काठमाडौँ, ८ भदौ / प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आजका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक भोलि शनिबार बस्ने भएको छ ।
पार्टीको महासमिति बैठकको तयारी र अन्य समिति गठन सम्बन्धमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्षनेताहरुबीच आज दिनभरको छलफल र सहमतिपछि बैठक भोलि बिहान ११ बजे बस्ने तय भएको हो ।
पार्टीका विभिन्न समितिको गठन र महासमिति बैठकको तयारीका सम्बन्धमा शीर्षनेताहरुबीच सल्लाह गरी टुङ्गो लगाएर मात्र बैठक बस्ने सहमति भएपछि बैठक भोलिका लागि तय भएका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले बताए ।
विशेषगरी महासमिति बैठकको स्थान र मिति, कार्यसम्पादन तथा अनुशासन समिति गठनका सम्बन्धमा नेताहरुबीच छलफल भएको उनलेजानकारी दिए । “धेरै विषयमा सहमति भए पनि केही विषयमा टुङ्गो लाग्न बाँकी छ,” नेता बडूले भने ।
गत वैशाख १६ गते सम्पन्न काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले यही भदौ महिनामा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको थियो । उक्त बैठकले स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनः संरचनाअनुसार पार्टीको पुनः संरचना गर्न पार्टीको विधानमा समयानुकूल परिमार्जनका लागि विधान संशोधन मस्यौदा समिति बनाउने निर्णय पनि गरेको थियो ।
सोही निर्णयअनुसार बिहीबार काँग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो ।