Logo

गाउँका महिलामा आङ खस्ने समस्या बढ्दै



बाँके, ८ मङ्सिर / बाँके जति सुगम जिल्लाका रुपमा चिनिन्छ त्यत्तिकै दुर्गम पनि छ । बाँकेको सबैभन्दा दुर्गम क्षेत्र राप्तीपारि विकासका हिसाबले समेत पछाडि परेको छ । सबै क्षेत्रबाट पछाडि परेको राप्तीपारिका स्वास्थ्य समस्या पनि उस्तै छ ।

पुरुषको तुलनामा सूचना, आर्थिक स्रोत र परिवारको निर्णायक तहमा महिलाको पर्याप्त पहुँच नहुँदा त्यस क्षेत्रका महिला स्वास्थ्य समस्याबाट बढी प्रभावित हुने गरेका छन् । सबैभन्दा बढी त्यस क्षेत्रका महिलालाई अन्य स्वास्थ्य समस्याभन्दा प्रजनन् स्वास्थ्य समस्याले बढी गाँजेको पाइएको छ ।

केही सुधारोन्मुख रहेको त्यस क्षेत्रको स्वास्थ्य सेवाले केही राहत भए पनि त्यहाँका महिलाले प्रजनन् स्वास्थ्यमा भोग्दै आएको समस्यामध्ये पाठेघर (आङ) खस्ने समस्या सबैभन्दा बढी छ । कामको बोझ, मानसिक तनाव, सरसफाइमा कमी, उमेर नपुग्दै विवाह गर्नु र असुरक्षित रूपमा सुत्केरी गराउनुले पनि महिलामा पाठेघर समस्या जटिल हुँदै गएको बाँके जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

आङ खस्ने समस्याबाट पीडित राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरकी ३२ वर्षीया लक्ष्मी चौधरीले दिनभर काममा खटिनुपर्दा समयमा खानपिनमा ध्यान दिन नसक्नुले पनि आप्mनो स्वास्थ्यको ख्याल गर्न नसकिएको अनुभव सुनाउनुभयो ।

उपचारका लागि आउने महिलामध्ये अधिकांश महिलामा आङ खस्ने समस्या देखिनुले पनि प्रजनन् स्वास्थ्यभित्र पाठेघरको समस्या अधिक रहेको देखिन्छ ।

“शिविर, स्वास्थ्यचौकी र अस्पतालमा उपचारका लागि आउने महिलामध्ये एक चौथाई महिलाको पाठेघर जटिल अवस्थामा पुगिसकेको हुन्छ, उनीहरुको शल्यक्रिया गर्नुबाहेक अन्य उपचार सम्भव नै हँुदैन”, जनस्वास्थ्य कार्यालयका सामाजिक स्वास्थ्य शाखा प्रमुख सरिता चन्दले भन्नुभयो ।

बाँकेका राप्तीपारि मात्र नभई ग्रामीण क्षेत्रहरु गनापुर, साइगाउँ, नौबस्ता, सोनपुर, टिटिहिरिया, महादेवपुरी, कम्दी, बेतहनी र रझेनाका दलित, मधेसी र सीमान्तकृत समुदायका महिला आङ खस्ने समस्याबाट पीडित रहेको जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

कम उमेरमा विवाह गरेका, असुरक्षितरूपमा बच्चा जन्माएका, गर्भावस्थामा पोषिलो खानेकुरा नखाएका महिलामा आङ खस्ने समस्या बढी देखिने गरेको तथ्याङकले देखाएको छ । पाठेघरपछि महिलाले भोग्नुपर्ने अर्को समस्यामध्ये गर्भावस्था तथा सुत्केरी अवस्था पनि हो । यो समस्याबाट शहरभन्दा गाउँका महिला नै अधिक पीडित हुने गरेका छन् ।

६ गाउँपालिका, एक नगरपालिका र एक उपमहानगरपालिका रहेको बाँके जिल्लामा बर्थिङ सेन्टर र स्वास्थ्यचौकीमार्पmत जिल्ला जनस्वास्थ्य कार्यालयले गर्भवती, सुत्केरी तथा शिशुलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आए पनि ग्रामीण क्षेत्रमा सडक यातायातको अभाव, बजेटको अपर्याप्ततालगायतका कारण स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्