुपान्तरण हुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot