Logo

प्रधानमन्त्रीको एक वर्षे प्रतिवेदन पास मार्क नल्याउने निबन्ध : शर्मा (भिडियोसहित)



विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली कांग्रेस
नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारको एक वर्षे समिक्षा गरेको छ । विश्वप्रकाश शर्माले आइतबार पत्रकार सम्मेलन गरेर सरकार असफल हुनुका कारण भन्दै विभिन्न विषयहरु उठान गरे । यसै विषयमा केन्द्रित रहेर ऋषि धमलाले शर्मासँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

सरकारको एक वर्षे कार्यकाललाई किन असफल भन्नुभयो ?
सरकारले पास अंक ल्याउने गरी पनि काम गर्न सकेन । हाम्रो नजरले देखेको कुरा तथ्यसहित राखेका छाँै ।

प्रधानमन्त्री केपी ओलीमा शासकीय योग्यता देखिएन भन्नुभयो । किन ?
प्रधानमन्त्रीमा मनोरञ्जन दिने अभिव्यक्तिका आधारमा त्यही योग्यता छ । विपक्षी दललाई आलोचना गरेर समय खेर फाल्ने कुरामा उहाँमा योग्यता छ । विहान सूर्य उदाउने र साँझमा अस्ताउने कुरा भइरहेको छ भन्ने हो भने पनि योग्यता छ भन्नुपर्ला । मन्त्रीमण्डल गठन गर्दैमा सफल हुने भए त्यसलाई पनि योग्यता नै मान्नुपर्छ । तर शाषकीय योग्यतालाई कुन कोणबाट विश्लेषण गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

जनताले दुई तिहाई बहुमत दिएर बनाइएका प्रधानमन्त्रीलाई तपाईले आलोचना गर्दा कस्तो सन्देश जाला ?
सरकारको आलोचना गर्नलाई कति तिहाई मत चाहिने हो ? कस्तो अवस्थामा मात्रै आलोचना गर्ने हो र ? यो कुरा मलाई थाहा छैन । तर प्रधानमन्त्रीले राम्रो काम गरे मात्रै प्रशंसा गर्ने हो ।

आलोचना गर्नुपर्ने कारण के छ त ?
बुढिगण्डकी जलविद्युत परियोजना बनाउका लागि इन्धनबाट अतिरिक्त कर लिएर उठाइएको अरबौँ पैसा थन्किएको छ । नेपालीले नै लगानी गरेर बनाउने भनिएको परियोजना प्रधानमन्त्रीले किन विदेशी कम्पनीलाई सुम्पिनुभयो । संसारभर रहेका नेपालीलाई आफ्नो गाँस काटेर देश बनाउन आउ भन्नुपर्ने यो ऐतिहासिक कालखण्डमा, गम्भीर राष्ट्रघात भएको बेलामा सरकारले ठिक गर्यो भन्नुपर्ने ?

तर प्रधानमन्त्रीले पनि एक वर्षमा धेरै काम गरिएको दावी गर्नुभएको छ नि ?
राष्ट्रका नाममा सम्बोधन गर्नुभएको प्रतिवेदनको २६ पेजको तेस्रो श्रेणीमा राखिएको पास हुनलाई माक्र्स नपुग्ने निबन्ध पनि पढेँ । तर अहिले हामी काठमाण्डौ सहरमा छाँै । यो कति नम्बर प्रदेश हो भनेर सोध्यो भने ३ भन्नुपर्छ । प्रदेशको नामाकरण र राजधानी तोकिएको छैन । कर्मचारी समायोजन अहिलेसम्म भएको छैन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग बनेको छैन । करको बाँडफाँड कहिले हुन्छ ? निर्मला पन्त प्रकरणमा सरकारले के गर्यो ?

विकासका कामलाई तिब्र रुपमा अगाडि बढाइएको सरकारको दावी छ नि ?
विकास काम अगाडि बढ्न त पहिला खर्च कति भयो भनेर हेर्नुपर्ला नि । यो वर्ष विकास खर्च जम्मा २२ प्रतिशतको हाराहारीमा भएको छ । विदेशी लगानी कति आयो ? राष्ट्रबैँकको तथ्याङ्कअनुसार कांग्रेसको सरकार हुँदा पाँच महिनामा ११.१२ अबर विदेशी लगानी भित्रिएको थियो, अहिले ओली सरकारका पालामा पाँच महिनामा ६.७८ अरब मात्रै आएको छ । यस्ता तथ्याङ्क धेरै छन्, जसले यो सरकारको असफलता प्रमाणित गर्छ । एक वर्ष भनेको २० प्रतिशत समय हो । यो अवधिमा के भयो त खै ?

वाइडबडी प्रकरणमा तपाईहरु किन मौन बस्नुभयो ?
वाइडबडी प्रकरणको विषयमा कांग्रेसके केन्द्रिय कार्यालयले छानविन गर्नुपर्ने हो र ? हामी आफैँले दोषी ठहर गरेर जेल हाल्नुपर्ने हो र ? हामीले गहिरो रुपमा छानविन गर्न सरकारसँग माग गरेका छाँै । सरकारले छानविन आयोग पनि बनायो । तर आयोगका सदस्यहरुले नै पत्तो पाएनन् । अब सरकारले गर्ने काम कांग्रेसले गर्ने हो र ? सरकारले छानविन आयोग गठन गरेर गुपचुप राख्ने प्रयास गरेको छ । यसमा हाम्रो सहमत छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot