Logo

ढिलो आउने शिक्षकलाई घर फर्काउँछन् विद्यार्थी



काठमाडौं २२ माघ ।  जहदा गाउँपालिका–१ स्थित जनता बाल आधारभूत विद्यालयकी शिक्षिका दुर्गावती राजवंशी सोमबार १० बजेर ५ मिनेटमा विद्यालय पुगिन् । मूलढोकामा बसेका कक्षा ७ का दुर्गी ऋषिदेव र चन्द्रिकाकुमारी सरबरियाले उनलाई सोधे, ‘मिस तपाईंको घडीमा कति बज्यो ?’ घडी हेरेर शिक्षिकाले जवाफ फर्काइन्,‘आउँदाआउँदै ५ मिनेट ढिला भएछ ।’

मोरङको बुधनगरस्थित जनता बाल आधारभूत विद्यालयबाट सोमबार घर फर्कंदै शिक्षिका । १० बजेभन्दा ढिलो पुगेपछि स्कुलले बनाएको नियमअनुसार विद्यार्थीले उनलाई घर फर्काएका थिए । तस्बिर : विनोद/कान्तिपुर

दुवै छात्राले भने,‘आज तपाईं घर फर्कनुस्, भोलिदेखि १० बजेभित्र आइपुग्नुस् ।’घरबाट हिँडदा ढिला भएको भन्दै मनाउन खोजिन् तर विद्यार्थी मानेनन् । ‘आउँदाआउँदै ढिलो भइहाल्यो, आज घर फर्कन्छु, भोलिदेखि समयमै विद्यालय आइपुग्छु,’शिक्षिका राजवंशीले कान्तिपुरसँग भनिन्,‘आफैंले बनाएको नियम हो, पालना नगरी सुखै छैन ।’

यसअघि शिक्षिकाद्वय मनमाया गुरुङ र पूजा मण्डललाई पनि विद्यार्थीले ढोकैबाट फर्काएका थिए ।शिक्षक–शिक्षिका मात्र होइन, विद्यार्थीलाई पनि ढिलो आए घर फर्काउने नियमै बनाइएको छ । यो नियम सबैले सहज रूपमा मान्दै आएका छन् ।

१० बजेर ढिलो भइसकेपछि विद्यालय पुग्ने ६० जना विद्यार्थीलाई पनि सहपाठीले फर्काइसकेको प्राचार्य वीरेन्द्रप्रसाद मण्डलले बताए । विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियानसहित शिक्षक र विद्यार्थी समयमा विद्यालय नआउने र आए पनि लगत्तै हिँडिहाल्ने प्रवृत्ति रोक्न दुई महिनादेखि १० बजेर एक मिनेटपछि भए पनि शिक्षक–विद्यार्थीलाई फर्काउने नियम लागू गरिएको प्राचार्य मण्डलले बताए ।

हरेक दिन १० बज्न ५ मिनेट बाँकी रहँदा कक्षा ७ र ८ का विद्यार्थी मूलढोकामा बस्छन् । घण्टी लागेपछि आइपुग्ने शिक्षक र विद्यार्थीलाई उनीहरूले फर्काइदिन्छन् । विद्यालयमा ३ सय ६५ जना अध्ययनरत छन् । तीमध्ये २ सय ५८ जना दलित सरबरिया समुदायका छन् ।

करिब ८० प्रतिशत बालबालिका नियमित विद्यालय जाने गरेको विद्यालयको अभिलेख छ । ‘नियम लागू भएपछि शिक्षक र विद्यार्थी ढिलो आउने र दिउँसै घर फर्कने रोग निवारणजस्तै भएको छ,’ प्राचार्य मण्डलले भने, ‘ढिलो आउने गेटबाटै घर फर्कन्छन्, समयमा आउने पनि ४ बजेअगाडि निस्कन पाउँदैनन् ।’

आपतकालीन समस्या आइपरे मात्र शिक्षक र शिक्षिका चार बजेअगाडि बाहिर निस्कन पाउने र छुट्टी भएपछि निर्धारित समयमा निस्कन पाउने मण्डलले बताए । विद्यार्थी टिफिनमा पनि बाहिर निस्कन पाउँदैनन् । टिफिन लिएर आउँछन्, नल्याउनेका अभिभावकले ल्याइदिन्छन् । उनका अनुसार टिफिनमा बाहिर निस्कन दिँदा विद्यार्थी घर भाग्ने समस्या थियो । विद्यालय प्रवेश गरिसकेपछि उनीहरू कक्षाकोठा र मूलढोकाबाट आफूखुसी बाहिर निस्कन पाउँदैनन् ।

कक्षा ८ मा अध्ययनरत ज्योति केवटले भनिन्, ‘विद्यार्थीले कक्षाकोठाबाट बाहिर निस्कँदासमेत गेट पास प्रयोग गर्नुपर्ने नियम छ ।’ विद्यालयको यो नियमको पालना सबैले गरेको उनले बताइन् ।

जहदा गाउँपालिकामा ३० वटा सामुदायिक विद्यालय छन् । तीमध्ये यो विद्यालय शैक्षिक गुणस्तर सुधार र अनुशासनमा उत्कृष्ट भएको गाउँपालिका शिक्षा संयोजक विन्दुकुमार लावतीको बुझाइ छ । छिमेकी विद्यालयमा दिउँसो १२ बजेसम्म शिक्षक र विद्यार्थी विद्यालय आउने अनि मन लागेको बेला घर जाने गर्छन् । ती विद्यालयका प्राचार्यलाई जनता बाल आधारभूत विद्यालयको जस्तो नियममा बाँध्न सुझाव दिँदा बेवास्ता गरेको लावतीको गुनासो छ ।

यो विद्यालय परिसर सफा छ । कक्षा ५ देखि ८ सम्मका विद्यार्थीले पालो गर्दै हरेक दिन विद्यालय परिसर सफाइ गर्छन् । विद्यालयमा स्वच्छ पानीको व्यवस्था छ । कक्षा ५ देखि ८ का बालबालिकालाई बेलाबेला प्रोजेक्टर र कम्प्युटरबाट पढाउनका लागि एक थान प्रजेक्टर र सात थान कम्प्युटरको व्यवस्था गरिएको छ । विद्यालयमा पुस्तकालय र लोपोन्मुख वस्तुको संग्रहालय पनि छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot