Logo

लिखतबाटै लेनदेन मुद्दा



काठमाडौं २६ कार्तिक । जग्गा खरिदबिक्री गर्ने लिखत (रजिस्ट्रेसन फारम) बाटै लेनदेन मुद्दा गरिएको भेटिएको छ । बारा मालपोत तथा भूमिसुधार कार्यालयमा जग्गा पास गराउन भरिएको फारमबाट जग्गा पास नगराई त्यसैबाट जिल्ला अदालत पर्सामा लेनदेन मुद्दा गरिएको थियो ।

फारममा लिनेदिनेले सहीछाप गरेर जग्गा पास नगराई त्यतिकै छाडेपछि उक्त फारम तमसुकसरह हुने कानुनी व्यवस्था छ । जग्गा लिनदिन सहीछाप गराई जग्गाको १ करोड १० लाख (पछि थपेर) रुपैयाँ थैली राखेर वीरगन्जकी प्रतिमा मिश्र सिंहले कलैया ४ की गीतादेवीमाथि पर्सा जिल्ला अदालतमा ०७५ जेठ २७ मा मुद्दा गरेकी हुन् । मुद्दाको समन आउँदा गीताले त्यसो गरिएको थाहा पाएकी थिइन् । किर्ते गरी फारम भरेको आरोपमा बारा जिल्ला अदालतले स्थानीय फेटा गाउँपालिका ५ का लेखनदास सुरेश गुप्तालाई पुर्पक्षका लागि असोज ११ मा थुनामा पठाउने आदेश दिएको थियो ।

जग्गा बिक्री गर्ने गीतालाई झुक्याएर फारममा विवरण भराई सहीछाप गराएको आरोपमा थुना पठाउने आदेश भएको स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले बताए । ‘जग्गा खरिदबिक्री गर्ने लिखतबाट लेनदेन मुद्दा गर्ने बिरलै पाइन्छ,’ स्रेस्तेदार ज्ञवालीले भने, ‘जसको नियत खराब हुन्छ । प्राय: त्यसैले यस्तो मुद्दा गर्छ ।’ जिल्लाको हकमा यो नौलो र अनौठो घटना भएको उनले बताए ।

यसरी झुक्याए
भारत, रक्सौलका सन्तोष दास कलैया उपमहानगर ४ का रञ्जित चौधरीसित व्यापारिक सम्बन्ध जोडे । रञ्जितले सञ्चालन गरेको चिरान मिलबाट कमाउने उद्देश्यले उनले रञ्जितलाई ५० लाख रपैयाँ दिए । व्यवसायमा नाफा भएन । त्यसैले रञ्जितले लिएको रकम पूरा फिर्ता गर्न सकेन । उक्त रकममध्ये १४ लाखमात्र फिर्ता गरे ।

सापटी रकम फिर्ता गर्न नसकेपछि रञ्जितले आफ्नी आमा गीता देवीलाई मालपोत लगे, साबिक गन्जभवानीपुर ५ मा रहेको कि.नं. १२५७ को १ कट्ठा १९ धुर ११ कन्वा जग्गा सन्तोषका नाममा पास गर्न तर सन्तोषको नेपाली नागरिकता नभएकाले आफ्नी विश्वासपात्र वीरगन्जकी प्रतिमा मिश्र सिंहका नाममा पास गर्ने सहमति दिए । सोही सहमतिअनुसार लिखत फारम (रजिस्टेसन फारम) भरियो । थैली कति र जग्गाको क्षेत्रफल फारममा उल्लेख गरिएन । पछि सन्तोषले थैली रकम नपुगेकाले लिखत आफैं बोकेर गए, जुन लिखतमा गीताले सहीछाप गरिसकेकी थिइन् ।

भोलिपल्ट उनी मालपोतमा जग्गा पास गराउन फेरि आएनन् । बरु त्यही लिखतमा १ करोड १० लाख थैली र ३५५ नम्बर किताको साढे तीन कट्ठा अर्को पनि जग्गा थपेर (किर्ते गरी) पर्सा जिल्ला अदालतमा असुलउपर गर्न गीतामाथि प्रतिमाबाट लेनदेन मुद्दा गराए । प्रतिमाका नामले गरिएको मुद्दाको समन गीताकहाँ पुगेपछि उनी झस्किइन् र प्रहरीमा उजुरी दिइन् ।

यसपछि मात्र लिखतबाट लेनदेन मुद्दा गरिएको रहस्य खुल्यो । प्रहरीले लेखनदास गुप्तालाई पक्राउ गरी मुद्दाको अनुसन्धान गरी सरकारी वकिलमा पेस गर्‍यो । सरकारी वकिल कार्यालयले लेखनदासकै मिलेमतोमा किर्ते घटना घटेको भन्दै अदालतमा मुद्दा दायर गरेको थियो । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot