Logo

‘कुखुराको मुल्यपनि उत्पादक संघले निर्धारण गर्न पाउनुपर्ने’



‘भारतमाझैं नेपालमा पनि किसानहरु आत्महत्या गर्न बाध्य हुनुपर्ने अवस्था नआओस्’
काठमाडौँ,१९ कात्तिक । नेपाल बोईलर कुखुरा पालक तथा उत्पादक संघले कुखुरा व्यवसायी संघले आफुखुशी जिउँदो कुखुराकोे मुल्य निर्धारण गर्दा उत्पादक किसान वर्गलाई ठूलो मर्का परेको भन्दै यसबारेमा सरकारको ध्यानाकर्षण गराएको छ ।

समोबार रिपोर्टस क्लब नेपालमा पीडित किसानहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा संघले सरकारको यस्तो ध्यानाकार्षण गराएको हो । विदेश नगई स्वदेशमै केही गरांै भन्नेहरुलाई सरकारले बेवास्ता गरेको उनीहरुले आरोप लगाएका छन ।
कुखुरा व्यवसायी संघले आफुखुशीतन्त्रबाट बेला–बेलामा मुल्य तलमाथि गरिरहँदा वास्तविक किसानहरुले आफ्नो उत्पादनको उचित मुल्य नपाएको गुनासो छ ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले किसानले बिक्रि गर्ने उत्पादनलाई कुखुरा पालक किसानहरुको संघबाट नै मुल्य निर्धारण गर्नुपर्ने माग गरे । दानाको मुल्य नेपाल दाना उद्योग संघले निर्धारण गरेझै र चल्लाको मुल्य नेपाल ह्याचरी संघले गरेजस्तै कुखुराको मुल्यपनि किसानको संघले निर्धारण गर्न पाउनुपर्ने उनको माग छ ।

वास्तविक किसानको परिश्रमलाई खोर र काँटामा नगरी ‘कोल्ड स्टोर’मा आफुखुशी मुल्य निर्धारण हँुदा किसानहरु मर्कामा परेका उनको भनाई छ । सरकारले बेलैमा यो बिषयमा गम्भिर चासो नदेखाए भोलि गएर भारतमाझैं नेपालमा पनि किसानहरु आत्महत्या गर्न बाध्य हुनुपर्ने उनको भनाई छ ।

नेपालमा खोर दर्ता गर्दा झन्झटिलो सरकारी प्रक्रियाको कारण किसानले आफ्नो फार्म दर्ता गर्न नपाएको पनि उनको गुनासो छ । फार्म दर्ता गर्न नपाउँदा कुखुराको बिमाको बारेमा पनि अगाडि बढ्न नसकेको उनले जनाए । उनले भने,‘यही कारणले गर्दा खाडी मुलुकबाट नेपाल फर्केपछि ढुक्कले कुखुरापालन व्यवसायमा लाग्नसक्ने अवस्था पनि अहिले छैन’।

कार्यक्रममा बोल्दै पीडित किसान सुवास न्यौपानेले ‘कोल्ड–स्टोर’ मा कुखुराको जोखनी हुने काम भएकाले कोल्डस्टोरका मालिकले भनेकै मुल्यमा पसलमा कुखुरा छोड्न आफुहरु बाध्य भएको गुनासो पोखे ।

विदेशबाट आयातित मासुको निश्चित् मुल्य निर्धारण भएपनि नेपालमै उत्पादित कुखुराको हकमा भने कुनै नियम लागु नभएको न्यौपानेको आक्रोश छ ।

त्यस्तै कार्यक्रममा किसानको तर्फबाट बोल्दै अर्का पीडित रोशनकुमार सिंहले सुनको भन्दापनि कुखुराको खरिद मुल्य चाँडै परिवर्तन हुने गरेको गुनासो पोखे । देशमा ‘सिस्टम’को अभावमा कुखुरा उत्पादकले सरकालाई कर तिर्दापनि समस्याको बारेमा सरकार मौन रहेको भन्दै सिंहले गम्भिर आपत्ति जनाए ।

दाना र चल्लाको मुल्य संघले तोकेपनि आफूहरु उत्पादकहरुको परिश्रमको मुल्य त्यसै पसिनामा खेर बगिरहेको काठमाडौं सुन्दरीजलमा कुखुरा व्यवसाय गरिरहेका किसान नवराज अधिकारी गुनासो पोख्छन् ।

उनले भने,‘हामी किसानहरुको बीचमा एकताको कमीले पनि मर्कामा परेका छौं ।’ सरकाले मासु तथा अण्डा र कुखुरामा लगाउने औषधिको मुल्य तोकिदिए राहत हुने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot