Logo

प्रवासी नेपालीद्धारा उपचारका लागि सहयोग



काठमाडौँ,५ पुस । अर्थिक अभावले उपचार गर्न असमर्थ सप्तरीको बोदे बर्साइन नगरपालिका–२ की ललकुदेवी पासवानलाई उपचारका लागि बुधबार सहयोग रकम प्राप्त भएको छ ।

वैदेशिक रोजगारीका लागि कतारमा रहेका नेपाली युवाद्वारा सञ्चालित ‘ललकुदेवी बचाउ अभियान’मार्फत सङ्कलन गरिएको रु ७५ हजार हस्तान्तरण गरिएको अधिकारकर्मी दीपेन्द्र पासवानले जानकारी दिए।

श्री सल्हेश सेवा समाजका अध्यक्ष दुर्गानन्द पासवानले बिरामीको घरमै पुगी पीडित परिवारलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको बताए । समाजकै रामउद्गार रामका अनुसार आर्थिक अवस्थाले उपचार गर्न नसकिरहेको जानकारी विभिन्न सञ्चारमाध्यमबाट पाएपछि कतारमा कार्यरत कामदारले सहयोगस्वरुप सङ्कलन गरेको रकम पठाएका हुन् ।

अल्सर, कमलपित्त र बवासिर रोगबाट ग्रस्त ललकुदेवी मुख तथा मलद्वारबाट दैनिक रगत बग्ने र बेहोस हुने गरेकी थिईन । तीन वर्षदेखि विभिन्न ठाउँका अस्पतालमा उपचार गराउँदै रकम सकेकी ललकुदेवीले पछिल्लो पटक समाज तथा नातेदारसँग ऋण लिएर उपचार गराउँदै आएकी थिईन ।

लामो अवधिसम्म रोग निको नभएपछि तथा उपचारका लागि करीब रु पाँच लाखसम्म खर्च लाग्ने चिकित्सकले बताएपछि निराश बनेकी ललकुदेवी उपचार गराउन असमर्थ रहेकी थिईन। उपचार महङ्गो भएकाले थप सहयोग जुटाउन सक्दो पहल भइरहेको दुर्गानन्दले बताए ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot