फागुन ७, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले पटक पटक नेपालको आफ्नै पानी जहाज चलाउने आश्वासन दिनुभयो । विपक्षी र सर्वसाधारणलेसमेत खै त पानी जहाज भनेर प्रश्न सोधेको सोध्यै गरे । प्रधानमन्त्री ओलीले पनि काम हुँदैछ भन्ने सन्देश दिन पानी जहाज कार्यालयको स्थापना गर्नुभयो । ललितपुरको एकान्तकुनामा गत फागुन २ गते कार्यालयको उद्घाटन गरियो । तर कार्यालय भने अस्तव्यस्त छ ।
बिहिबार प्रधानमन्त्रि केपी शर्मा ओलीले देश अब पानी जहाजको युगमा प्रवेश गरेको दावी गर्दै पानी जहाज कार्यालयको उद्घाटन गर्नुभयो । प्रतिपक्षी र विरोधीलाई संकेत गर्दै पानी जहाज चढ्नका लागि टिकट पनि छिटै पाइने घोषणा गर्नुभयो । तर ओलीले भनेजस्तो तत्काल केही हुने संकेत देखिदैन । उद्घाटन गरेको एक हप्तासम्म पनि पानी जहाज कार्यालयको व्यवस्थापन हुन सकेको छैन ।
चक्रपथ सुधार परीयोजनाको भवनमा पानी जहाज कार्यालयको बोर्ड राखिएको छ, तर यस कार्यालयको संचालनका लागि दक्ष जनशक्ति छैनन् । परियोजनाकै कर्मचारीले काम चलाउ गरेका छन् । हतारमा खोलिएको कार्यालयमा १६ जना कर्मचारीको दरवन्दि रहने भनिए पनि अझै टँुगो लागेको छैन । कार्यालयका रजिष्ट्रार अमृतमणि रिमालले नै कार्यालय व्यवस्थित नभएको जानकारी दिए ।
प्राइम टाइम्स टेलिभिजनसँग कुरा गर्दै रिमालले कर्मचारीको दरबन्दी संख्या मात्रै भएको तर व्यवस्थापन नगरिएको बताए ।
पहिलोपटक प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले पहिलोपटक पानीजहाजको प्रसंग ल्याउँदा त्यसले हाँसो सिर्जना गरेको थियो । प्रधानमन्त्रीको उक्त भनाइलाई लिएर सामाजिक सञ्जालमा थुप्रै फन्टुस स्टाटसहरु लेखिए । चुट्किला बनाइए । यसै विषयमा व्यंग्य गर्दै नेविसंघका कार्यकर्ताले कागजको डुंगा प्रदर्शन गरेका थिए । अन्तर देशिय जलमार्ग संग नेपाललाई जोड्ने उदेश्य सहित प्रधानमन्त्रिले उक्त कार्यालय उद्घाटन गरिसक्दा पनि सर्वसाधरण ढुक्क भने हुन सकेका छैनन् ।
तर केही भने यस्ता खालका योजना तत्काल निर्माण नहुने बताउँछन् । कार्यालय खुल्नु नै उपलब्धि भएको उनीहरूको भनाइ छ ।
सर्वसाधारण यसरी उत्साहित भइरहँदा भौतिक संरचना र आधिकारिक रूपमा आफ्नो कार्यालय समेत नभएको पानीजहाज योजना कसरी अघि बढ्ला भन्ने प्रश्न गर्ने ठाउँ भने बाँकी नै छ ।