Logo

पतिको राजदुत पद जोगाउन कांग्रेस सचेतक भुषालले गरिन् ओलीसँग सम्झौता !



काठमाडौं, १९ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रतिनिधिसभाको सचेतक पुष्पा भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै आफ्ना पति डाक्टर चोपलाल भुषाललाई राजदुतबाट फिर्ता नबोलाउन आग्रह गरेको खुलासा भएको छ ।

स्रोतका अनुसार कांग्रेस सचेतक भुषालले प्रधानमन्त्री ओलीलाई हालै भेटेरै यस्तो आग्रह गरेकी हुन् । उनले आफूले सरकारको विरोधमा कुनैपनि अभिव्यक्ति नदिने भनेर प्रधानमन्त्री ओलीलाई आश्वस्त तुल्याएका थिईन् । भुषालका पति डाक्टर चोपलाल हाल बंगलादेशका लागि नेपाली राजदुतको रुपमा कार्यरत छन् ।

सम्बन्धित समाचार : 

ओलीको चीन भ्रमणपछि ९ देशका राजदुत फिर्ता बोलाउने

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालिन सरकारले नियुक्त गरेका विभिन्न ९ देशका राजदुतहरुलाई फिर्ता बोलाउने अन्तिम तयारी गरिसकेकोले कांग्रेस सचेतक भुषालले भने प्रधानमन्त्री ओलीलाई भेटेरै आफ्ना पतिलाई पूरा कार्यकाल राजदुत खान दिन आग्रह गरेकी थिईन् ।

त्यसको लागि उनले ओलीसँग एउटा अनौपचारिक र मौखिक प्रतिबद्धता समेत जनाएको खुलासा भएको छ । स्रोतका अनुसार भुषालले आफूले सरकारका विरोधमा कुनैपनि अभिव्यक्ति नदिने ओलीसँग वचनबद्धता जनाएकी छिन् । भुषालले प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीको नाम अस्विकृत गर्नुपूर्व पनि ओलीसँग कमिटमेन्ट गरेबमोजिम नै जोशीको बचाउ गरिनन् । उनको पार्टीले भने जोशीको बचाउ गरेको थियो ।

बहुमतीय प्रक्रियाबाट जोशीको नाम अस्विकृत गर्नुपूर्व कांग्रेस सदस्यहरुले संसदीय सुनुवाई विशेष समितिको बैठक नै बहिष्कार गरेका थिए । मिडियामा पनि कांग्रेसको तर्फबाट ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिक्रिया दिएका थिए । पार्टीको नीति र अडान अनुसार सचेतकले मिडियामा प्रतिक्रिया दिनुपर्नेमा तर भुषालले जोशीबारे कुनै प्रतिक्रिया दिईनन् ।

उनको मौनताले पनि कतै आफ्नो पतिको राजदुतको पद जोगाउन ओलीसँग सरकारको विरोधमा सार्वजनिक रुपमा नबोल्ने भनेर सम्झौता गरेको होईन त ? भन्नेबारे शंकाको ठाउँ दिएको छ ।

स्रोतका अनुसार राजदुत फिर्ता बोलाउनेसहितको प्रस्ताव हालैको क्याबिनेटमा परराष्टमन्त्री प्रदिपकुमार ज्ञवालीले लगेका थिए । ९ देशमा रहेका नेपाली राजदूतलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

कांग्रेससहितको तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारको सिफारिसमा कांग्रेस, राप्रपा र फोरम लोकतान्त्रिकको भागमा परेका राजदूतलाई फिर्ता बोलाउने तयारी भैसकेको सरकारका एक मन्त्रीले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

सरकारले फिर्ता बोलाउन लागेका राजदूतमा कांग्रेसको सिफारिसमा भएका राजदूतहरू क्रमशः अर्जुनजंगबहादुर सिंह (दक्षिण कोरिया), डा. विश्वम्भर प्याकुरेल (श्रीलंका), डा. चोपलाल भुसाल (बंगलादेश), रमेशप्रसाद कोइराला (कतार), भीमकृष्ण उदास (म्यानमार), राप्रपाको सिफारिसमा भएका प्रतिभा राणा (जापान), निरन्जन थापा (इजरायल) र भरतबहादुर रायमाझी (स्पेन) रहेका छन् ।

त्यस्तै तत्कालीन फोरम लोकतान्त्रिकको कोटामा भएकी शर्मिला पराजुली (ओमान) लाई पनि फिर्ता बोलाउने तयारी सरकारले गरेको छ । तर, प्रधानमन्त्री ओली भने पराजुलीलाई नहटाउने पक्षमा पुगेको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्