Logo

लगातार पानी परेपछि भक्तपुरमा उच्च सतर्कता, हवाई उडान रोकियो



साउन २१, काठमाण्डौ । हिजोदेखि लगातार परेको वर्षाले भक्तपुरका केही वस्तीहरुमा बाढीको त्रास बढेको छ ।

पानी पर्दा डुबानमा पर्दै आएको भक्तपुरमा निरन्तर वर्षा भएपछि उच्च सतर्कता अपनाइएको छ । काठमाडौं उपत्यकामा भएको अत्याधिक वर्षाले खोलाहरुमा आएको बाढी फेरि पनि भक्तपुरका बस्तीमा पस्ने खतरा रहेकाले सतर्कता अपनाइएको हो ।

भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी भक्तपुरमा पस्दा सल्लाघारी, श्रीजनानगर, राधेराधे, दुवाकोट लगायतका स्थान डुबानमा पर्ने गर्दछन् । यसअघि २८ असार र २० साउनमा भक्तपुर डुबानमा परेको थियो । बाढीले राधेराधे र सल्लाघारी जोड्ने पुलमा क्षति भएकाले मर्मत गरिएको थियो ।

बिहानैदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा पानी परेको छ । खोला तथा नदीहरुमा ठूलो बाढी आएको छ ।

पूर्वदेखि पश्चिमसम्मै मध्यमखालको पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मको रेकर्डअनुसार काठमाडौं उपत्यकामा २८ दशमलव ४ मिलिमिटर पानी परेको छ ।

पश्चिमको एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेकाले सतर्क हुनुपर्ने मौसमविदले बताएका छन् ।

वर्षाका कारण काठमाडौंबाट हुने उडान अवतरण पनि प्रभावित भएको छ ।

बिहान ६ बजेसम्म १५ सय मिटर मात्र भिजिबिलिटी भएकाले उडान अवतरण रोकिएको थियो ।



प्रतिक्रिया दिनुहोस्