Logo

ओलीले यो एक वर्षमा न गति देखाए, न त विधि नै : रामचन्द्र पौडेल



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एक वर्षे कार्यकाल आशातित सफल नभएको दाबी गरेका छन् । यो एक वर्षमा सरकारले राम्रो काम त परै जाओस्, सुरुवात पनि राम्रो गर्न नसकेको पौडेलको आरोप छ । नेपाली रेडियो नेटवर्कको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले यस्तो आरोप लगाएका हुन् । प्रस्तुत छ नेता पौडेलसँगको कुराकानीको सम्पादित अंश :

देश कता जाँदैछ ? देशमा अब के होला ? तपाईलाई के लागेको छ ?
तपाईले रोजगारी भन्नुभयो । तर, यसको लागि मुलुकमा उद्योग तथा व्यवसायहरु खुलेका छैनन् । अब त्यतिकै रोजगारी के मा दिने हो ? त्यसको लागि त आधार बन्नुपर्यो । कृषि क्रान्तिको लागि पनि आधार तथा पूर्वाधार खडा भैसकेका छैनन् । सबै कुराको आधार तयार पारेर सरकारले जनतालाई रोजगारी दिनुपर्ने हो । सरकारले अब कसरी गर्छ ? त्यो त हेरौं न ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ ले जनताको मन जित्न सक्छ ?
त्यो कार्यक्रमबारे समग्र अध्ययन गरेरमात्रै भन्न सकिन्छ । अहिले नै कमेन्ट गर्न सकिँदैन् । रोजगारीका क्षेत्रहरु के–के हुन ? त्यसबारेमा कार्यक्रम आएपछि कुरा गरौंला ।

केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्षे कार्यकाललाई यहाँले कसरी समिक्षा गर्नुभएको छ ?
मैले भनिसकेको छु, न गति छ, न त विधि नै छ । सरकारको गतिविधि नै छैन् । सरकारले अहिलेसम्म काम गर्ने तरिकासँग म सन्तुष्ट छैन् । लगानी कतैबाट आईरहेको छैन् । लगानीहरु देशमा भित्रिनुपर्ने हो, तर भित्रिएको छैन् । व्यवसाय तथा पूर्वाधारहरु निर्माण हुनुपर्ने हो, त्यो भएको छैन् । हामीले देशभरिबाट विजुली, पानी, सञ्चारको क्षेत्रमा विकास हुनुपर्दथ्यो । गाउँगाउँमा बाटा घाटाहरु बनाउनुपर्ने थियो । ती सडकहरु हामीले बहुवर्षीय योजनामा पारेका थियौं, त्यो पनि यो सरकारले खारेज गरिदिएको छ । तिनलाई अगाडि बढाएको छैन् । अब यो सरकाले काम गर्ने मेसो केही पनि देखिँदैन् । सरकारको काम गराईको ढंगरंग राम्रो देखिँदैन् ।

तर, प्रधानमन्त्री ओलीले त ५ वर्षमा देशको अवस्था यही रहन दिँदैनौं भन्नुभएको छ नि ?
उहाँले भविष्यवाणी मात्रै गरेर हुने होईन् । त्यसअनुसारको योजना हुनुपर्यो नि । त्योअनुसारको कार्यक्रम हुनुपर्यो । त्योअनुसारको काम अगाडि बढ्नुपर्यो । त्यहीअनुसारको प्रयत्न पनि प्रधानमन्त्रीबाट हुनुपर्छ । त्यतिकै भनिदिएर हुन्छ त ।

तर, उहाँले त यो सरकार ५ वर्षको हो भन्नुभएको छ नि ?
ठीक छ त । उहाँले भनेपछि गर्नुहोला नि त । अब काम गराईको अवस्था हेरौं । परिस्थिति हेरौं ।

उसो भए कांग्रेसले यो सरकारको एक वर्षलाई सफल वा असफल के भनेर मुल्यांकन गर्छ त ?
अहिलेसम्मको काम गराईको गति हेर्दा राम्रो देखिएको छैन् । यो सरकार कुहिरोको काग बनेको छ । काम गर्ने मेसो नपाएर त्यही रुमलिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot