Logo

सरकारसँग अहिले नै निरास हुनुपर्ने कुनै कारण छैन : नारायणकाजी श्रेष्ठ



गोरखा, २७ असोज : नेपाल कम्युनष्टि पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकार पार्टीको घोषणापत्रअनुसार काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज गोरखाको सिरानचोक गाउँपालिका–४ मा सिरानचोक गाउँपार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले निर्वाचनका बेला जनतासँग गरेका सवै प्रतिबद्धता पूरा गर्न सरकार लागिपरेको भन्दै अहिले नै सरकारको आलोचना गर्ने बेला नभएको बताउनुभयो ।

“सरकारसँग अहिले नै निरास हुनुपर्ने कुनै कारण छैन, हामीले गरेका सवै प्रतिबद्धता पुरा गर्छौ”, उहाँले भन्नुभयो, “हाम्रो पार्टीले घोषणपत्रमा वृद्धाभत्ता पाँच हजार बनाउने भनेकै हो, त्यो कुनैपनि हालतमा पाँच वर्षभित्रमा रु पाँच हजार बनाएरै छाड्छौ ।”

राजनीतिक परिवर्तनलाई संस्थागत गर्न वर्तमान सरकारले अहिले समाजिक न्यायसहितको समृद्धि मुलुक बनाउने कार्यभारलाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेको बताउँदै नेता श्रेष्ठ अब विकास र समृद्धि कम्युननिष्ट पार्टीकोे मात्र नभई सवै पार्टीका साझा एजेण्डा बन्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल कम्युनिष्ट पार्टी, काँग्रेस वा अरु जुनसुकै पार्टी होस्, सबै पार्टीले सबैको निम्ति विकास हो भनेर सहकार्य गरेर अघि बढ्नुपर्छ ।”

रेल, सिँचाइ आयोजना, सडक, पर्यटनको विकास र उद्योगको विकास गरेर नेपाललाई नमुना र विकसित मुलुकको रुपमा परिणत गर्ने दिशातिर सरकारले गुणात्मक ढङ्गले काम गरिरहेको उहाँले बताउनुभयो । RSS



प्रतिक्रिया दिनुहोस्

Screenshot