Logo

नेपालमा लगानी भित्र्याउन अब हामीलाई कुनै समस्या छैन : कुमार पन्त (भिडियोसहित)



एनआरएन ग्लोबल नलेज कन्भेन्शनका संयोजक एवम् संघका उपाध्यक्ष कुमार पन्तले विज्ञ सम्मेलनमार्फत आफूहरुले स्वेतपत्र जारी गर्ने जानकारी दिएका छन् । स्वेतपत्रमा कृषि, पर्यटन, उर्जा र अन्य सम्भावित क्षेत्रको बारेमा उल्लेख गरिने पनि उनको भनाई छ । बिस्तारै नेपालमा लगानीको वातावरण बन्दै गएको उनको विश्वास छ। उनले भनेका छन्,”त्यसैले अहिले गैरआवासीय साथीहरुले पनि धेरै लगानी गरिरहनुभएको छ।” पत्रकार ऋषि धमलाले संघका उपाध्यक्ष पन्तसँग विज्ञ सम्मेलन र संघका भावी योजनाहरुबारे केन्द्रित रहेर प्राईम टाईम्स टेलिभिजनको लोकप्रिय कार्यक्रम ” जनता जान्न चाहन्छन” मा विशेष कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

प्रथम विश्व विज्ञ सम्मेलनको उद्देश्य के हो ?

अब यो पुँजीभन्दापनि महत्वपूर्ण कुरा विदेशमा बसेर हाम्रा धेरै नेपालीहरुले यति धेरै ज्ञान र सीप सिक्नुभएको छ । नेपालको समृद्धिको निम्ति त्यो पुँजीभन्दापनि महत्वपूर्ण हुनसक्छ भन्ने लागेर हामीले पहिलोपटक काठमाडौंमा गैरआवासीय नेपालीहरुको विज्ञ सम्मेलन गर्दैछौं । अब यो हरेक वर्ष हुँदै जान्छ ।

यो विज्ञ सम्मेलनले देशको विकास, उन्नति र प्रगति गर्न सक्छ ? विज्ञहरुको सुझाव कार्यान्वयन हुन सक्छ त ?

होईन, हामी सुझाव दिनेमात्रै काम गर्दैनौं । हामी एउटा स्वेतपत्र जारी गर्छौं । त्यो स्वेतपत्र र त्यहाँ भएका कतिपय कुराहरुलाई हामी हाम्रै लगानी (हाम्रै साथीहरुको लगानी, ज्ञान र सीपमा आधारित लगानी) पहिलो कुरा यो कार्यक्रम चलाएर हामी लगानीपनि ल्याउँछौं । र, दोस्रो कुरा राज्यलाईपनि हाम्रो स्वेतपत्र हेरेर तपाईहरुले यसलाई कार्यान्वयन गर्न सक्नुहुन्छ भनेर लिएर जानुहोस भन्न चाहन्छौं ।

यसपटक तपाईहरुले जारी गर्ने स्वेतपत्रमा के-के हुन्छन् ?

यसमा जस्तो आजपनि विभिन्न कार्यपत्रहरुमा छलफल भैरहेको छ । कृषि आधुनिक प्रविधि भित्र्याएर नेपालको कृषि उत्पादन सुरु गर्नुपर्छ । हामी कृषि प्रधान मुलुक भन्छौं तर सबै खाद्य वस्तु भारतबाट ल्याएर खान्छौं । निर्यातउन्मुख अर्थतन्त्रमा सबै कुरा हामीले आयात गर्नुपर्छ । हामीले निर्यात गर्नुपर्ने कुराहरु केही पनि छैनन् । यस्तो अवस्थामा कृषिमा हाम्रो स्वेतपत्रमा कृषिका कुरा पर्छ । कृषिलाई कसरी आधुनिकीकरण गर्ने ? भनेर हामी स्वेतपत्रमा उल्लेख गर्नेछौं । त्यस्तै, पर्यटनको नेपालमा ठूलो सम्भावना छ । जबकी विदशेमा एउटा सानो हिमाल देखियो भनेपनि सयौं किलोमिटर टाढाबाट मान्छेहरु आएर हिमाल हेर्छन् । अब हाम्रो चाहीँ यस्तो हिमालै हिमाल छन् । सुन्दर पहाडहरु छन् । अनि, तराईमा यति खेतीयोग्य जमिन छ । हाम्रो देशमा पर्यटनको अथाह सम्भावना छ । त्यसैले पर्यटनको विकास कसरी गर्न सकिन्छ भन्ने कुरा हाम्रो स्वेतपत्रमा पर्छ । त्यसपछि हामी नेपाललाई जलस्रोतको देश भन्छौं । जलस्रोतमा धनी देश हो भन्छौं । तर, विजुली अझै हामीलाई चाहिएको छ । जलस्रोतको क्षेत्रमा कसरी प्रभावकारी काम गर्न सकिन्छ त भनेर हामी स्वेतपत्रमा उल्लेख गर्नेछौं । हाईड्रो ईन्जिनियर साथीहरु बाहिर हुनुहुन्छ । जलस्रोतको क्षेत्रमा कसरी प्रभावकारी काम गर्न सकिन्छ भनेर पनि हामी उल्लेख गर्नेछौं । यस्तै यस्ता कुराहरु खासगरी विकाससम्बन्धी कुराहरु स्वेतपत्रमा उल्लेख गर्छौं ।

तपाई त सफल अनि युवा व्यवसायी हो, नेपालको विकासमा आज हामी कहाँ चुकेकोजस्तो लाग्छ ?

देश समृद्ध हुनुको निम्ति, विकास हुनको निम्ति राज्यले लिने नीतिहरु ठीक हुनुपर्छन् । शान्ति, अमनचयन तथा सुरक्षा हुनुपर्छ । देशमा लगानीमैत्री वातावरण बन्न जरुरी छ । अहिले त लगानीको धेरै राम्रो वातावरण बनेको छ । बन्दैछ । अहिले विगतजस्तो छैन । एफ.डि.आई. ल्याउनको लागि धेरै झन्झटिलो थियो । अब गैरआवासीय नेपालीहरुले लगानी गर्दा नेपालमा वनवे मात्रै हुन्थ्यो । मान्छे आफूले कमाएको पुँजी मान्छेले जुनसुकै कुनामापनि लैजान चाहन्छ । तर, नेपालमा पैसा पठायो । यहाँ पैसा पठाईसकेपछि कमाउनपनि सक्छ । आफूले कमाएको पैसा विदेश बसेर उपयोग गर्न पाईँदैन् । धेरै झन्झटहरु हटेका छन् । बिस्तारै नेपालमा लगानीको वातावरण बन्दैछ । त्यसैले अहिले गैरआवासीय साथीहरुले पनि धेरै लगानी गरिरहनुभएको छ।

उसो भए गैरआवासीय नेपालीहरुले यसपटक (तपाईहरुले) नेपालमा कति लगानी भित्र्याउने सोच्नुभएको छ ?

हामीले भर्खरैमात्रै कमसेकम १० अर्ब रुपैयाँ बराबरको लगानी नेपालमा ल्याउने भनेर घोषणा गरेका छौं । तत्काल १० अर्ब नेपालमा ल्याउने भनेर भनेका छौं । त्यसमा नेपाल सरकार, हामी र नेपालको निजी क्षेत्रपनि जोडिन्छ । एक प्रकारले भन्ने हो भने हामीले त्यो “मिच्युल फण्ड” बनाउने भनेर सहमति भएको छ । यसमा नेपाल सरकारले ५ प्रतिशत लगानी गर्छ । नेपालको नीजी क्षेत्रले ५ प्रतिशत लगानी गर्छ । अनि, बाँकी गैरआवासीय नेपाली हामीले गर्छौं । हामी ५ प्रतिशत सिड मनी हाल्छौं । कम्पनीलाई आईपिओमा लगेर संसारभरिबाट आह्वान गरेर नेपालमा लगानी गर्न आग्रह गर्छौं ।

नेपाललाई समृद्ध बनाउने भनेर खोक्रो कुरा गरेको तर काम नगरेको भनेर तपाईहरुमाथि गम्भिर आरोप पनि लगाईएको छ नि ? यसलाई के भन्नुहुन्छ ?

कुनैपनि कुराको एउटा उद्देश्य नबोकी आफ्नो गन्तब्य पुग्न सकिँदैन् । होला, हामीले विभिन्न समयमा नेपालमा लगानी ल्याउँछौं भनेका छौं । नेपालमा रोजगारीको वातावरण सिर्जना गर्न हामी सहयोगी हुन्छौं भनेका छौं । नेपाललाई कायापलट गरिदिन्छौं भनेर कहिल्यै भनेका छैनौं । नेपालमा सम्पूर्ण रोजगारीको ठेक्का हामी लिन्छौं भनेर कहिल्यैपनि भनेका छैनौं । तर, कहिलेकाहीँ कुनैपनि कुराको उद्देश्य पूरा गर्नको लागि त लक्ष्य बनाउनुपर्छ । हाम्रो संस्था स्थापना भएको बेला हामीले उत्साहित भएर एक सय मिलियन तुरुन्तै ल्याउँछौं भनेका थियौं । तर, धेरै समय लाग्यो । अहिले आएर हेर्ने हो भने त्यो एक सय मिलियन हाम्रो लागि केहीपनि होईन ।

तर, ल्याउन सक्नुभएन नि ? गफमात्रै भयो भन्ने आरोप छ ।

किन ल्याएका छैनौं ? ल्याईरहेका छौं । अहिलेसम्म नेपालकै ठूलो अस्पताल हाम्रो संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको लगानीमा खुलिसकेको छ । अब, नेपालकै सबैभन्दा ठूलो होटेल शेष घलेले अहिले बनाईरहनुभएको छ । सानिमा बैंक तपाईले देखिरहनुभएको छ । हाम्रो वर्तमान अध्यक्षको लगानीपनि देखिरहनुभएको छ । यस्ता कयौं साथीहरु छन् । ईन्स्योरेन्समा छन् । अझै अहिले नयाँ बैंकहरु आउँदैछन् । त्यहाँपनि गैरआवासीय नेपालीहरुको सबैभन्दा ठूलो बैंक आउँदैछ ।

जसरी काम हुनुपर्दथ्यो त्यसरी भएन नि ? खोई त विकास भएको ?

अहिले तपाईले गैरआवासीयहरुले पठाएको रेमिट्यान्स हेर्नुभयो भने त्यसले नेपालको अर्थतन्त्र धानिरहेको छ अहिले । त्यहाँपनि हेर्नुपर्यो नि । ३५ प्रतिशत मुलुकको अर्थतन्त्र रेमिट्यान्सले धानिएको छ । यो धेरै काम गैरआवासीय नेपालीहरुले के गर्न सक्छन् ? गैरआवासीय नेपालीहरुले पैसा नपठाएको भए (सबैले स्वीकार गरेको कुरा हो, नेताहरुले पनि स्वीकार गर्नुभएको छ । प्रधानमन्त्रीले पनि स्वीकार गर्नुभएको छ।)।

आजको दिनमा तपाईहरुले उठाएका सबै मागहरु सरकारले पूरा गर्यो त ?

सबै मागहरु एकैचोटी सम्बोधन हुँदैनन् । नेपाल सरकारका अर्थमन्त्रीसँगपनि हामीले कुरा गरेका छौं । प्रधानमन्त्रीसँगपनि कुरा गरेका छौं । गैरआवासीयहरुको लगानी ल्याउनको लागि नेपालमा कहाँ कहाँ समस्या छ, त्यो तपाईहरु भन्नुहोस भनेर भन्नुभएको छ । अहिले एउटा समिति नै बनेको छ । नेपालमा लगानी भित्र्याउनको लागि अब हामीलाई कुनै समस्या छैन् । अब सहजीकरण हुँदैछ । हुन्छ । हामी सबै समस्याको निराकरणउन्मुख छौं ।

तपाईहरुको विश्वभरि नै सञ्जाल छ, तर नेपालमा पर्यटकहरु त पठाउन सक्नुभएन नि ?

नेपालमा पर्यटकहरु नै आएनन् भन्नुभयो । सायद, तपाईले आँकडा हेर्नुभएन कि क्या हो । अघिल्लो वर्ष सबैभन्दा बढि रेकर्ड हो नेपालमा । विदेशी पर्यटकहरु नेपाल आउनको लागि भौतिक पूर्वाधार विकास हुनुपर्छ । सुविधा दिनुपर्छ । उनीहरुलाई आकर्षित गर्नुपर्छ । अहिले आएका पर्यटकहरुको आँकडाले मात्रै हामीलाई पुग्दैन । यसलाई अझ धेरै बढाउनुपर्छ । अब पर्यटकहरु बढाउनको लागि के गर्ने भन्नेबारे त अहिले हामी छलफलमा छौं । हामीले विदेशीहरुलाई देखाउने धेरै कुराहरु छन्, तर पनि पर्यटकहरु किन आउँदैन त भनेर हामी छलफल गरिरहेका छौं । दुई, तीन वर्षदेखि हेर्नुहुन्छ भने टुरिष्टको संख्या घटेको छैन । सँधैभरि बढिरहेको छ । यसमा अझै कसरी बढाउने भनेर गैरआवासीय नेपालीहरु हामी गृहकार्य गरिरहेका छौं ।

नेपालमा कृषिको विकास पनि हुन सकेन ? तपाईहरुले केही योगदान नै पुर्याउनुभएन नि ?

मैले अघिपनि भनिसकें की नेपाल कृषिप्रधान देश भन्छौं तर, खाद्य वस्तुहरु बाहिरबाट मगाएर खान्छौं । आधुनिक कृषि प्रणाली र प्रविधि लगाएर कृषि गरियो भने नेपालले खानेकुराहरु अन्तबाट किनेर ल्याउनुपर्दैन् । त्यो कुरा, हामीले बुझेका छौं । र, हामी त्यही भएर नेपाल सरकारसँग हामी कसरी सहकार्य गरेर नेपाल कृषिमा आधुनिकीकरणसँगै आत्मनिर्भर बन्न सकिन्छ भनेर छलफल गरिरहेका छौं । त्यो कुरा हाम्रो स्वेतपत्रमा आउँछ ।

हाईड्रोमा पनि तपाईहरुले धमाधम लगानी गरिरहनुभएको छ भनेर कुराहरु बाहिर आएका छन्, तर यसमा त धेरै चूनौतिहरु छन नि?

चूनौति हेर्नुहोस, हामी विदेशमा व्यापार गर्छौं । विदेशमा पनि लगानी गर्दा चूनौति नभएका ठाउँहरु कहीँपनि हुँदैनन् । हाईड्रोपावरमा हामीले लगानी पनि गरेका छौं । लगानी गरेर प्रशस्त नाफा पनि कमाईरहेका छौं । नेपाल विद्युत प्राधिकरण, राज्यले अहिले किनिदिरहेको छ । हामीले त उत्पादन गरेर राज्यलाई दिने हो, राज्यले पैसा दिन्छ । अब राज्यले कुनै दिन हामीलाई पुग्यो भनेको दिन अर्को कुरा होला । तर, राज्यले त हाईड्रोमा लगानी गर्नको लागि सबैलाई प्रेरित गरिरहेको छ । र, सहुलियतपनि दिईरहेको छ । जतिपनि हामीले हाईड्रोमा लगानी गरेका छौं । सबैमा हामी सन्तुष्ट छौं । राम्रो लगानी समूह छनौट गरेर हाईड्रोमा लगानी गर्दा लगानी खेर जाँदैन् ।

गैरआवासीय नेपाली संघको यो १५ वर्षको दौरानमा नेपालको विकासमा आमुल परिवर्तन त गर्न सकेन, यो कुरा तपाई मान्न तयार हुनुहुन्छ ?

गैरआवासीय नेपाली संघबारे तपाईले पहिलो कुरा त के बुझ्नुपर्यो भने यो हाम्रो पहिलो पुस्ताको डायस्पोरा हो । नेपालीहरु विदेश जान थालेकै भर्खरै २५ वर्ष भयो । सुरुमा विदेश जाँदा त हामी रिक्तो हात लिएर गएका थियौं । हामीले त्यहाँ दुःख गरेर कमाएको पैसा, त्यहाँ सिकेको सीप र ज्ञान त्यसलाई भर्खर नेपाल ल्याउन सुरु भएको छ । यो त पहिलो चरण हो । भर्खरै सुरु भएको छ । हामीले सिकेका सीपहरु नेपाल र नेपालीहरुको लागि प्रयोग हुन्छ । त्यही भएर त हामी यहाँ आएका छौं ।

कतिपयले त नेपाल र नेपालीहरुलाई बिस्रिएका छन् ?

८० लाख नेपालीहरु बाहिर बस्छन् । तीमध्ये केही नेपालीहरुको कुरा गर्नुहुन्छ भने त अर्को कुरा हो । होईन, भने जतिपनि नेपालीहरु बाहिर जानुभएको छ । म संसारभरि साथीहरुको बीचमा हिँड्छु । गैरआवासीय नेपालीहरुको कार्यक्रममा भाग लिन्छु । कुनै एउटा पनि नेपालीले नेपाललाई माया नगरेको मैले पाईँन् । जसले पनि नेपाल कहिले विकसित हुन्छ । नेपाल समृद्ध कहिले हुन्छ, स्वदेशमै रोजगारीको सिर्जना कहिले हुन्छ ? र त्यो अवसर पाए कहिले नेपाल फर्किन पाईएला भनेर उहाँहरु चिन्ता व्यक्त गर्नुहुन्छ । अमेरिकामै गएर साथीहरुलाई सोध्नुभयो भनेपनि, अथवा अष्ट्रेलियाका साथीहरुलाई सोध्नुभयो भने उहाँहरुले नेपालमै रोजगारीको अवस्था सिर्जना भयो भने हामी नेपाल नै जान्छौं भन्नुहुन्छ ।

तपाईहरु एक दर्जनबाहेक नेपालमा कसले लगानी गरेको छ ? मलाई नाम भनिदिनुहोस् त ? उपेन्द्र महतोदेखि भवन भट्टसम्म बाहेक अरुको नाम भनिदिनुहोस् त?

तपाईले चिनेकामध्ये सबैले लगानी गर्नुभएको रहेछ । तपाईले नचिनेका मान्छेहरुले पनि लगानी गर्नुभएको छ । मैले अघिपनि भनिसकें की मुलुकको अर्थतन्त्रै रेमिट्यान्सले चलेको छ । धानेको छ । यसमा तपाईले चिनेका १० जना मित्रहरु त पर्दैनन् नि । जतिपनि उद्योगपति नेपालीहरु विदेशमा छन्, उनीहरुले केही न केही लगानी नेपालमा गरेका छन् । कसैले देखाएर लगानी गरेका छन् । कसैले सुटुक्क गरेका छन् । कसैले नाफा कमाएर बसिरहेका छन् । सबै जना मान्छे ईक्सपोज हुन चाहँदैन् । र, त्यो जरुरी पनि छैन ।

नेपालमा लगानीको वातावरण छ भने पनि लगानीको सुरक्षाको सुनिश्चितता छैन भनिन्छ नि ?

त्यो भनेर हामी उम्किन चाहँदैनौं । हाम्रो संस्था सुरु हुँदा नेपालमा जनयुद्ध थियो । त्यस्तो बेलामा पनि होईन, हामी नेपालमा एक दिन राम्रो दिन आउँछ । हरेक मुलुकको समय आउँछ । विकसित हुने समय आउँछ । अब हाम्रो पालो हो । नेपालको पालो हो भनेर हामीले अभियानकै रुपमा स्थापना गरेका थियौं । नेपालमा शान्ति, सुरक्षाको वातावरण बन्छ भनेर हामी त्यो बेलापनि हामी गैरआवासीय नेपाली संघ स्थापना गरेर नेपालको हित र समृद्धिकोनिम्ति विशेष गरेर आर्थिक विकास र समृद्धिको निम्ति त्यतिवेलादेखि संगठित भएका हौं ।

नेपाल विकास हुन नसक्नुको मुख्य कारण चाहीँ के हो त ?

गैरआवासीय नेपाली संघको नीति नै के हो भने नेपालको राजनीतिक नेतृत्वलाई हामी गाली गर्दैनौं । यहाँका नेताहरुलाई पनि गाली गर्दैनौं । हामी केही गर्न सक्छौं भने पहिला गरेर देखाउने हो नि । आफूले पहिले गरेर देखाएपछि लौ हेर्नुहोस भन्ने हो । तर, नेताहरुलाई गाली गर्नुहुँदैन । उहाँहरुपनि यहीँ हुर्किनुभएको हो नि। यही माटोबाट सिक्नुभएको हो नि। आजको दिनमा राजनीतिक नेतृत्वलाई गाली गरेर नेपालमा यो भएन, त्यो भएन ? भनेर गाली गर्नुहुँदैन् । अब सबैले ईच्छाशक्ति राख्नुपर्छ । सबै मिलेर यो देश बनाउनुपर्छ । देश बन्छ ।

सबै नेपालीहरु स्वदेश फर्किने कत्तिको सम्भावना छ ? सरकारले त ५ वर्षभित्र सबैलाई स्वदेशमै फर्काउने भनेर घोषणा गरिसकेको छ नि ?

सबै फर्कने भन्ने कुरा त हुँदैन् । अमेरिकी नागरिकहरुपनि बाहिर छन् । म जर्मनीमा बस्छु, त्यहाँ कति अमेरिकन नागरिकहरु छन् । जर्मनकै नागरिकहरु कति अमेरिका गएर बसेका छन् । आज हरेक दश जना गएर गन्नुभयो भने एक जना जर्मनी हुन्छन् । त्यसकारण यो ग्लोबलाईज संसारमा मान्छेहरु कहाँ बस्छन् भन्ने कुरा महत्वपूर्ण होईन । अहिले पनि त्रिभुवन विमास्थलमा हेर्नुहुन्छ भने करिब १५ सयको संख्यामा युवाहरु बाहिरिरहेका छन् । अब बाहिर गएका मान्छेहरु फर्केर आउनेभन्दापनि यहाँ बसेकाहरुलाई अब रोजगारीको अवसर नपाएर बाहिरिन नपरोस भनेर राज्यले ध्यान दिनुपर्छ । हामी राज्यलाई सघाउन चाहन्छौं । यो चाहीँ मुख्य कुरा हो अहिले ।

उसो भएर युवाहरुलाई विदेश जान रोक्नु हुँदैन भन्न खोज्नुभएको हो ?

हो । आजको दिनमा संसारको जुनसुकै कुनामा बसेरपनि नेपाललाई माया गर्न सकिन्छ । म जर्मनीमा बस्छु । तर, म हरेक एक एक महिनामा नेपाल आउँछु । मलाई यो मातृभुमिप्रतिको माया भएर नै म यहाँ आएको छु । नेपालको हितको निम्ति मैले त्यहाँ बसेरपनि काम गरेको छु । नेपाललाई माया गर्न यही धर्तीमा मात्रै बसिरहनुपर्छ भन्ने होईन ।

तपाईको संगठनभित्र राजनीति चाहीँ कत्तिको छ ?

तपाईलाई नढाँटी भन्दा हामीमाथि जुन राजनीतिकरण भयो भन्ने आरोप छ, त्यो हाम्रो संस्थालाई भएको चूनौतिमध्येको एउटा चूनौति हो । तर, जसरी सुरुको दिनमा यो संस्थाभित्र राजनीतिकरण हाबी थियो । तर, आज आएर भन्दाखेरि म तपाईलाई ढुक्कका साथ भन्न सक्छु की गैरआवासीय नेपाली संघलाई विशुद्ध यो सामाजिक कामलाई संस्थाको रुपमा राख्नुपर्छ । सबै मान्छेहरु अटाउने, जाति, सबै भाषा, सबै धर्म र सबै पार्टीका मान्छे अटाउने सामाजिक संस्थाको रुपमा यसलाई विकास गर्नुपर्छ भन्ने कुरामा सम्पूर्ण पार्टीका मान्छेपनि आजको दिनमा सचेत छन् ।

तर, राजनीतिक दलको स्वार्थ अनुसार अहिलेको नेतृत्वले काम गर्नु भएन है ? यो मेरो व्यक्तिगत सुझाव छ :

विल्कुलै गर्दैन् । राजनीतिक विचार भएको भए त गैरआवासीय नेपाल संघ नै चाहिने थिएन् नि । तपाई ढुक्क हुनुहोस गैरआवासीय नेपाली संघले नेपालको राजनीतिक दलहरुको काम गर्ने हो भने यो संस्था चाहिएको नै थिएन ।

तपाईहरुको निर्वाचनमा त त्यही देखिन्छ नि ? दुई वटा प्यानल, तीन वटा प्यालन अनि राजनीतिक दलको स्वार्थ अनुसार उम्मेद्धवार उठाउनुहुन्छ नि ?

कतिपय कुराहरु हाम्रो रगतमै आउँदो रैछ । हामीसँग यो निर्वाचन भनेपछि अलिक बढि हौसिने । अलिक बढि रमाईलो मान्ने । निर्वाचन भन्नेबित्तिकै हामी नेपालीहरुलाई चाडजस्तो लाग्छ । त्यसकारण त्यहाँभित्र चुनाव लड्नको लागि नेपालजस्तो सिपालु अरु कोही पनि हुँदैनन् । निर्वाचनबारे हामीभित्र विकृति छैन भनेर म दाबी गर्दिन् । विद्यानलाई स्वच्छ, निश्पक्ष बनाउनेबारे हिजोदेखि हाम्रो छलफल समेत भैरहेको छ ।

उसो भए गैरआवासीय नेपाली संघलाई फुटाउ र राज गर्छु भनेर कसैले नसोचेपनि हुन्छ ?

कसैले पनि हामीलाई फुटाउन सक्दैन् । कसैले एनआरएनएमा राजनीतिकरण गर्छु भनेर कोशिस गर्छु भन्यो भने त्यो पहाडमाथि कुईनो ठोक्काएको जस्तो हो । कसैले सक्दैन् ।

अहिलेको नेतृत्व सफल हुन्छ ?

हामी त्यति कमजोर छैनौं । वास्तवमै हामी सफल हुन्छौं । हामीलाई असफल हुने छुटै छैन । गैरआवासीय नेपाली संघ यति मजबुद छ । भवनजीको यो टिम सफल हुन्छ । सफल हुुनुपर्छ ।

नेपालीहरुको चाहनाबमोजिम यो टिमले काम गर्न सकेको छ त?

नेपालीको चाहना त हेर्नुहोस यहाँ धैरै छ चाहना । गैरआवासीय नेपालीहरुले छिटो छिटो काम गरिदिए हुन्थ्यो भन्ने चाहना छ । नेपाल छिटो समृद्ध बनिदिए हुन्थ्यो भन्ने चाहना छ । हामीलाई पनि छिटो नेपाल समृद्ध बनाउन पाए हुन्थ्यो भन्ने हुटहुटी छ । सबै कुरा हामीले चाहनेबित्तिकै त हुँदैन् । तर, हामी हाम्रो जिम्मेवारीबाट विमुख छैनौं । गैरआवासीय नेपाली संघको वर्तमान नेतृत्व आफ्नो कार्यभारहरुलाई सम्पन्न गर्नको निम्ति सफल छ ।

तपाईहरुको यो नेतृत्वले पनि एक वर्षको समय व्यतित गरिसक्यो होईन र ? अब कार्यकाल ३ वर्षको बनाउने भन्ने हल्ला छ नि ?

छैन । अब एक वर्ष बाँकी छ ।

उसो भए अबको अध्यक्ष तपाई नै हो ?

तपाईले भन्नुभयो अब मैले चाहीँ अध्यक्ष म बन्दिन भनेर किन भन्नें ? हाम्रो विधानमा दुई पटकभन्दा बढि उपाध्यक्ष हुन पाईदैन भनेको छ । म महासचिवपछि दुई चोटी उपाध्यक्ष भैसकें । अब फेरी फर्केर म उपाध्यक्ष बन्न पाउँदिन् । विद्यानले त्यो दिँदैन् । अब म कि अध्यक्ष लड्नुपर्छ, होइन भने रिटायर्ड लाईफमा जानुपर्छ । अरु विकल्प नै छैन ।

तर, तपाई र वर्तमान अध्यक्ष भवन भट्टबीच सहमति भएको छ अरे नि ?

हो, त्यसलाइ सहमति पनि भन्दा हुन्छ । भवनजीको यो कार्यकालपछि म अध्यक्ष बन्ने भनेर त्यो खालको सहमति भएको हो । उहाँ र मबीच भएको सहमतिमा एकचोटी मैले उहाँलाई सघाउने र अर्को पटक उहाँले मलाई निर्वाचनमा सघाउने सहमति भएको हो । यसमा कुनै कुरा लुकाउनु वा ढाँट्न जरुरी छैन । मैले उहाँलाई सघाउँदैमा उहाँले जितेको र उहाँले मलाई सघाउँदैमा मैलेपनि जित्ने भन्ने कुरा हुँदैन् ।

उसो भए उहाँले नसघाएपनि तपाई अध्यक्षको उम्मेद्धवारीबाट ब्याक हुनुहुन्न ?

होईन, म उम्मेद्धवारी बन्ने हकमा उहाँले मलाई सघाउनुुहुन्छ । त्यसमा कुनै शंका नै छैन । सहमतिमा तलमाथि हुनुहुँदैन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot