Logo

‘पार्टीभित्रका फरक मतहरुलाई एउटै मालामा गाँस्नुपर्छ’



प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टी पराजयको समीक्षा तथा पार्टीको भावी रणनीति तय गर्न नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला असार ५ देखि ७ गतेसम्म मकवानपुरको हेटौंडामा हँदै छ । भेलाको एजेण्डा के हुन सक्छ ? भेलाले समग्र रुपमा कांग्रेसलाई कस्तो लाभ हुन्छ ? यिनै विषयवस्तुमा केन्द्रित रहेर कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासँग ऋषि धमलाले कुराकानी गरेका छन् । कुराकानीका क्रममा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण र नेपाली खेल क्षेत्रको विकासका सवाल पनि जोडिएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

कांग्रेसका जिल्ला सभापतिहरुको भेला हुँदैछ । यो भेलाको मुख्य एजेण्डा के हुन सक्छ ?
जिल्ला सभापतिहरुको भेलाको एजेण्डामा तीनवटा कुरालाई प्राथमिकता दिइएको छ । पहिलो, पार्टीको विधानलाई बदलिएको राज्यको संरचनाअनुसार कस्तो बनाउँदा राम्रो हुन्छ र कसरी आधुनिक बनाउन सकिन्छ भन्ने हो । दोस्रो, बदलिएको राजनीतिक अवस्थामा कांग्रेस रुपान्तरित भएर अगाडि बढ्नका लागि संगठनात्मक कार्यक्रम कस्तो बनाउने भन्ने हो । र तेस्रो, राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरुलाई कसरी उठान गर्ने भन्ने हो ।

पार्टीभित्रको राजनीतिक गुटउपगुटको अन्त्य गर्न भेलाले कत्तिको भूमिका खेल्न सक्ला ?
पार्टीभित्र फरक मत हुँनै हुँदैन भन्ने सोच राख्नुहुँदैन । पार्टीभित्र फरक मतहरु रहनेछैनन् भन्ने हुँदैन । रहेका फरक मतहरुको मर्यादित व्यवस्थापना आजको आवश्यकता हो । फरक मतहरुलाई एउटै मालामा गाँसेर जाने कुरा महत्वपूर्ण हो । जिल्ला सभापतिहरुले परामर्श दिन सक्छन् । जिल्ला सभापतिहरु महासमिति वा केन्द्रिय समितिजस्तो अलग्गै समिति होइन । तर भेलाले उठाएका एजेण्डा र दिइने परामर्शले पार्टीलाई गति दिन सक्छ ।

प्रधानमन्त्री केपी ओली असार ५ गते चीन जाँदैहुनुहुन्छ । नेपाली कांग्रेसले कसरी लिएको छ ?
दक्षिणी मित्रराष्ट्र वा उत्तरी मित्रराष्ट्र दुवैसँग हाम्रो राजनीति, मनोविज्ञान र विश्वासको जगमा उभिएर हामीले ड्राइभ गर्ने हो । नेपालले दुईवटै देशको अर्थतन्त्रबाट लाभान्वित हुन चाहन्छाँै भनेर नेपालमा लगानी गराउने सन्दर्भमा राष्ट्रिय स्वाधिनता र सम्मानलाई केन्द्रमा राखेर व्यवसायिक रुपमा अगाडि बढ्नुपर्छ । प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल होस् भन्ने शुभकामना दिन्छाँै । उहाँले सतर्कतापूर्वक देशको हितमा लाभ हुने गरी भ्रमणको सदुपयोग गराउन सक्नुपर्छ ।

चिनियाँ र भारतीय रेल नेपालमा ल्याउने सरकारको एजेण्डा छ । यो कति सम्भव होला ?
निश्तय नै सम्भव छ । तर त्यसका पछाडि हाम्रो आफ्नै आवश्यकता र प्राथमिकता निर्धारणलाई केन्द्रमा राखिनुपर्ने कुरा अलग छ । नेपालमा रेल ल्याउन खोज्दा भारत र चीनले आफ्नो स्वार्थ पनि हेरेका छन् । नेपालले पनि आफ्नो स्वार्थ खोज्नुपर्छ । नेपालले लाभ लिने कुरामा पछाडि पर्नुहुँदैन । रेल ल्याएपछि नेपालको उत्पादनलाई उता पठाउन सकिन्छ कि सकिदैन भन्ने कुरा पनि सोच्नुपर्छ । नेपालले व्यवसायिक उत्पादनको क्षमतालाई बढाउनुपर्छ ।

विश्वकप फुटबल प्रतियोगिता भइरहेको छ । तपाईहरु पनि यसप्रति आकर्षित हुनुभएको छ । तर नेपालको खेल क्षेत्रको विकास त हुन सकेन नि ?
नेपालको क्रिकेट, फुटबल लगायतका खेल क्षेत्रको विकासमा हामी कति गम्भीर भएर लाग्यौँ भन्ने कुरा महत्वपूर्ण छ । हामीले खेल क्षेत्रको कुरा गर्दा खेलाडिको चुलो चौको पनि बुझ्नुपर्छ । उसको परिवारको समस्या बुझ्नुपर्छ । बुबा आमाको उपचार खर्च बुझ्नुपर्छ । खेल र खेलाडिलाई व्यवसायिक रुपमा बुझ्नुपर्छ । फन्डिङ कसरी जुटाउने भन्ने कुरालाई प्राथमिकतामा राख्नुपर्छ । उताबाट रेलभरी सामान ल्याउने, नेपालमा बेचेर पैसा बोकेर जाने मात्रै भयो भने नेपाललाई फाइदा हुँदैन ।

तर नेपाली खेल क्षेत्र राजनीतिक हस्तक्षेपका कारण खस्किदै गयो भन्ने आरोप छ नि ?
देश चलाउनेले फुटबल चलाउन खोजेर हुँदैन । राजनीतिज्ञले भन्दा बढि खेल क्षेत्रकै मान्छेले खेल बुझेको हुन्छ । खेल क्षेत्रको विकास कसरी गर्न सकिन्छ भन्ने कुरा राजनीतिज्ञलेभन्दा बढि खेल क्षेत्रमा लागेकाहरुले नै जानेका हुन्छन् । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटबल क्षेत्रको विकास कसरी गर्ने भनेर जानेका होलान् । व्यवसायिक रुपमा मैदानका रहेकाहरुलाई राजनीतिक दल वा राज्यले प्रोत्साहन गर्ने हो । लगानी र वजार प्रवद्र्धनमा सघाउने काम राज्यले गर्ने हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot